Techie IT
२ जेठ २०७८, आईतबार

हिमालयन चितुवाले चुमे ‘अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि


काठमाडौं ।
युवा पुस्ताका बक्सर अविरल घिमिरेले ‘अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि चुमेका छन् । जापानको नागोया शहरमा अवस्थित नागोया कङ्ग्रेस हलमा आइतवार आयोजित भिडन्तमा हिमालयन चितुवाले पहिलो राउण्डमा नै जापानी खेलाडी योसिदा यइजीलाई परास्त गर्दै ऐतिहासिक जीत हात पारेका हुन् । विश्वका भेट्रान बक्सरलाई मात्र सो प्रतियोगितामा खेलाइने आयोजकले जनाएको छ ।

आकर्षक भिडन्तमा सोे प्रतियोगिता जित्ने अविरल कम उमेरका पहिलो बक्सर बनेका छन् । घिमिरेले गत चैत १५ गते ‘के वान फेस्टिबल २०२१’ को उपाधि चुमेका थिए । जापानको टोकियो शहरमा सम्पन्न सो अन्तरराष्ट्रिय प्रतियोगितामा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जीत दिलाएका थिए । विश्वका चर्चित बक्सरलाई मात्र सो महोत्सवमा खेलाइएको थियो ।

सो प्रतियोगिताको पदक आफ्नो पक्षमा ल्याएसँगै उनी कम उमेरका पदक हात पार्ने पहिलो नेपाली युवा खेलाडीसमेत बनेका थिए । दश हजारभन्दा बढी जापानीले विश्वचर्चित सो भिडन्त हलमा हेरेका थिए भने आबेमा युट्युब च्यानलमार्फत विश्वभर प्रत्यक्ष प्रसारण गरिएको थियो । अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले बुबाकै विशेष प्रशिक्षणमा महोत्सवको तयारी गरेका थिए ।

सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरल हालै सम्पन्न विश्वको प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । नेपालका तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने अविरल पहिलो ‘बक्सर’समेत भएका थिए ।

एक्काइस वर्षीय बक्सर घिमिरेले बाज्रिलियाली खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनीहरु विगत पाँच वर्षदेखि नागोयामा बस्दै आएका छन् ।

वेष्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेका अनुसार अविरलले हालसम्म १६ भन्दा बढी व्यावसायिक किक बक्सिङमा भिडन्त गरिसकेका छन् । उनी तीमध्ये अधिकांश खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल छ ।

बक्सर अविरलले जापानी खेलाडी रादालाई पराजित गर्दै गत वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि चुमेका थिए । रादा जापानका चर्चित व्यावसायिक किक बक्सर हुन् । तीन राउण्डको तीन चरणको खेलमा अङ्क बराबरी हुँदा पुनःदुई मिनेटको थप समयमा घिमिरेले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि हात पारेको थियो । ।

यसैगरी उनले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए । रोमाञ्चकारी सो भिडन्तमा उनले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर बनेका थिए ।

घिमिरेले हालसम्म हिट–२४ किक बक्सिङ खेलको मिडिल वेटको दुईपटक च्याम्पियन तथा १४ खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसक्नुभएको छ । र तीमध्ये अन्तरराष्ट्रिय प्रतियोगिताका नौ खेलका आठ खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल भएको गुर्जुराधास्थित अन्तरराष्ट्रियस्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा सञ्चालकसमेत रहेका रामनारायणले राससलाई जानकारी दिए ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्