Techie IT
२ जेठ २०७८, आईतबार

सातवटै प्रदेशमा चार्जिङ स्टेसन निर्माण गर्न चिनियाँ कम्पनिसँग ३८ करोडमा ठेक्का सम्झौता


काठमाडौं ।

सात वटै प्रदेशमा विद्युतीय सवारीसाधन विस्तारका लागि चार्जिङ स्टेसन निर्माणका लागि चिनियाँ कम्पनिसँग ३८ करोडको ठेक्का सम्झौता भएको छ । देशका ५० वटा स्थानमा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण गर्न नेपाल विद्युत् प्राधिकरणले चिनियाँ कम्पनी वानब्याङ डिजिटल इनर्जीसँग ठेक्का सम्झौता गरेको हो ।

जम्मा १३ वटा कम्पनिको आवेदन परेकोमा प्राविधिक रुपले तीन वटा कम्पनि छनौटमा परेको मध्येबाट चार्जिङ स्टेसनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भार गर्न वानब्याङ डिजिटलले एक वर्षभित्रै सातै प्रदेशका विभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको छ । सञ्चालनमा आएको पाँच वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने व्यवस्था गरिएको प्राधिकरण स्रोतले जनाएको छ । यसरी बनने चार्जिङ स्टेसनहरु देशका ठूला शहर,बसपार्कमा राखिने जनाइएको छ । जसमा प्रदेश १ मा झापाको दमक, भद्रपुर, कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी पाँचवटा चार्जिङ स्टेसन रहनेछन् । प्रदेश २ मा पर्साको वीरगन्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर, धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी सातवटा चार्जिङ स्टेसन स्थापना हुने भएका छन् ।

त्यसैगरी बागमती प्रदेशको धादिङ मलेखुमा दुई, बीपी राजमार्गको सिन्धुलीमा दुई, मकवानपुरको हेटौंडामा दुई, चितवनको भरतपुरमा दुई तथा मुगलिङ कुरिनटारमा ४ र काभ्रेको बनेपामा १ गरी १३ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन् । गण्डकी प्रदेशको नवलपुर, तनहुँको दमौली, स्याङ्जामा १÷१ र कास्कीको पोखरामा तीन गरी ६ वटा चार्जिङ स्टेसन निमार्ण गरिने भएका छन् ।लुम्बिनी प्रदेशमा आठवटा चार्जिङ स्टेसन बाँकेको नेपालगन्जमा १, दाङको भालुवाङ तथा दाङमा एक÷एक, रूपन्देहीको बुटवलमा एक, नवलपरासीको बर्दघाट(सुनवलमा दुई गरी ८ वटा चार्जिङ स्टेसन रहनेछन् ।

कर्णाली प्रदेशअन्तर्गत सुर्खेतमा एक र सुदूरपश्चिम प्रदेशमा एकवटा चार्जिङ स्टेसन निर्माण गर्ने गरी ठेक्का सम्झौता सम्पन्न भएको छ । सुदूरपश्चिममा कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा एक÷एक गरी तीनवटा चार्जिङ स्टेसन निमार्ण गरिने भएको छ ।चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोबाटका डीसी र २२ किलोवाटका एसी चार्जर राखिनुका साथै एकपटकमा तीनवटा गाडी चार्ज गर्न मिल्न गरी जडान गरिने चार्जरको ब्रान्ड स्टार चार्ज हुने प्राधिकरणले जनाएको छ ।

यस्तै उपभोक्ताले गाडी चार्ज गरेबापतको शुल्क मोबाइल एप्लिकेसन र क्यूआर कोडमार्फत वा विद्युतीय माध्यमबाटै भुक्तानी गर्न सक्ने व्यावस्था पनि मिलाइने जनाएको छ । यसरी देशमा विद्युतिय सवारी साधनको व्यापकता हुन गयो भने देशमा वातावरणिय प्रदुषण कम हुनुका साथै इन्धनको खपत पनि कम हुन जान्छ । र देशले आफ्नै देशमा उत्पादित उर्जाशक्तिको प्रयोग गरेर यातायात,उद्योग लगायत क्षेत्रमा फड्को मार्न सक्छ ।


क्याटेगोरी : सूचना प्रबिधि


तपाईको कमेन्ट लेख्नुहोस्