Techie IT
१० कात्तिक २०७८, बुधबार

बन्दको उल्लंघन गरेको भन्दै विराटनगरमा चिया पसलमा तोडफोड


विराटनगर ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहका कार्यकर्ताले बन्दको उल्लंघन गरेको भन्दै विराटनगरमा चिया पसलमा तोडफोड गरेका छन् । बन्द भन्दा भन्दै बन्दको बेला चिया पसल खोलेको भन्दै उनीहरुले विराटनगर महानगरपालिका–२ स्थित चिया पसल बिहीबार दिउँसो साढे १२ बजे तोडफोड गरेका हुन् । तोडफोडका क्रममा समोसा पकाउन तयारी अवस्थामा राखिएको तेल कराही घोप्टिँदा तातो तेलको छिट्टाले पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया बबिता सहनी सामान्य घाइते भएका छन् । बबिता ६ महिनाकी सुत्केरी हुन् । प्रचण्ड- नेपाल समूहका नेता शिवकुमार मण्डल नेतृत्वको समूहले उक्त चिया पसल तोडफोड गरेको हो । भीड उत्तेजित भएर तोडफोडमा उत्रन थालेपछि उनले छुट्याउन प्रयास गरेका थिए ।

तोडफोडबाट पसलमा रहेको सोकेसको सिसा फुट्नुका साथै बनिसकेको खानेकुरा भुइँमा फ्यालिएको छ भने बनाउन तयारी अवस्थामा राखिएका सामान पनि बन्दकर्ताको समूहले फ्यालेर नष्ट गरिदिएको छ । मोरङका प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताए ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्