Techie IT
९ असार २०७८, बुधबार

नेपाल फुटबल: २० वर्षअघि इराक र कजाकिस्तानमा खेलिएका ऐतिहासिक विश्वकप छनोट खेलको संस्मरण


काठमाडौँ ।
बग्दादको सद्दाम हुसेन अन्तर्राष्ट्रिय विमानस्थल (अहिले बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल) मा ओर्लिनेबित्तिकै एउटा अनौठो कुरा देखियो।

विमानस्थलको भुइँमा अमेरिकाका भूतपूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशको विशाल टाउको खोपिएको थियो। अनि विमानबाट ओर्लिने सबैले उनको टाउको कुल्चेर मात्र इराकी भूमिमा प्रवेश गर्नुपर्ने रहेछ।

त्यो इराकको अमेरिकाप्रतिको घृणाभावको सङ्केत थियो। त्यसले नेपालको राष्ट्रिय फुटबल टोलीको इराक बसाइमा यस्ता थुप्रै फरक क्षणहरू अनुभव गर्न पाइने पूर्वाभास भयो।

यो सन् २००१ को एप्रिल महिना अर्थात् २० वर्ष अगाडिको घटना हो।

नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप २००२ को छनोट खेल्न इराक र कजाकिस्तानको यात्रामा निस्केको थियो। समूह ‘एफ’मा नेपालसँगै इराक, कजाकिस्तान र मकाउका चार टोलीले उक्त छनोट खेलमा सहभागी भए।

विवाद, अन्योल, डर, उत्साह अनि युद्धको आभास हुँदै अन्त्यमा सफलतामा पुगेर टुङ्गिएको सो यात्रा राष्ट्रिय फुटबल टोलीले खेलेको अहिलेसम्मकै सफल विश्वकप छनोट प्रतियोगिता मानिन्छ।

नेपालबाटै अप्ठेरो

त्यति बेला अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को नेतृत्व विवाद चरम उत्कर्षमा थियो। दुई समानान्तर एन्फा अस्तित्वमा थिए।

सरकारी मान्यताप्राप्त गीता राणा नेतृत्वको एन्फा सातदोबाटोमा र फिफाको मान्यताप्राप्त गणेश थापाको नेतृत्वमा रहेको एन्फा ललितपुरबाट सञ्चालन भइरहेका थिए।

विवादमाझ विश्वकपको तयारी पनि दुईतिर भइरहेको थियो।

राणाको नेतृत्वको एन्फाले सातदोबाटोमा युवा खेलाडीहरू राखेर बन्द प्रशिक्षण सञ्चालन गरेको थियो भने उपेन्द्रमान सिंह, बालगोपाल महर्जनजस्ता वरिष्ठ खेलाडीहरूको समूह स्वतन्त्र रूपमा खुलामञ्चमा प्रशिक्षण गरिरहेका थिए।

थापाको आफ्नै टीम पठाउने तयारी, राणाको असहमति र खेलाडीहरूको दबावकाबीच सिर्जित अन्योलमा नेपाली टोलीले विश्वकप छनोट खेल्ने सम्भावना निकै कम थियो।

यस्तो विषम परिस्थितिमा राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव विनोदशङ्कर पालिखेले सबै पक्षलाई समेट्दै एउटा स्वतन्त्र टोली बनाई विश्वकपमा भाग लिने जुक्ति निकाले।

स्वतन्त्र टोलीको नेतृत्व टासी घलेले गर्ने भए। टोलीको व्यवस्थापक लोकबहादुर शाही, प्रशिक्षक महेश्वर मुल्मी र सहायक प्रशिक्षकमा राजुकाजी शाक्य बने।

उनीहरूले संयुक्त टोली छाने। अनि अन्तिम समयमा टोलीको विश्वकप सहभागिता पक्का भयो।

उडान

तालिकाअनुसार समूह ‘एफ’ मा रहेको टोलीले इराक र कजाकिस्तानमा ‘होम एन्ड अवे’ खेल्ने भयो।

तर युद्धमा होमिएको इराक जान सजिलो कहाँ थियो र? त्यसका लागि नेपालले लामो अनि घुमाउरो हवाईयात्रा तय गर्नुपर्‍यो।

यात्रा सुरुदेखि नै रोमाञ्चक बनिसकेको थियो। इराक पुग्न ४८ घण्टा हवाईयात्रा गर्नुपर्‍यो।

उपेन्द्रमान सिंह

टोली पहिले दुबई पुग्यो। त्यहाँबाट जर्मनीको म्युनिख, द नेदरल्यान्ड्सको एम्स्टरड्याम हुँदै सिरियाको राजधानी दमास्कस पुग्यो।

त्यहाँ एक रात बसेपछि इराकबाट एउटा बडेमानको दुईतल्ले ‘डबल डेकर’ विमान खेलाडी लिन दमास्कस आइपुग्यो। विमानस्थलमा मकाउको टोलीसँग भेट भयो।

झन्डै ५०० सीट क्षमताको दुईतल्ले विमान खाली थियो। त्यहाँ थिए त केवल नेपाल र मकाउका ६० जना यात्रु।

विमान धेरै समयपछि प्रयोग गरिए जस्तो आभास हुन्थ्यो। त्यसमा पाको उमेरका परिचारिकाहरू थिए।

कडा सुरक्षा

फिफाले इराकमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न प्रतिबन्ध लगाएकै बेला विश्वकपका लागि भने खुल्ला गरिएको रहेछ। खेलाडीहरूको सुरक्षा व्यवस्था अत्यन्त कडा थियो।

राष्ट्रपति सद्दाम हुसेनका छोरा उदय हुसेन इराकी फुटबल सङ्घ र इराक ओलिम्पिक्स कमिटीका अध्यक्ष थिए।

हाम्रा खेलाडीको गाडी अगाडिपछाडि एके४७ बोकेका सैनिक हुन्थे र हाम्रो टोलीको गाडी हिँड्दा बाटोका अन्य सवारीसाधन र मानिसहरू लाखापाखा लाग्नु पर्थ्यो।

उदय हुसेनको डर त्यस्तो थियो।

नेपाली टोली प्रशिक्षणका लागि वा कतै घुम्न जाने बेलामा पनि एके४७ बोकेका सैनिक साथमा हुन्थे।

फरक वातावरण

सन् १९९१ मा अमेरिका इराक बीचको ‘गल्फ वार’ ले चर्चित युद्धमा पराजित भएपछि त्यहाँ युद्धको छाया भने कायमै थियो।

विश्वका अधिकांश देशको इराकमाथि प्रतिबन्ध कायमै थियो।

बग्दाद सहरमा युद्धको प्रभाव बेसरी परेको अनुभव गर्न सकिन्थ्यो। पर्यटकविहीन सहर, आर्थिक रूपमा विपन्न भए जस्तो अनुभूति।

टोलीमा पनि त्यसको असर देख्न सकिन्थ्यो। नेपाली टोलीलाई पाँचतारे होटेलमा राखिएको थियो तर सुविधा खासै थिएन। कार्पेटहरू मक्किएका, शौचालयमा पानी चुहिने अनि खानेकुरा पनि अत्यन्त सीमित।

होटेलको झ्यालबाट देखिने दृश्य भने अनौठो थियो। ठाउँठाउँमा बङकर देख्न पाइन्थ्यो। यदि युद्ध भइहालेमा लुक्न बनाइएको ठाउँ।

होटेलमा उपेन्द्रमान सिंह, नीराजन रायमाझी र सञ्जीव जोशीको क्यामेरा चोरी भयो। चोर पत्ता लागेन। होटेल मालिक क्षतिपूर्ति दिन तयार भएनन्।

उदय हुसेनसमक्ष गुनासो पुर्‍याउने कुरा गरेपछि होटेल मालिकले तुरुन्तै बजारमा गएर नयाँ क्यामरा किनिदिए। हराएकोभन्दा राम्रो र महँगो क्यामरा।

उपेन्द्रमानसिंह सम्झिन्छन्ः “इराकी पैसा कति सस्तो होला कि क्यामरा किन्न जाँदा बोरा पैसा बोकेर लगेका थिए।”

इराकविरुद्ध नेपालको गोल

चालीस हजार दर्शक क्षमताको सद्दाम हुसेन रङ्गशाला खचाखच भरिएको थियो। खेल सुरु हुनासाथै बलियो इराकले नेपाल विरुद्ध गोल बर्साउन थालिहाल्यो। दर्शकहरू हर्षोल्लास गर्दै थिए।

तर खेलमा नेपाललाई एउटा यस्तो अवसर जुर्‍यो कि स्ट्राइकर नीराजन रायमाझीले इराकी पोस्टमा एक गोल छिराए।

भएको के थियो भने नेपाली खेलाडीहरू गोल बचाउनमा नै व्यस्त अनि विपक्षी खेलाडीहरू आक्रमणमा केन्द्रित हुँदा खेलाडीहरू सबै नेपाली पोस्टमा झुम्मिएका थिए।

अति आत्मविश्वासी इराकी गोलरक्षक पनि झन्डैझन्डै मैदानको मध्य भागसम्म आइपुगेका थिए।

केक काट्दै

त्यही बेला गोलकीपर उपेन्द्रले हानेको लामो प्रहार इराकका गोलकीपरलाई पनि नाघेर अगाडि पुग्यो अनि रायमाझीले खाली पोस्टमा बललाई जाली चुमाइदिए।

त्यो गोल इराकी दर्शकहरूलाई यति धेरै बिझेको देखियो कि नेपाललाई नौ गोल गरेभन्दा एक गोल खानपुगेकोमा उनीहरू दुःखी देखिएका थिए।

त्यो एक गोलले नेपाली टोलीलाई गजबकै ऊर्जा दियो।

इराकी दर्शकहरूले रङ्गशाला वा बजारमा नेपाली खेलाडीहरू डुल्न जाँदा त्यहाँका सर्वसाधारणहरूले नौवटा औँला देखाएर जिस्काउँथे अनि नेपाली खेलाडीहरूले चोर औँलाले एक गोलको इसारा गर्दा उनीहरू चुप लाग्थे।

त्यो खेल २०५८ वैशाख १ गते भएको थियो। त्यो रात हामीले केक काटेर नयाँ वर्ष र इराकविरुद्ध गोल हानेको खुसीयाली मनायौँ।

अनि मैले नेपालमा समाचार पठाएँः ” नयाँ वर्षमा नेपाललाई नीराजनको गोल उपहार “।

नीराजन रायमाझीको हुन नसकेको ह्याट्रिक

दोस्रो खेलमा नेपाल कजाकिस्तानसँग ६-० ले पराजित भयो।

तर मकाउसँगको तेस्रो खेल भने नेपालको लागि ऐतिहासिक उपलब्धिको खेल बन्यो। मकाउलाई नेपालले ४ -१ ले हरायो।

नेपालले विश्वकप छनोटको इतिहासमा पाएको त्यो पहिलो जित थियो।

तर म त्यो खेललाई रायमाझीको हुन नसकेको ह्याट्रिकको रूपमा सम्झिन्छु।

सो खेलमा नीराजनले सुरुमै लगातार दुई गोल हानेका थिए। उनैलाई लडाएपछि नेपालले पेनाल्टीको अवसर पनि पायो।

पेनाल्टी हरि खड्काले प्रहार गरे। गोल भयो।

उपेन्द्रमान सिंह

नेपालले फेरि अर्को पेनाल्टी पायो। यतिखेर रायमाझीलाई अवसर दिइएको भए उनको ह्याट्रिक पूरा हुन सक्थ्यो।

त्यो पेनाल्टी पनि खड्काले नै प्रहार गरे। तर गोल भएन।

सामान्यतया पेनाल्टी हान्ने खेलाडी प्रशिक्षकले पहिले नै तय गर्छ। तर सहज जिततिर उन्मुख खेलमा खेलाडीलाई ह्याट्रिक अवसर छ भने त्यस्तो खेलाडीलाई मौका दिइने अभ्यास सामान्य हो।

रायमाझीले भने त्यो अवसर पाएनन्।

अहिलेसम्म पनि नेपालका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान खड्का र रायमाझीको संयुक्त नाममा छ। दुवैले समान १३/१३ गोल गरेका छन्।

सातौँ आश्चर्य

प्रत्येक प्रमुख चोक, गल्ली, सडक जताततै सद्दाम हुसेनको तस्बिर र मूर्तिले घेरिएको बग्दादको डर, त्रास र रोमाञ्चक यात्राबाट नेपालले यात्राको बिट मार्‍यो।

नेपाली खेलाडीहरूले त्यति बेला कमैले मात्र अवसर पाउने सहर बग्दादमा कडा सुरक्षाका माझ घुमफिर गरेर रमाए।

अनि फर्किनुअघि विश्वको सातौँ आश्चर्यमध्ये एक मानिने बेबिलोन पार्क (ह्याङ्गिङ गार्डेन) मा घुम्ने अवसर पाए।

बेबिलोन पार्कमा नेपाली टोलि

त्यसको दुई वर्षपछि सद्दाम शासन ढल्दा सहरको मुख्य चोकमा ढालिएका सद्दामका मूर्तिहरू नेपाली खेलाडीहरूले टेलिभिजनमा हेरिरहेका थिए, जहाँ खेलाडीहरूले पोजपोजमा फोटो खिचेका थिए।

कजाकिस्तान यात्रा

इराकले दिएको रोमाञ्चक यात्राको सुखद अन्त्य नेपालले कजाकिस्तानमा भएको ‘अवे म्याच’ मा प्राप्त गरे।

इराकलाई त्यहाँ ४-२ ले हराउँदा नेपालका खड्का र रायमाझीले गरेका दुई गोल निकै दर्शनीय थियो। जसले इराकलाई पहिलो चरणबाटै बाहिर गराउने सम्भावना समेत बनेको थियो।

इराकी पत्रकारले पोस्ट-म्याच प्रेस कन्फ्ररेन्समा ‘कजाकिस्तानसँग मिलेर इराकलाई हराउन खोजेको हो’ भनेर नेपाललाई आरोप नै लगाए।

कजाकिस्तानले घरेलु मैदानमा भने नेपाललाई चार गोल मात्र गर्न सक्यो। अनि समान अङ्क भए पनि गोल भिन्नताकै आधारमा अन्ततः इराक छनोटको दोस्रो चरणमा प्रवेश गर्‍यो।

कजाकिस्तानमा भने नेपालले मकाउलाई ६-१ ले पराजित गर्‍यो। इराकमा गर्न नसकेको ह्याट्रिक सपना नीराजन रायमाझीले त्यहाँ पूरा गरे।

सो खेलमा बालगोपाल महर्जन र दीपक लामाले पनि एकएक गोल गर्न भ्याएका थिए।

फेरिएको परिचय

यसरी अन्योलकाबीच सुरु भएको नेपालको विश्वकप यात्रा अहिलेसम्मकै सबैभन्दा सफल विश्वकप छनोटको रूपमा परिचय दिँदै टुङ्गियो।

विश्वकपमा कहिले जित हात पार्न नसकेको नेपालले छ अङ्क लिएर फर्कियो।

सन् १९८२ देखि विश्वकप छनोट खेल्न थालेको र जितविहीन नेपाली टोलीले एकै संस्करणमा १३ गोल गर्न सक्यो।

विश्वकप छनोटमा सधैँ रक्षापङ्क्तिमा सीमित टोली आक्रमण गर्ने टोलीको रूपमा परिचित भयो।

अनि त्यो पनि त्यस्तो टोली जसले नेपालमा विवादको भूमरीकाबीच नाम मात्रको तयारी गरेको थियो।

(पत्रकार निरञ्जन राजवंशीले नेपाली टोलीसँगै यात्रा गरेका थिए। यो सामग्री उनको निजी अनुभूतिमा आधारित छ।)

(बीबीसी)


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्