बलात्कारको अभियोग लागेका सन्दीपलाई मुद्दा नटुङ्गिदै राष्ट्रिय टोलीबाट खेलाउन लागिएको हो?

काठमाडौं,पाटन उच्च अदालतबाट ससर्त तारेखमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टोलीबाट खेल्न मिल्छ की मिल्दैन भन्ने अहिले चर्चाको विषय बनिरहेको छ।
बलात्कारको मुद्दा खेपिरहेका राष्ट्रिय टोलीका पूर्व कप्तान लामिछानेलाई नेपाल क्रिकेट सङ्घ क्यानले तन्दरुस्तीको लागि भन्दै अभ्यासमा बोलाएको छ, जुन उनलाई राष्ट्रिय टोलीमा राख्ने कदम त होइन भनी शङ्काको रूपमा हेरिएको छ।
सामाजिक सञ्जालमा क्यानको निर्णयको पक्ष र विपक्षमा प्रयोगकर्ताहरूले आफ्नो धारणा राखिरहेका छन्।
आगामी महिनामा नेपालमा हुने आइसीसी विश्वकप क्रिकेट लिग २ शृङ्खलाका लागि क्यानले अर्को हप्ताबाट राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सुरु गर्दैछ।
गतहप्ता रिहा भएका लामिछानेले थुनामुक्त हुनासाथ ‘राष्ट्रिय टोलीमा फर्किने’ इच्छा देखाएका थिए।
पाटन उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई तारेखमा छोड्न दिएको निर्णयमा केही सर्तहरू छन्।
जसमा मुद्दाको फैसला नभएसम्म लामिछानेले देश छोड्न रोक लगाइएको छ भने काठमाण्डू छोड्नको लागि समेत प्रहरीलाई लिखित जानकारी गराउनुपर्ने भनिएको छ।
त्यस्तै मुद्दासँग सम्बन्धित विषयमा प्रभाव पर्ने गरी कुनै पनि काम गर्न पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। जस्तै विचाराधीन मुद्दाका विषयमा बोल्न, सामाग्री प्रकाशन गर्न, जुनसुकै सामाजिक सञ्जालमा टीकाटिप्पणी गर्न रोक लगाइएको छ।
त्यसैगरी पीडित भनिएकी किशोरी वा उनको परिवारका सदस्यलाई कुनै पनि माध्यमबाट, कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्ने वा दुरुत्साहन दिने वा सो सम्बन्धी कुनै कार्य नगर्नु, नगराउनु भनी ‘निर्देशनात्मक आदेश’ दिइएको छ।
तर खेल खेल्न नपाउने भनी प्रत्यक्ष निर्देशन भने दिइएको छैन।
फरक धारणा
लामिछानेको तर्फबाट बहस गरेका अधिवक्ता सरोज घिमिरे मुद्दालाई कहिँकतैबाट असर नपर्ने गरी खेल्न पाउने लामिछानेको अधिकार रहेको बताउँछन्।
उनले भने, “संविधानले दोषि प्रमाणित नहुँदासम्म निर्दोष रहने अनुमान गरिन्छ भन्छ। अर्को, कानुनले नै उनलाई खेल्न नपाउने गरी वञ्चित गरेको छैन। उनले सजाय पाइसकेको अवस्था पनि छैन। अनि खेलकुदमा संलग्न हुनु भनेको मुद्दा प्रभावित हुने विषय होइन। त्यसैले खेलकुद जस्तो गतिविधि गर्न उनी स्वतन्त्र छन्।”
अधिवक्ता घिमिरेले सार्वजनिक जीवन जिउन पाउने खेलाडी लामिछानेको आधारभूत अधिकार र मानव अधिकार रहेकोले त्यसबाट वञ्चित गर्न नमिल्ने बताए।
“भोलि मुद्दा लम्बिएर पाँच ५ वर्ष पुगेमा र त्यतिञ्जेल उनलाई खेल्नबाट रोकेमा उनको करिअर नै समाप्त हुने अवस्था बन्छ र त्यो उनीमाथिको अन्याय हुनेछ।”

अदालतमा बहसको क्रममा आफूले सन्दीपको क्रिकेट करिअरको विषयमा जानकारी गराएको र त्यससम्बन्धी सम्पूर्ण कागजात अदालतमा पेस गरिसकेको हुनाले अदालत पनि यो विषयमा जानकार भएको अधिवक्ता घिमिरेले बताए।
तर अधिवक्ता लक्ष्मी श्रेष्ठ भने लामिछानेले राष्ट्रिय टोलीको नेतृत्व गरे त्यसले अदालतले दिएको निर्देशनको उल्लङ्घन हुने ठान्छिन्।
बलात्कार गम्भीर प्रकृतिको फौजदारी अपराध भएकोले त्यसका अभियुक्तले व्यक्तिगत बाहेक सार्वजनिक चासोको विषयमा काम गर्न नमिल्ने उनको तर्क छ।
उनले भनिन्, ” लामिछानेलाई जेलको सट्टा घरमा बसेर मुद्दा लड मात्र भनेको हो। उनको निजी स्वतन्त्रता बाहेक सार्वजनिक चासो त्यो पनि राष्ट्रको प्रतिनिधित्वको विषयमा सक्रिय बन भनेको होइन। त्यसो गरेमा अदालतको आदेशको उल्लङ्घन हुन जानेछ र उनी पुन: जेलमै बसेर मुद्दा लड्नुपर्ने स्थिति बन्नेछ। “
पाटन उच्च अदालतले आदेशमा यदि लामिछानेले सर्तहरू उल्लङ्घन गरेमा आदेश स्वतः निष्क्रिय भएको ठानिने जनाएको छ।
क्यान के गर्दैछ?
अधिवक्ता घिमिरेका अनुसार लामिछानेलाई निलम्बन गरेको निकाय नेपाल क्रिकेट सङ्घले निलम्बन फुकुवा गरे उनी खेल्न योग्य हुनेछन्।
लामिछानेमाथि मुद्दा दायर भए लगत्तै नेपाल क्रिकेट सङ्घले उनलाई निलम्बन गरेको थियो।
क्रिकेट सङ्घले अब उनलाई राष्ट्रिय टोलीमा समावेश गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा सम्बन्धित निकायहरूसँग परामर्श गरिरहेको जनाएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले लामिछानेलाई खेलाउन कुनै आपत्ति नभएको जनाएको क्यान अध्यक्ष चतुरबहादुर चन्द बताउँछन्।
उनी भन्छन्, ” सन्दीपलाई खेलाउन मिल्ने वा नमिल्ने भन्ने विषयमा गहन छलफल भइरहेको छ। आइसीसीले भने उनलाई खेल्न स्वीकृति दिइसकेको छ। अब हामी देशको कानुनबारे अध्ययन गरिरहेका छौँ।”
क्यानले खेल्न मिल्ने निष्कर्ष निकालेमा अर्को हप्ता नै लामिछाने बन्द प्रशिक्षणमा सामेल हुन पाउनेछन्।
नेपालले आगामी फागुन २ देखि ९ गतेसम्म काठमाण्डूस्थित कीर्तिपुर मैदानमा आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नामिबिया र स्कटल्यान्डसँग त्रिकोणात्मक शृङ्खला खेल्दैछ।
सन् २०१९ देखि २०२३ को यो शृङ्खलामा नेपालसहित सम्मिलित ७ एसोसियट राष्ट्रले ३६ खेल खेल्नुपर्नेछ।
जसमा नेपालले २४ खेल खेलिसकेको छ र १२ खेल खेल्न बाँकी छ।
तालिकाको छैटौँ स्थानमा रहेको नेपालले उत्कृष्ट पाँच भित्र रहन नसके एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता (ओडिआई) गुमाउनेछ।
अन्तर्राष्ट्रिय अभ्यास के छ?
चर्चित अन्तर्राष्ट्रिय खेलाडीहरू पनि बलात्कार जस्तो फौजदारी मुद्दामा पर्ने गरेको इतिहास छ। तर मुद्दाको फैसला नहुन्जेल उनीहरूको खेलकुद जीवनलाई भने निरन्तरता दिएको देखिन्छ।
सन् २०२० मा पाकिस्तानका अलराउन्डर क्रिकेट कप्तान बाबर आजममाथि बलात्कारको मुद्दा परेको थियो।
उनको छिमेकी तथा स्कुलका साथी भनिएकी हामिजा मुख्तरले उनीमाथि विवाहको बाचा गरेर बलात्कार गरेको र आफू गर्भवती भएपछि बाचाबाट पन्छिएको भन्दै मुद्दा दायर गरेकी थिइन्।
उनको मुद्दा अझै टुङ्गिएको छैन। तर आजमलाई खेल्नबाट भने रोक लगाइएको छैन।
त्यस्तै पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि पनि सन् २००९ मा लास भेगसको एउटा होटेलमा आफूलाई बलात्कार गरेको भन्दै एक जना महिलाले मुद्दा दायर गरेकी थिइन्।
सन् २०२२ मा टुङ्गिएको सो मुद्दामा रोनाल्डोले सफाइ पाएका थिए। तर त्यसबीच उनलाई खेल्न भने प्रतिबन्ध लगाइएको थिएन। (बीबीसी)
क्याटेगोरी : खेलकुद
तपाईको कमेन्ट लेख्नुहोस्