Techie IT
१४ मंसीर २०७९, बुधबार

ट्विटर: इलोन मस्कद्वारा ट्विटरको सञ्चालक समिति भङ्ग


काठमाडौं, अमेरिकी अर्बपति इलोन मस्कले सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति भङ्ग गर्दै आफ्नो नियन्त्रण कसिलो पारेका छन्।

महिनौँदेखिको रस्साकस्सी अन्त्य गर्दै गत साता ४४ अर्ब डलरमा ट्विटर किनेका मस्क अब आफैँ उक्त कम्पनीको प्रमुख कार्यकारी हुनेछन्।

नियन्त्रण विस्तार
विश्वभरिका राजनीतिज्ञ तथा पत्रकारहरूले प्रयोग गर्ने ट्विटर किनेलगत्तै उनले त्यसमा आफ्नो नियन्त्रण गहिरो बनाउँदै लगेका छन्।

उनले सोचिरहेका सुधारहरूमध्ये ट्विटरले खाताहरूलाई गर्ने प्रमाणीकरणका तौरतरिका अनि रोजगारी कटौती रहेका छन्।

वाशिङ्टन पोस्ट पत्रिकाले जनाएअनुसार पहिलो चरणका कटौतीबारे अहिले छलफल चलाइएको छ जसले करिब २५ प्रतिशत कर्मचारी प्रभावित हुनसक्छन्।

बीबीसीले यसबारे प्रतिक्रियाका निम्ति गरेको अनुरोधबारे ट्विटरले जबाफ दिएको छैन।

उच्च तहका कार्यकारीहरूलाई कामबाट हटाइसकिएको छ।

तिनको ठाउँमा मस्कले आफ्ना निकट मानिसहरूलाई ल्याउँदै छन्।

सोमवार अमेरिकाको धितोपत्रसम्बन्धी नियामक निकायमा गरिएका फाइलिङ्मा ट्वीटरका सहसंस्थापक ज्याक डोर्सीले ५४.२० डलरका दरले करिब ९८ करोड डलर बराबरका उनका १ करोड ८० लाख कित्ता शेअरलाई नयाँ निजी कम्पनीमा हालेका छन्।

डोर्सीले गत मे महिनामा नै ट्विटरको सञ्चालक समिति छाडेका थिए। उनले मस्कको ट्विटर खरिदको समर्थन गरेका थिए।

“मैले विश्वास गर्ने एकमात्र समाधान भनेको इलोन नै हो। चेतनाको प्रकाश विस्तार गर्ने उनको अभियानमा म विश्वस्त छु,” कम्पनीको अघिल्लो व्यवस्थापन समूहले मस्कको खरिद स्वीकृति दिएपछि ट्वीट गर्दै डोर्सीले भनेका छन्।

यसबीच प्रविधि लगानीकर्ता जेसन क्यालाक्यानीसले उनको ट्विटरको परिचय “चीफ मिम अफिसर” भनेर बदल्दै आफू “तत्कालको सङ्क्रमणकालका निम्ति….ट्विटरमा हल्लिरहेको” उल्लेख गरेका छन्।

उनले विज्ञापनदेखि भिडिओसम्मका विषयमा ट्विटरमार्फत् मानिसहरूको सुझाव मागिरहेका छन्।

साथै क्यालाक्यानीसले प्रमाणीकरणका निम्ति मानिसहरूले कतिसम्म पैसा तिर्न सक्छन् भनेर पनि सोधेका छन्। ट्विटरले नीलो टिकमार्फत् प्रमाणीकरण गरिदिन महिनाको २० डलरसम्म पैसा लिन लागेका विवरणमाझ यी घटनाहरू भइरहेका छन्।

मस्क

तस्बिर स्रोत,REUTERS

एक्लो निर्देशक

मङ्गलवार एक ट्विटर प्रयोगकर्ताले एक वर्षभन्दा धेरै समयदेखि निष्क्रिय रहेका ट्विटर खाता हटाइदिन गरेको आग्रहको जबाफ दिँदै मस्कले ‘निश्चय पनि’ भनेका छन्।

बिजुली गाडी निर्माता कम्पनी टेस्लाका मालिक मस्कले ट्विटरमा उनको व्यक्तिगत विवरण परिवर्तन गर्दै “चीफ ट्वीट” उल्लेख गरे। त्यसलाई पुन: परिष्कृत गर्दै “ट्विटर कम्प्लेन हटलाइन अपरेटर” भनिएको छ।

हाल उनी ट्विटरका एक्ला निर्देशक हुन्।

हटाइएका ९ जना निर्देशकहरूमा सञ्चालक समितिका पूर्व अध्यक्ष ब्रेट टेलर तथा पूर्व प्रमुख कार्यकारी पराग अग्रवाल छन्।

ब्रिटिश च्याम्बर अफ कमर्शकी अध्यक्ष ब्यारोनेस मार्था लेन फक्सलाई पनि ट्विटरको सञ्चालक समितिको सदस्यबाट हटाइएको छ। बीबीसीले प्रतिक्रियाको निम्ति गरेको अनुरोधलाई उनले अस्वीकार गरिन्।

राष्ट्रिय सुरक्षाको मामिला

मस्कले ट्विटर नियन्त्रणमा लिएपछि त्यसमा व्यापक फेरबदल गर्ने भनिरहेका कारण त्यसबारे सबैको ध्यान केन्द्रित भएको छ।

उनले सरकारी मिडिया, राजनीतिज्ञ तथा चर्चित व्यक्तित्वहरूसहित मानिसहरूले ट्विटरमार्फत् दिने सूचनालाई यसअघि ट्विटरले गर्दै आएको व्यवस्थापनको तौरतरिकामा बदलाव ल्याउने भनिरहेका छन्।

मस्कले कम्पनीले ती विषयमा निर्णय गर्न नयाँ परिषद निर्माण गर्ने र तत्कालै कुनै परिवर्तन भइनहाल्ने भनेका छन्।

सोमवार डेमोक्र्याट सिनेटर क्रिस मर्फीले आफूले सरकारसमक्ष ट्विटरको नयाँ सम्झौताको राष्ट्रिय सुरक्षामा पर्नसक्ने असरबारे समीक्षा गर्न अनुरोध गरेको बताए। किनभने ट्विटरमा ठूलो परिमाणको स्वामित्व साउदी अरेबियासँग जोडिएका कम्पनीहरूसँग रहेको छ। अचेल अमेरिका र साउदी अरेबियाको सम्बन्ध तनावपूर्ण बनिरहेको छ।

“राजनीतिक अभिव्यक्ति दबाउने अनि अमेरिकी राजनीतिमा प्रभाव पार्ने विषयमा प्रस्ट स्वार्थ रहेका साउदीहरूबारे हामी चिन्तित हुनुपर्छ किनभने अब यो महत्त्वपूर्ण सामाजिक सञ्जालको मञ्चका दोस्रो ठूला मालिक भएका छन्,” मर्फीले ट्विटरमा लेखेका छन्।

“यहाँनेर स्पष्ट रूपमा राष्ट्रिय सुरक्षाको मामिला जोडिएको छ। अमेरिकाको विदेशी लगानीसम्बन्धी समितिले यसबारे समीक्षा गर्नुपर्छ।”

मस्कले ट्विटर किन्दा आफ्नो पैसा, अन्य लगानीकर्ताहरूको समूहको पैसा एवं १३ अर्ब डलरको ऋण जुटाएर लगानी गरेका छन्।

विश्लेषकहरूका अनुसार ऋणको बढेको मात्राले कम्पनीलाई थप असर पर्नेछ। ट्विटरले आफ्नो प्रयोगकर्ता विस्तार गर्न चुनौती खेपिरहेको छ भने वर्षौँ यता नाफा पनि कमाएको छैन।

अमेरिकी सरकारसमक्ष दिइएका विवरणमा जनाइएअनुसार नयाँ बनेको निजी कम्पनीमा साउदी अरेबियाका राजकुमार अलवालिद बिन तलाल बिन अब्दुलअजिज अल साउन र किङ्गडम होल्डिङ् कम्पनी दोस्रो ठूला लगानीकर्ता हुन्।

मस्कभन्दा पहिलेदेखि नै ट्विटरका एक प्रमुख लगानीकर्ता रहेका राजकुमार अलवालिदले उनको लगानी किङ्गडम होल्डिङ् कम्पनीको “दीर्घकालीन लगानी रणनीति” बमोजिम रहेको ट्वीट गरेका छन्। (बीबीसी)


क्याटेगोरी : सूचना प्रबिधि


तपाईको कमेन्ट लेख्नुहोस्