Techie IT
२ जेठ २०७८, आईतबार

पहिलो त्रिकोणात्मक सिरिजको उपाधि नेपाललाई


काठमाडौँ ।
नेपालले पहिलो टी२० क्रिकेट उपाधि जितेको छ। कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सलाई फाइनलमा १४२ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स टोलीले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । यो नेपालले रनको आधारमा हात पारेको अहिलेसम्मकै ठूलो जितसमेत हो। यसअघि नेपालले भुटानलाई १४१ रनले पराजित गरेको थियो। त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेल , कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो ।

यो टी–२० अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोर हो । यसअघि नेपालले यही सिरिजमा दुई पटक २०० रन कटाएको थियो भने १३औं सागमा भुटानविरुद्ध २३६ रन बनाएको थियो ।नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । ५५ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले अविजित ५० रन बनाउँदा उपकप्तान दीपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे ।

२० बलमा ५० बल बनाएका कुलशको टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशक हो । १८ बलमा ४८ रन बनाएका दीपेन्द्र भने अर्धशतक बनाउन दुई रनले चुके । कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आसिफ शेखले ८ बलमा १६ रन जोडे ।दोस्रो ओभरदेखि विकेट गुमाउन शुरू गरेको नेदरल्यान्ड्सले आठ ओभर सकिँदा छ विकेट गुमाइसकेको थियो।

नेदरल्यान्ड्सका ब्राटले नटआउट २६, म्याक्स ओडाउडले २० र पिटर सेलारले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

नेपालका लागि चुस्त फिल्डिङले दुई विकेट रनआउटका रूपमा आएका थिए। करण केसीले तीन, कमलसिंह ऐरी र सन्दीप लामिछाने दुई-दुई विकेट लिएका थिए।

नेपालले घरेलु मैदानमा पहिलो टी-२० सिरिज जित्दा ११ वर्षपछि घरेलु मैदानमा पहिलो उपाधि जितेको हो। यसअघि नेपालले सन् २०१० मा घरेलु मैदानमा आइसिसी विश्व क्रिकेट लिग डिभिजन-५ को उपाधि जितेको थियो।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्