फुटबल खेल्न साउदी अरब पुगे मेस्सी, रोनाल्डो, एम्बाप्पे र नेइमार – यसले के सङ्केत गर्छ ?

काठमाडौं,रियादमा महान् खेलाडी लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो पुनः एक पटक मैदानमा एकअर्काविरुद्ध ओर्लिएका कारण प्रख्यात फ्रान्सेली क्लब पीएसजी र साउदी अल-स्टार इलेभनबीच बिहीवार राति सम्पन्न फुटबल खेलको व्यापक चर्चा भयो।
तर सो मैत्रीपूर्ण खेल खेलकुदमा खाडीराष्ट्रहरूको बढ्दो प्रभावको अर्को एउटा नमुना हो।
सन् २०११ यता पीएसजीमा कतारी राजपरिवारसँग सम्बन्ध भएका लगानीकर्ताहरूको स्वामित्व छ। उक्त क्लब मेस्सी, एम्बाप्पे र नेइमारजस्ता प्रख्यात खेलाडीहरूलाई आबद्ध गर्न सफल भएको छ।
साउदी क्लब अल-नासरसँग अनुबन्धित रोनाल्डो साउदी अल-स्टार इलेभनका तर्फबाट मैदानमा ओर्लिएका हुन्।
उक्त खेलमा पीएसजीले साउदी क्लबलाई ५-४ ले हरायो।
खेलमा मेस्सी, रोनाल्डो र एम्बाप्पले गोल गरे।
खाडीराष्ट्रको क्लबमा अनुबन्धित भएबापत रोनाल्डोले साढे दुई वर्षको अवधिमा २० करोड डलरभन्दा बढी रकम प्राप्त गर्ने विवरणहरू सार्वजनिक भएका छन्।
एक प्रशंसकले त मैत्रीपूर्ण खेलको टिकटका लागि लिलामीमार्फत् २६ लाख डलर तिरे।
त्यसले खर्च गर्न सक्ने क्षमता देखाउँदै विश्व फुटबलमा युरोप र ल्याटिन अमेरिकाको प्रभाव मध्यपूर्वतिर सर्दै गएको सङ्केत गर्छ।
विगतमा विदेशमा घरजग्गा कारोबार र परम्परागत व्यवसायहरूका लागि परिचित साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारजस्ता क्षेत्रीय शक्तिराष्ट्रहरूले खेलकुद उद्योगमा ध्यान बढाउन थालेका छन्।
त्यसलाई विशेषज्ञहरूले आर्थिक विविधीकरणका लागि कूटनीतिक प्रयासको “सफ्टपावर” का रूपमा हेरेका छन्।
युरोपेली फुटबल

तस्बिर स्रोत,GETTY IMAGES
खाडीराष्ट्रहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नियन्त्रण गर्न सक्ने क्लब पीएसजी मात्र होइन।
खाडीराष्ट्रका लगानीकर्ताले स्वामित्व लिएको पहिलो प्रख्यात टोली म्यान्चेस्टर सिटी पनि हो। सन् २००८ मा इङ्ग्लिश प्रिमीअर लीग खेल्ने उक्त क्लबको अर्बपति शेख मन्सुर बिन जायद अल नाह्यानले स्वामित्व लिए जो यूएईको राजपरिवारका सदस्य हुन्।
पछिल्ला वर्षहरूमा खाडीराष्ट्रका धनाढ्यहरूले फुटबल क्लब किन्ने क्रम बढेको पाइन्छ। साउदी अरबको इन्भेस्टमेन्ट फन्डले न्यूकाशल यूनाइटेड क्लबको निकै विवादास्पद कारोबारमार्फत् स्वामित्व लिएको थियो।
उक्त विषयका कारण यूकेमा ठूलो विवाद भएको थियो। त्यो मूलभूत रूपमा पत्रकार जमाल खशोग्जीको हत्यामा केन्द्रित थियो।
साउदी राजकुमार मोहम्मद बिन सलमानका आलोचक खशोग्जीको सन् २०१८ को अक्टोबर महिनामा इस्तान्बुलस्थित साउदी वाणिज्य दूतावास जाँदा हत्या गरिएको थियो।
उनको हत्या गर्न साउदी राजकुमारले निर्देशन दिएको पश्चिमा गुप्तचर निकायहरूको विश्वास छ। तर सलमानले भने त्यो आरोपको प्रतिवादन गर्दै आएका छन्।
साउदी राज्यले क्लबलाई नियन्त्रण गर्दैन भन्ने “कानुनी रूपमा बाध्यकारी आश्वासन” दिइएपछि मात्रै स्वामित्व लिने प्रक्रिया अगाडि बढाउन अनुमति दिइएको थियो।
प्रख्यात टोलीको स्वामित्व लिनेबाहेक खाडीराष्ट्रहरूले प्रमुख खेलकुद प्रतियोगिताको आयोजनाका साथै प्रायोजकका रूपमा ठूला सम्झौताहरूमा हस्ताक्षर गरेका छन्।
साउदी अरबले रियादमा खेलिएका इटाली र स्पेनका सुपर कपजस्ता युरोपेली फुटबल खेलहरूको विशेष संस्करणको प्रवर्धन गर्न लगानी गरेको छ।
यूएईको राष्ट्रिय ध्वजावाहक इमिरेट्सले रेआल मड्रिड र एसी मिलानसँग अर्बौँ डलरको प्रायोजन सम्झौताहरू गरेको छ।
ठूला खेलकुद प्रतियोगिता

तस्बिर स्रोत,GETTY IMAGES
हालसम्म खाडीराष्ट्रहरूले आयोजना गरेको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता सन् २०२२को फिफा विश्वकप हो। पुरुष फुटबल विश्वकप कतारले आयोजना गरेको थियो।
त्यस्तै साउदी अरब, यूएई, कतार र बहराइनले सन् २०२३ मा एफवन ग्र्यान्ड प्रिक्स आयोजना गर्न लागेका छन्।
कतारले पौडी, एथ्लेटिक्स र जिम्न्यास्टिकको विश्व च्याम्पिअन्शिप आयोजना गरिसकेको छ।
साउदी अरबले पनि प्रख्यात बक्सिङ प्रतियोगिताका साथै डब्ल्यूडब्ल्यूई रेस्लिङ प्रतियोगिता आयोजना गरिसकेको छ।
मनोरञ्जनको खेल रेस्लिङको ब्र्यान्ड साउदी लगानीकर्तालाई बेचिन सक्ने हल्ला पनि व्यापक रूपमा फैलिएको छ।
खाडीराष्ट्रमा सर्दै

तस्बिर स्रोत,GETTY IMAGES
कतारले सफलतापूर्वक विश्वकप फुटबल आयोजना गरेकाले खाडीराष्ट्रहरूमा ठूलाठूला खेलकुद प्रतियोगिताहरू हुने सम्भावना बढाएको छ।
साउदी अरबले इजिप्ट र ग्रीससँगै सन् २०३० को विश्वकपका लागि सामूहिक रूपमा दाबी गर्ने विचार गरिरहेको बताइएको छ भने कतारको राजधानी दोहाले सन् २०३६ को ग्रीष्मकालीन ओलिम्पिक्स र पारालिम्पिक्सको दाबी गर्ने निर्णय गरेको खेलकुदविज्ञहरूको विश्वास छ।
दोहा दुई पटक उक्त प्रतियोगिता आयोजना गर्ने दौडमा भए पनि गत वर्ष सम्पन्न भएको विश्वकपमा उत्कृष्ट पूर्वाधार र यातायात व्यवस्थाले उसको दाबीलाई थप बलियो बनाउनेछ।
त्यस्तै शीतकालीन ओलिम्पिक्सको आयोजना गर्ने होडमा पनि खाडीराष्ट्रहरू छन्।
गत अक्टोबरमा साउदी अरबले निओममा हुन लागेको शीतकालीन एशियाली खेलकुद २०२९ को आयोजना गर्ने अधिकार प्राप्त गरेको थियो।

तस्बिर स्रोत,GETTY IMAGES
मरुभूमिको बीचमा अवस्थित यो नयाँ सहरमा ५०० अर्ब डलर खर्च गरिनेछ। त्यहाँ एउटा स्कीइङ रिसोर्ट पनि बन्नेछन्। सन् २०२६ सम्ममा त्यसको निर्माण सकिने अपेक्षा गरिएको छ ।
साउदी अरब, यूएई, कतार र बहराइनसँग ठूलाठूला तेल र ग्यास उद्योगहरू छन्। तिनले ती देशलाई विश्वव्यापी खेल निकायहरूमा प्रतिस्पर्धा गर्न आर्थिक शक्ति प्रदान गर्छ। तर त्यसको आलोचना पनि भएको छ।
सन् २०२२ को विश्वकप आयोजना गर्ने दौडका क्रममा रहेको कतारको कमजोर मानवाधिकार रेकर्डका कारण आलोचना भएको थियो। विशेषतः कामदार र तेस्रोलिङ्गीलाई कतारमा गरिने व्यवहारका कारण उसमाथि प्रश्न गरिएको थियो।
आलोचनाको शृङ्खला जारी रहँदा समेत विश्व खेलकुदमा खाडीराष्ट्रहरूको भूमिका झन् व्यापक हुँदै जाने देखिन्छ।
(बीबीसी)
क्याटेगोरी : खेलकुद
तपाईको कमेन्ट लेख्नुहोस्