Techie IT
सोमबार, वैशाख ६,२०७८

नेपाल फुटबल: स्ट्राइकरले किन गोल गर्न सकिरहेका छैनन्?


काठमाडौँ ।
हालै सम्पन्न थ्री नेसन्स कप फुटबल प्रतियोगिताका पहिला दुई खेलमा कुनै गोल नगरी नेपाल फाइनलमा पुग्यो।

त्यो बेलासम्म नेपालले कुनै गोल गर्न नसकेको अन्तर्राष्ट्रिय फुटबल खेल सङ्ख्या आठ पुगिसकेको थियो।

फाइनलमा भने एकका विरुद्ध दुई गोल गरेर बाङ्लादेशलाई हराई नेपाल विजेता बन्यो।

‘गोल गर्न नसकेको’ भन्दै थ्री नेसन्स कप फुटबल प्रतिस्पर्धा भइरहेका बेला नेपाली खेलाडीको व्यापक आलोचना भएको थियो।

प्रतिद्वन्द्वी बाङ्लादेशको हालत पनि उस्तै थियो।

बाङ्लादेशलाई लामो समयदेखि प्रशिक्षण गर्दै आएका बेलायती प्रशिक्षक जेम्स डेको गोल हान्न नसक्ने समस्याबारे विश्लेषण छ: “यो नेपालको मात्र समस्या होइन, दक्षिण एशियाकै समस्या हो। अझ भनौँ एशियाको नै।”

फाइनलमा दुई गोल गरेर उपाधि जितेसँगै नेपालको आलोचना केही घटेको छ। तर प्रश्न भने ज्युँका त्युँ नै छ: गोल गर्न नसक्ने ‘रोग’बाट नेपाली टोलीले कहिले उन्मुक्ति पाउने?

हुन त फुटबलमा सामान्य जानकारी राख्नेलाई पनि थाहा छ गोल गर्न सजिलो हुन्न। सहज हुँदो हो त फुटबलको रोमाञ्च कहाँ रहन्थ्यो र।

नेपाली फुटबलको इतिहास पल्टाउने हो भने देखिन्छ विगतका चर्चित स्ट्राइकरहरूले पनि गोल गर्न सङ्घर्ष गरेका छन्।

फुटबल

कसले कति गोल?

नेपाली फुटबलको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडीहरू हुन्: हरि खड्का र नीराजन रायमाझी।

दुवैले १३/१३ गोल गरेर दुवैको नाममा नेपालका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान छ।

खड्काले सन् १९९५ देखि २००७ सम्म खेले। एक दशकभन्दा बढी समय खेल्दा उनले १३ गोल गरे।

नेपाली फुटबलमा रायमाझी मात्र यस्ता खेलाडी हुन्, जसले छोटो समय राष्ट्रिय टिमबाट खेलेर धेरै गोल गर्न सफल भए। उनले २० खेलमै १३ गोल गरे।

सन् २००१ ‘डेब्यु’ गरेर २००५ सम्म खेल्दा १२ गोल गरिसकेका थिए।

बीचमा लामो समय विदेशिएका उनी देश फर्के, पुनः राष्ट्रिय टिमबाट खेल्दै एक गोल थप्न भ्याए।

गोलका लागि सङ्घर्ष

नेपालको चनाखो स्ट्राइकरको रूपमा चिनिएका गणेश थापाले १९८० देखि १९९९ सम्म खेल्दा जम्मा नौ गोल गरे।

नाम चलेका जुमानु राईले ११ र अनिल गुरुङले १० गोल गरेका छन् भने अहिले राष्ट्रिय टोलीमा खेलिरहेका भरत खवासको नाममा पनि १० गोल नै छ।

अर्थात् सर्सर्ती विश्लेषण गर्ने हो भने एक दशकभन्दा लामो समय राष्ट्रिय टोलीबाट खेलेका स्ट्राइकरहरूको गोल सङ्ख्या १० को हाराहारीमा छ।

फुटबल

नाम चलेका खेलाडी कृष्ण थापा, वसन्त थापा, सन्तोष साहुखल, सुरेन्द्र तामाङ र रमेश बुढाथोकीले पाँचभन्दा कम गोल गरेका छन्।

समग्रमा भन्दा सन् १९८० मा वाई बी घलेले नेपालको लागि आधिकारिक अन्तर्राष्ट्रिय गोल गरे यताका चार दशकको राष्ट्रिय फुटबल यात्राको सङ्घर्षमा नेपालले गोल कमैं गरेको छ, खाएको धेरै नै छ।

किन हुँदैन गोल?

राष्ट्रिय टोलीका पूर्वकप्तान राजुकाजी शाक्य भन्छन्, “किनकि नेपाली फुटबलको अवस्था, हैसियत र लगानी जोड्दा अहिले जुन अवस्थामा नेपाली फुटबलको स्तर पुगेको छ, हुने त्यति नै हो। गोल सजिलै कहाँ हुन्छ र।”

स्पेनिस फुटबल टिमका मेनेजर पेप गोर्डिओलाले भनेका छन्, “फुटबलमा सबैभन्दा गाह्रो काम भनेकै गोल गर्नु हो।”

विश्व फुटबलको हरेक टिममा यही नियम लागु हुन्छ।

‘गोल गर्ने’ त्यो सम्बन्ध स्ट्राइकरको क्षमता मात्र होइन, उसलाई गोलको लागि समन्वय गर्ने मिडफिल्डर, त्यसलाई दबावरहित बनाउने डिफेन्स र गोलकिपर अर्थात् समस्तमा टोलीको क्षमतासँग सम्बन्धित छ।

अनि त्यसको सम्बन्ध गाँसिन्छ तिनीहरूलाई तयार पार्न गरिएको योजना, उनीहरूमाथि सम्बन्धित सङ्घले गरेको लगानी र सो सङ्घमाथि देशले गरेको लगानी।

सन् १९८० को दशक देखिका फुटबल गतिविधिहरू नियाल्ने हो भने फुटबलमा भएको लगानी अनि सक्रियता अत्यन्त कम देखिन्छ।

फुटबल प्रशिक्षक मेघराज केसी भन्छन्, “हामी सबै जना ९० मिनेटको खेल हेरेर विश्लेषण गर्छौँ। तर त्यो होइन।”

“दिनको २४ घण्टा र ३६५ दिनमा खेलाडीको लागि के गरियो भन्ने योजनाले मात्र राम्रा स्ट्राइकर र राम्रो टिम बन्ने हो। त्यतातिर कसले ध्यान दिएको छ र?”

हुन पनि नेपाली फुटबल त अन्तर्राष्ट्रिय फुटबल हुनु केही समय अगाडि जाग्ने अनि फेरि सेलाउने अवस्थामै दशकौँ बिताएको छ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विश्वकप छनोट वा साफ च्याम्पियनशीप जस्ता केही सीमित प्रतियोगिताहरूमा मात्र भाग लिने अवसर पाउँछन्। त्यसमा अधिकांश समय नेपालले ठूला राष्ट्रसँग प्रतिस्पर्धा गर्नुपरेको छ।

जहाँ कतिपय अवस्थामा स्ट्राइकरभन्दा गोल गर्न सकेकोभन्दा रक्षापङ्क्तिले विपक्षी स्ट्राइकरहरूलाई रोक्न सकेको भन्दै चर्चा बटुलेका छन्।

घरेलु फुटबलमा कुरा

फुटबल

शहीद स्मारक लीग फुटबलकै कुरा गरौँ न।

लीगमा अधिकांश टोलीले अग्रपङ्क्तिमा नेपाली होइन, विदेशी खेलाडी किन्न रुचाउँछन्।

प्रशिक्षक केसी भन्छन्,”क्लबलाई देशकै स्ट्राइकरमा भर छैन। यो यथार्थ हो। विदेशी खेलाडी जो आउँछन्, तिनीहरू माथिल्लो तहका पनि होइनन्। अनि कहाँबाट जन्मिन्छन् राम्रा स्ट्राइकर।”

त्यस्तोमा प्रश्न अखिल नेपाल फुटबल सङ्घ एन्फाको व्यवस्थापनमाथि तेर्सिने गर्छ।

विश्लेषक सञ्जीव मिश्र भन्छन्, “नेपाली टोली सन् १९९९देखि युरोप गएको छैन। युरोपेली वा अफ्रिकी टिमसँग धेरैभन्दा धेरै खेल्ने अवसर पाएमा पनि खेलाडीहरू चुस्त बन्न सक्छन्। हामी आफैसँग मात्र खेलिरहेका छौँ।”

स्ट्राइकर

फुटबलमा जितको निर्णायक भूमिकामा रहने पात्र भनेको स्ट्राइकर नै हो।

उनीहरूले गर्ने ‘खुट्टासँगै छरितो रूपमा दिमाग’ चलाउन सके खेलको परिणाम जहिले पनि तलमाथि हुने गर्छ।

त्यस्तो गुण खारिएका अनुभवी खेलाडीहरूमा हुने हुनाले कुनै पनि टोलीमा प्रशिक्षकहरूले छिटो-छिटो स्ट्राइकर फेर्ने गरेको पाइँदैन।

नेपालको सन्दर्भमा पनि त्यो हदैसम्म लागु भएको देखिन्छ।

फुटबल

स्विडिस प्रशिक्षक योहान कालिनले विराज महर्जनलाई टोलीबाट हटाउन जसरी सहज निर्णय गरे, स्ट्राइकरको सन्दर्भमा त्यो जोखिम मोल्न गाह्रो मान्छन्।

प्रशिक्षक बालगोपाल महर्जनले यस्तै जोखिम मोल्ने/नमोल्ने निर्णय गर्दा आलोचित हुन पुगे।

उनले स्ट्राइकर नवयुग श्रेष्ठलाई टिमबाट फ्याँक्दा पनि आलोचना खेप्नु पर्‍यो भने युवा स्ट्राइकर आशिष लामालाई टोलीमा समेट्ने आँट नगर्दा पनि।

विगतमा पनि त्यस्तै त भएको थियो। चलेका स्ट्राइकरलाई छोड्ने आँट नगर्दा नरेन्द्र श्रेष्ठ, चेतनारायण श्रेष्ठ र सूर्यमान श्रेष्ठजस्ता स्ट्राइकरहरू छायामा परेका थिए।

सम्भावना

हुन त नेपालले १२ औँ र १३ औँ गरी नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको लगातार दुई संस्करणमा स्वर्ण पदक जितेको हो। र त्यसमा स्ट्राइकरहरूले पनि रोमाञ्चक क्षणहरूमा गोल गरेकै हो।

तर २३ वर्ष भन्दा कम उमेरका खेलाडीहरू खेल्ने भएकोले त्यसको गणना राष्ट्रिय टोलीको रूपमा छैन।

तर त्यसमा अधिकांश खेलाडीहरू भने राष्ट्रिय टोलीकै छन्। त्यस हिसाबमा केही खेलाडीहरूले अग्रपङ्क्तिमा सम्भावना देखाएका पनि छन्।

अहिले चोटका कारण मैदान बाहिर रहेका विमल घर्तिमगर हाल उपलब्ध स्ट्राइकरमा सबैभन्दा राम्रो मानिन्छन्। अञ्जन विष्ट र अभिषेक रिजाल जस्ता युवा खेलाडीहरू लाइनअपमा छन्।

आशिष लामा र जर्ज प्रिन्स कार्की जस्ता खेलाडीहरू सम्भावनाको सूचीमा छन्।

तर यी स्ट्राइकरलाई धारिलो बनाउन यी खेलाडीहरूलाई बलियो खेल वातावरण उपलब्ध गराउन आवश्यक छ। जसले गर्दा यिनीहरूले ‘खुट्टासँगै छरितो रूपमा दिमाग’ चलाउन सक्नेछन्।

नत्र इतिहासलाई पछ्याउँदै उनीहरूले १० गोल गर्न १० वर्ष लगाउनेछन्।‘तलब बराबर भयो, अब अवसर पनि बराबर चाहिन्छ’ (बीबीसी)


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्