Techie IT
१० असार २०७८, बिहीबार

प्रधानमन्त्रीको भाषणमा ‘निरोगी नेपाल अभियान’, यता काममा भने ‘रोगी नेपाल अभियान’ जस्तो !


प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको सम्बोधन र त्यसले दिएको जानकारी तथा त्यसपछि पनि सरकारले गरेको काम हेर्दा कतै सरकार आफैँ यो देशमा कोरोना भाइरस झन् फैलियोस् भन्ने चाहिरहेको त छैन भन्ने प्रश्न खडा हुन्छ ।

सरकारलाई कोरोनाको संक्रमण फैलिँदा शासन गर्न सजिलो हुने ठानेर पनि यसो गरेको हो कि भन्ने विज्ञहरुको ठम्याइ छ । कामना गरौँ, यो गलत भइदेओस् । तर विवरणहरुले भने अर्कै संकेत गर्छन् । जस्तो – प्रधानमन्त्रीको भनाइ र सरकारको काममा तालमेल नहुनु । प्रधानमन्त्रीले नै बताएको विवरणमा पनि उपचारका लागि तयारी पर्याप्त नदेखिनु, प्रधानमन्त्री आफूले गरेको भाषणमा मात्र रमाइरहनु तर यता वास्तवमा के भइरहेको छ भन्ने खोजी नीति नगर्नु ।

प्रधानमन्त्री ओलीले असोज ३ मा सम्बोधन गर्दा कोराना राकथामका लागि काम गरेका दिन माघलाई मानेका छन् । यो पक्षबाट हिसाब हुँदा आठ महिनाको समय अन्तर पर्छ । उनले त्यस दिन भने ‘२०७६ माघ ९ गते कोभिड–१९ को पहिलो केस पहिचान हुँदा पीसीआर परीक्षण देशभित्रको प्रयोगशालामा सम्भव नभएकाले त्यसको नमूना विदेश पठाउनुपरेको थियो ।

हाल देशभित्र सरकारी ३३ र निजी १४ गरी ४७ आरटी–पीसीआरपरीक्षण प्रयोगशालाहरू सञ्चालनमा छन् । परीक्षणको दैनिक क्षमता २३ हजार पाँच सयभन्दा माथि छ ।’

तर सरकारले यता परीक्षण भने अपवादमा एक दिन १३ हजारको परीक्षण गरेको थियो । त्यसपछि कहिल्यै यो क्षमताको प्रयोग भएन । बरु घट्दै वा घटाउँदै लगिएको छ । उनले यस्तो २४ हजारको क्षमता देखाएको भोलिपल्टदेखि त करिब–करिब नौ हजारको वरिपरि मात्रै परीक्षण भइरहेको छ । ३ असोजदेखि ७ असोजसम्मकै विवरण हेरे हुन्छ ।

संसारकै मान्यता के हो भने जति बढी संख्यामा परीक्षण भयो, त्यसले संक्रमण फैलिनबाट रोक्न मद्दत गर्छ र जति कम परीक्षण भयो, त्यति समाजमा फैलिन्छ । हो, परीक्षणको क्षमता नहुनु अलग कुरा हो तर यो ठाउँमा क्षमता भएर पनि त्यसको आधा पनि प्रयोग भएन । प्रधानमन्त्रीले नै भनेपछि परीक्षणको क्षमतामाथि प्रश्न गर्ने ठाउँ रहँदैन । त्यसो भए सोध्नैपर्छ– प्रत्येक दिन १२–१५ हजारको दरले परीक्षण क्षमता किन खेर गइरहेको छ ?

अर्को, प्रधानमन्त्रीले उपचारकक्षको पनि तुलनात्मक विवरण दिएका छन् । त्यो सम्बोधनमा माघ ९ लाई आधार मानिएको हुँदा त्यो बेलासम्म कति थियो र यो सम्बोधन भएको दिन असोज ३ सम्म कति भयो भन्ने तुलना गर्नुपर्छ ।

चैतदेखि असोजको यो दिनसम्म आइपुग्दा लकडाउन वा त्यस्तै बन्दमा चैतदेखि भदौका पूरै दिनहरु बिते साउनको एक महिनाबाहेक । यो बन्दमा कोरोनाको अवस्था कस्तो रह्यो र त्यसमा सरकारले कस्तो तयारी ग-यो भन्ने प्रधानमन्त्रीले नै खुलाएका छन् । प्रधानमन्त्रीले नै भनेअनुसार लकडाउन सुरु गर्दाको त्यसबेला दुईवटा संक्रमित देखिएका थिए ।

‘कोभिड–१९ को महामारी रोकथामको लागि पहिलोपटक लकडाउन गरिएदेखि अहिलेसम्मै जनजीवन सामान्य हुनसकेको छैन । यस अवधिमा मुलुकभित्र रहेका ६० हजारभन्दा बढी दिदीबहिनी तथा दाजुभाइहरू यस महामारीबाट संक्रमित भइसकेका छन् । ४३ हजारभन्दा बढी संक्रमित यस अवधिमा निको भए पनि देशभित्र झण्डै चार सयर देशबाहिर विभिन्न मुलुकमा कार्यरत सयौंको संख्यामा नेपालीहरूको ज्यान यस महामारीले लिइसकेको छ ।’

तयारी कस्तो ? ‘सुरुको समयमा प्रतिपरीक्षण लागत ८ हजार ५ सय रुपैयाँ थियो । हाल निजी र सरकारी दुवै प्रकृतिका प्रयोगशालाहरूमा दुई हजार रुपैयाँमा परीक्षण हुनथालेको छ ।’

प्रधानमन्त्रीको यो भनाइ मिल्दैन । अहिले पनि निजी क्षेत्रमा १० हजारका दरले परीक्षण शुल्क लिइरहेको अवस्था छ । भदौ २८ मा स्वास्थ्यका प्रवक्ताले नै दुई हजार आधार मूल्य हो त्यसभन्दा बढी जति लिए पनि हुने भनी बताइसकेका छन् । प्रधानमन्त्री आफैँले त्यसदिनको यस्तो जानकारीको टेप मगाएर हेर्नसक्ने अवस्था छ ।

प्रधानमनत्रीले भने, ‘सिङ्गो जनसंख्याको कम्तीमा दुई प्रतिशतमा पीसीआर परीक्षण गर्ने हाम्रो अनुमानित प्रतिबद्धता पूरा भएको छ र त्यो अहिले कम हुने देखिएको छ । प्रति दश लाखमा पीसीआर परीक्षण ३० हजार नाघेको छ ।’ यस्तो संख्या पूरा गर्न करिब आठ महिना लागेको तर्फ पनि विज्ञहरुले औँल्याएका छन् ।

प्रधानमन्त्रीले भनेअनुसारकै अस्पतालका विवरण –
‘पहिले आईसीयू बेड क्षमता एक हजार पाँच सय ५१ थियो, अहिले दुई हजार छ सय पु-याइएको छ ।’ आठ महिनामा थपिएको संख्या एक हजार ८९ छ । ‘पहिले भेन्टिलेटर संख्या सात सय ७० थियो, अहिले नौ सय पु-याइएको छ ।’ आठ महिनामा थपिएको संख्या एक सय ३० छ ।

प्रधानमन्त्रीका शब्दमा आठ महिनाको प्रगति – ‘बहुसंख्यक नेपालीहरूलाई कोभिड–१९का लक्षण तथा हात धुने, भीडभाडबाट टाढा रहने, मास्क प्रयोग गर्नेजस्ता रोकथामका उपायहरूबारे जानकारी छ । मोबाइल रिङ्ग टोन, टोल फ्री हटलाइन फोन, वेबपोर्टल, रेडियो, टिभी, सामाजिक सञ्जाल तथा पत्रपत्रिकाका अतिरिक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक ब्रिफिङबाट स्वास्थ्य जनचेतना तथा जोखिम बारेको सूचना प्रवाह गरिएको छ ।

केस व्यवस्थापनका लागि आवश्यक पीपीईसहितका सामग्रीहरू उपलब्ध छन् । मास्क, सेनिटाइजरलगायत आधारभूत स्वास्थ्य उपकरणको उपलब्धता छ । पहिले परम्परागत औषधि आदिका बारेमा द्विविधा थियो, अहिले हाम्रा जडीबुटी र परम्परागत वस्तुहरूको प्रयोगबाट आफू निको भएको भनेर कतिपय संक्रमितहरूका अनुभव पनि सुन्न थालिएको छ ।’

प्रधानमन्त्रीले भने, ‘कोभिड–१९ एक्कासि आएको विपत्ति थियो ।’ तर छिमेकी देश चीनमा देखिएको हुँदा नेपालमा तयारीका लागि समय थियो ।’ प्रधानमन्त्रीकै भनाइमा ‘त्यस बखत हामीकहाँ संक्रमितहरूका दुईवटा मात्र केस पहिचान भएका थिए । छिमेकी चीनमा यो महामारी नियन्त्रणमा आइसकेको थियो ।’

त्यो रोकथाम कसरी भयो ? सरकारले त्यसबाट पाठ सिकेको देखिएन । यी दुईवटा मात्र केस पहिचान भएको समय चैत १० को हो । चीनमा यसको एक महिनाअघि नै नियन्त्रणमा आएको थयो । त्यसले आजसम्म नियन्त्रण कायम ग-यो तर यता नेपालमा दुईबाट ६० हजारमा विस्तार भयो ।

यस्तो किन भन्नेमा प्रधानमन्त्रीले बोल्न आवश्यक ठानेनन् । बरु उनले यस अवधिमा आफ्नो सम्बोधन नै उपचारको वा रोकथामको अचूक औषधि हो भन्ने फेरि पनि भने । ‘प्रधानमन्त्रीको हैसियतमा मैले पटक–पटक औपचारिक सम्बोधन गरेँ । मिर्गौला प्रत्यारोपणको लागि अपरेसन थिएटरमा जानुअघि र अस्पतालबाट डिस्चार्ज भएलगत्तै पनि सम्बोधन गरेँ । यी सबै सम्बोधनमार्फत गरिएका काम र गर्ने कामबारे आम देशबासीसँग सम्वाद गरेँ ।

सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने र समय–समयमा हात धुने मात्रै होइन, आफ्नो आन्तरिक रोग प्रतिरोधी क्षमता वृद्धि गरी सिंगो मुलुकलाई ‘निरोगी नेपाल अभियान’मा संलग्न हुनुपर्नेमा जोड दिएँ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरू, सुरक्षाकर्मीहरू, सबै प्रकृतिका कामदार/कर्मचारीहरू, तीनवटै तहमा कार्यरत जनप्रतिनिधिहरू, विज्ञहरू, राजनीतिक दल तथा आम नागरिकहरूको महामारी नियन्त्रण, रोकथाम र उपचारको यस राष्ट्रिय अभियानमा सक्रिय संलग्नता रह्यो, जुन खुसीको कुरा हो ।’

प्रधानमन्त्रीका ती भाषणले कति भ्रम सृर्जना गरे भन्नेचाहिँ अध्ययनको विषय भएकै छ । प्रधानमन्त्रीले हाच्छ्युँ गरेर र बेसार देखाइदिएर कोरोना भाग्ने भनेर बताएका कुरा अझै चर्चामा छन् गम्भीर कुरालाई हलुका रुपले उडाउन खोजेको भन्ने पक्षबाट ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्