Techie IT
१४ मंसीर २०७९, बुधबार

चन्द्रग्रहण: यस खगोलीय घटनाअघि लाग्ने सुतकको वैज्ञानिक आधार के?


काठमाडौं,मङ्गलवार लाग्ने वर्षको दोस्रो चन्द्रग्रहण नेपालबाट पनि देखिने जानकारहरूले बताएका छन्। पृथ्वीको छाया चन्द्रमामा पर्ने यस खगोलीय घटना “नाङ्गो आँखा”ले हेर्न मिल्छ या मिल्दैन भन्ने विषयमा भने जानकारहरूमा फरक मत पाइन्छ।

ज्योतिषी सुरेशचन्द्र रिजालका अनुसार ज्योतिषशास्त्रमा चन्द्रग्रहण सीमित राशिहरूले मात्र हेर्न मिल्ने जनाइएको छ। उनले बीबीसीसँगको कुराकानीमा भने,”केही राशिहरूलाई नकारात्मक असर पर्ने भएकाले नाङ्गो आँखाले ग्रहण हेर्नु उचित मानिँदैन। परामर्श अनुरूप जसलाई नराम्रो प्रभाव पर्दैन उनीहरूले मात्र हेर्नु ठिक।”

यद्यपि, भौतिकशास्त्रीहरूले भने चन्द्रग्रहण हेर्न नहुने धार्मिक मान्यता भए पनि यसको कुनै वैज्ञानिक आधार नभएको बताएका छन्।

वी.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक तथा भौतिकशास्त्री डा. सनत कुमार शर्माले भने,”चन्द्रग्रहणले मानव शरीरमा कुनै पनि किसिमको असर नपुर्‍याउने विभिन्न अध्ययन तथा अनुसन्धानहरूको निचोड छ। हामीले पनि ग्रहणहरू हेर्दै विभिन्न अध्ययन गर्छौँ र आजसम्म असर देखिएको छैन।”

प्रकृतिको हरेक स्रोत हरेक प्राणीको निम्ति बराबर हुने भएकाले ग्रहण कसैको निम्ति लाभदायी र कसैको निम्ति हानिकारक नहुने उनको तर्क छ।

चन्द्रग्रहण के हो?

सामान्यतया ग्रहण दुई किसिमका हुन्छन्- सूर्यग्रहण र चन्द्रग्रहण।

पृथ्वी, चन्द्रमा र सूर्य एउटा सीधा रेखामा पुग्दा बीचमा रहेको पृथ्वीको छायाले चन्द्रमालाई ढाक्ने अवस्था नै चन्द्र ग्रहण हो।

यसअघि टर्कीको इस्तानबुलस्थित ग्रान्ड चाम्लजा मस्जिदको पृष्ठभूमिमा देखिएको चन्द्रग्रहण

तस्बिर स्रोत,GETTY IMAGES

तस्बिरको क्याप्शन,यसअघि टर्कीको इस्तानबुलस्थित ग्रान्ड चाम्लजा मस्जिदको पृष्ठभूमिमा देखिएको चन्द्रग्रहण

तर, ग्रहण लाग्दा सूर्य वा चन्द्रमाको कति भागमा छाया पर्छ भन्ने आधारमा पनि यसको प्रकार छुट्टाइएको भौतिकशास्त्री डा. शर्मा बताउँछन् ।

चन्द्रग्रहण खग्रास र खण्डग्रासगरी दुई किसिमका हुन्छन्। शर्माका अनुसार चन्द्रमाको कुनै पनि प्रकाश पृथ्वीमा आउन नसक्नेगरी छाया पर्नुलाई खग्रास चन्द्रग्रहण भनिन्छ। त्यस्तो अवस्थामा “चन्द्रमा सुन्तला र गुलाबी रङ मिश्रित देखिन्छ।” त्यस्तो देखिने चन्द्रमालाई रक्तिम वा ब्लड मून भनिन्छ।

नासाका अनुसार खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा र सूर्य पृथ्वीको ठिक विपरीत स्थानमा हुन्छन्।

त्यस्तै चन्द्रमाको केही खण्डमा मात्र पृथ्वीको छाया पर्दा खण्डग्रास चन्द्रग्रहण लाग्छ। यस किसिमको ग्रहण लाग्दा छायाको आकारका आधारमा ग्रहण परेको ठाउँमा चन्द्रमाको सतह गाढा रातो, खियाको जस्तो वा खरानी रङ्गको देखिन्छ।

ज्योतिषी रिजालका अनुसार कार्तिक २२ गते पूर्णिमाको दिन खग्रास चन्द्रग्रहण लाग्न लागेको हो।

नासाका अनुसार खण्डग्रास चन्द्रग्रहण वर्षमा दुई चोटि देखिन्छ भने खग्रास चन्द्रग्रहण दुर्लभ हुन्छ।

कहाँबाट देखिन्छ यो ग्रहण?

डा. शर्माका अनुसार नेपालसहित एशियाको अधिकांश स्थानबाट मङ्गलवारको चन्द्रग्रहण देखिने छ। त्यस्तै अस्ट्रेलिया, युरोप र उत्तर अमेरिकाबाट पनि यसलाई हेर्न सकिने उनले बताए।

चन्द्रग्रहण

नेपाली समय अनुसार दिउँसो १:४७ बजेदेखि नै पृथ्वीको छाया चन्द्रमामा पर्न थाल्ने जानकारहरू बताउँछन्। यद्यपि, नेपालमा साँझ ५:११ मा चन्द्रोदय हुन्छ। “त्यस समयमा चन्द्रमा नेपालको क्षितिजभन्दा पर हुन्छ। घटना घटिरहेको हुने भए पनि हाम्रो दृष्टिमा नपर्ने मात्रै हो,” उनले जानकारी दिए।

त्यसको केही मिनेटपछि अर्थात् ५:२६ पछि नेपालमा चन्द्रग्रहण दर्शनीय हुने भनिएको छ।

जानकारहरूका अनुसार साँझ ६:३४ बजे चन्द्रग्रहणको अन्त्य हुनेछ।

ग्रहणको समयमा “के गर्न हुन्छ के हुँदैन”

ज्योतिषशास्त्रमा ग्रहणको समयमा विभिन्न कार्य गर्न हुने या नहुने भनेर छुट्टाइएको हुन्छ।

ज्योतिषी रिजालका अनुसार खग्रास चन्द्रग्रहणको समयमा खाना खान नहुने मान्यता छ।

उनले भने,”वृद्ध वृद्धा, बालबालिका, बिरामी वा अशक्तहरूबाहेक अन्य व्यक्तिले ग्रहणको बेला भोजन गर्नु उचित मानिँदैन। यसले स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने बताइन्छ।”

त्यस्तै ग्रहण लाग्दा “देवताको पूजा गर्न नहुने” उनको कथन छ।

यद्यपि, ग्रहण अवधिमा दान, स्नान, मन्त्रहरूको उच्चारण र साधना गर्नुलाई शुभ मानिने उनी बताउँछन्।

ग्रहण लाग्दा मात्र नभइ ग्रहण लाग्नुभन्दा केही समय अगावैदेखि सुतक बार्ने धार्मिक मान्यता समेत रहेको छ।

के हो सुतक?

ज्योषितशास्त्रले सुतककाललाई अशुभ समयको रूपमा व्याख्या गर्ने ज्योतिषीहरूको दाबी छ। यस्तो अवधिमा शुभ कार्यहरू गर्न नहुने उनीहरू बताउँछन्।

चन्द्रग्रहण

तस्बिर स्रोत,AFP

“ग्रहणको नराम्रो प्रभावबाट जोगिन सुतक बारिन्छ,” ज्योतिषी रिजालले भने।

उनका अनुसार सूर्यग्रहण हुनुभन्दा अघिको बाह्र घण्टा र चन्द्रग्रहण हुनुभन्दा अगाडिको ९ घण्टालाई सुतककाल मानिन्छ। सुतक अवधिमा पनि शास्त्रले भोजन निषेध गरेको उनको तर्क छ।

यद्यपि, वी.पी. कोइराला मेमोरियल प्लानेटेरियमका विज्ञहरूले विज्ञानले सुतक अवधिबारे कुनै आधार पुष्टि नगरेको बताए।

आजभोलि पर्यटकीय एवं अध्ययनको कोणबाट ग्रहण हेर्न चाहनेहरूको सङ्ख्या बढेको बताइन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,नासाले १० वर्ष खिचेका सूर्यका करोडौँ तस्बिर (बीबीसी)


क्याटेगोरी : सूचना प्रबिधि


तपाईको कमेन्ट लेख्नुहोस्