Techie IT
१८ माघ २०७९, बुधबार

थ्री नेशन्स कप: छ वर्षपछि नेपालमा खेल्दै राष्ट्रिय फुटबल टोली


काठमाडौँ ।
विश्वकप छनोटका लागि शक्तिशाली अस्ट्रेलियासँग काठमाण्डूमा खेल्ने तयारी गरिरहेको नेपालको राष्ट्रिय फुटबल टोलीले कोभिडका कारण परिवर्तित अवस्थामा मैत्रीपूर्ण खेलमार्फत् छ वर्षपछि रङ्गशालामा खेल्दैछ।

भारतमा आई लीग खेलिरहेका कप्तान किरण चेम्जोङ र इन्डोनेशियाको लीगमा रमाइरहेका उपकप्तान रोहित चन्द ‘थ्री नेशन्स कप’का लागि नेपाल फर्किसकेका छन्।

थ्री नेशन्स कप मङ्गलवार बाङ्ग्लादेश र किर्गिस्तानको युवा टोलीबीचको खेलबाट मङ्गलवार सुरु हुँदैछ।काठमाण्डूको दशरथ रङ्गशालामा हुने प्रतियोगिता नेपाली फुटबलको लागि महत्त्वपूर्ण हुने ठानिएको छ।

पर्खाइ

कोरोनाभाइरस सङ्क्रमणका कारण विश्वकप २०२२ को तय भइसकेका छनोट खेल तालिका परिवर्तन नभएको भए अहिले नेपालले अस्ट्रेलिया, जोर्डन र ताइपेईसँग काठमाण्डूमा खेलिरहेको हुने थियो।

तर ती सबै खेललाई एशियाली फुटबल महासङ्घ एएफसीले कुवेतमा खेलाउने निर्णय गरिदियो।घरेलु मैदानमा विश्वकप छनोट गर्ने लामो प्रयास फेरि तुहिन पुगेपछि अखिल नेपाल फुटबल सङ्घ एन्फाले त्रिदेशीय फुटबल आयोजना गर्न लागेको हो।

बालगोपाल र रोहित चन्द

अन्तिम पटक सन् २०१५ मा भारतसँग काठमाण्डूमा खेलेको नेपालले छ वर्षपछि घरेलु मैदानमा खेल्ने मौका पाउँदैछ।“लामो समय भयो घरेलु दर्शकसामु नखेलेको। त्यसैले हामी रङ्गशालामा खेल्न ज्यादै नै आतुर छौँ,” उपकप्तान रोहित चन्द भन्छन्।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने, “जति प्रयास गरे पनि अनेक परिस्थितिका कारण रङ्गशालामा तय भएका खेलहरू रद्द हुँदै गएको थियो। अन्ततः थ्री नेशन्स कपबाट हामीले रङ्गशालामा खेल्ने खेलाडीको पर्खाइ र दर्शकको फुटबल हेर्ने चाहना पूरा गर्दैछौँ।“

मैत्रीपूर्ण प्रतियोगिता भए पनि यो प्रतियोगिताले अन्तर्राष्ट्रिय खेलको मान्यता पाएको छ।

पटकपटक अवरुद्ध

विश्वकप छनोट २०२२ तथा एशियन कप २०२३ को खेल नेपालमा आयोजना गर्ने एन्फाको योजना पटकपटक अवरुद्ध भएको थियो।सुरुमा रङ्गशालाको पुनर्निर्माण पूरा हुन नसकेको भन्दै फिफाले गत वर्ष कार्तिकमा खेल आयोजनाको स्वीकृति दिएन।

त्यसैले बाध्य भएर नेपालले तटस्थ मैदान भुटानमा गएर कुवेतसँग खेल्नुपर्‍यो।गएको दक्षिण एशियाली खेलकुदका बेला रङ्गशाला त तयार भयो। तर त्यसपछि कोभिडको जोखिमका कारण खेलहरू रोकिए।

एक वर्षको पर्खाइपछि फिफाले विश्वकप छनोटका खेलहरू खेलाउने भयो। नेपालले यही चैत्र १३ मा ताइपेईसँग र चैत्र १८ गते अस्ट्रेलियासँग खेल्ने तालिका निकालियो।तर कोरोनाभाइरस सङ्क्रमणको जोखिम पुनः बढेको भन्दै नेपाल रहेको समूह ‘बी’का बाँकी खेल कुवेतमा सारियो।

रङ्गशालामा गरिएका तयारीलाई खेर नफाल्न एन्फाले १२ वर्षपछि नेपालमा अन्तर्राष्ट्रिय फुटबल आयोजना गर्ने मौका जुरायो। सन् २००९ मा एन्फाले श्रीलङ्का,थाईल्यान्ड, बाङ्ग्लादेश र भुटान सम्मिलित प्रधानमन्त्री कप फुटबल गरेयता अन्तर्राष्ट्रिय फुटबल आयोजना गरेको थिएन।

विश्वकपको तयारी

आयोजक नेपाल र बाङ्ग्लादेशले यो प्रतियोगितालाई विश्वकप छनोटको अङ्ग हुने बताएका छन्। नेपालका प्रशिक्षक बालगोपाल महर्जनले भन्छन्, “हामी विश्वकप छनोट खेलका लागि तीन महिनादेखि तयारीमा छौँ। यो प्रतियोगिता उक्त तयारीको महत्त्वपूर्ण पाटो हुनेछ।”

अहिले खेल्ने खेलाडीहरूको प्रदर्शनको आधारमा उनीहरूको क्षमता मूल्याङ्कन गर्ने र विश्वकप टोली बनाउने योजना महर्जनको छ।

त्यसैले नतिजा महत्त्वपूर्ण नहुने महर्जनको तर्क छ। बाङ्ग्लादेशका प्रशिक्षकले पनि त्यही आशय व्यक्त गरेका छन्।नेपालको पहिलो खेल बिहीवार किर्गिस्तानको युवा टोलीविरुद्ध हुनेछ।

टिकट दर ७०० र १,५०० रुपैयाँ तोकिएको प्रतियोगिता हेर्न उल्लेख्य दर्शक आउने विश्वास एन्फाको छ।(बीबीसी)


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्