Techie IT
७ जेठ २०७९, शनिबार

नवौं राष्ट्रिय खेलकुदमा एनआरएनएले अमेरिका, इंग्ल्याण्ड र अष्ट्रेलियाबाट क्रिकेट र फुटबल टिम ल्याउने


काठमाडौं । नेपाल सरकारको आयोजनामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अहिले तयारी तीव्र पारिएको छ । मन्त्रिपरिषद्को बैठकले जेठ २२–२८ गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने मिति तोकेपछि अहिले सरोकारवाला निकायहरू पनि तयारीमा व्यस्त बनेका छन् ।

अब एक महिनाभन्दा कमको समय रहेकाले प्रतियोगितामा सहभागी हुने ७ प्रदेश र ४ वटा विभागले आ–आफ्नै तरिकाले तयारी सुरु गरेका हुन् । कान्छो विभागको रुपमा गत आठौँ राष्ट्रियबाट सहभागी भएको गैरआवासीय नेपाली संघ (एनआरएनए स्पोर्टस)ले पनि तयारी तीव्र पारिएको एनआरएन स्पोट्र्स एकेडेमीका कार्यबाहक सदस्य सचिव धर्मराज गिरीले जानकारी दिए । उनले एनआरएनएले नवौँ राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने गरी तयारी भइरहेको र यस पटक राखेपले प्रस्ताव गरेका ३६ मध्ये १८ खेलमा सहभागी हुने बताएका छन् । उनले भने, ‘हामीले तयारी तीव्र पारेका छौँ, अहिले खेलाडीहरूको विवरण संकलन गर्ने काम भइरहेको छ । राखेपले तोकेको मितिसम्म खेलाडी हामीले दर्ता गर्छौँ ।’

आठौँ राष्ट्रिय खेलकुदमा व्यक्तिगत इभेन्ट्समा मात्रै सहभागिता जनाएको एनआरएनएले यस पटक सामूहिक खेलमा पनि सहभागिता जनाउँदै छ । यो पटक फुटबल, भलिबल र क्रिकेटका साथै बास्केटबलको पनि टिम आउने जनाइएको छ । क्रिकेटको टिम इंग्ल्याण्ड (युके)बाट आउनेछ । यसैगरी भलिबलको टिम अष्ट्रेलिया र युकेबाट ल्याउने तयारी गरिएको छ भने बास्केटबलको टिम अष्ट्रेलियाबाट आउनेछ । यस्तै, फुटबलको टिम ल्याउने जिम्मा हिमालयन फुटबल क्लब मलेसियाका अध्यक्ष सन्तोष कार्कीलाई जिम्मा दिएको र उनले अष्ट्रेलिया र मलेसियाबाट खेलाडी छनोट गराएर टिम बनाउने बताएका छन् ।

एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले पनि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आफू निकै उत्साहित रहेको बताएका छन् । विदेशमा बसेका नेपालीहरूलाई नेपालसँग खेलकुदको माध्यमबाट जोड्न पाउँदा आफू उत्साहित रहेको र प्रतियोगितामा एनआरएनएको सक्रिय सहभागिता हुने भन्दै तयारीका लागि कुनै कसर बाँकी नराख्न निर्देशन पनि दिएका छन् ।

खेलकुदका लागि एनआरएनएका तीन जना युवा उपाध्यक्षहरू हिमाल गुरुङ, राज रेग्मी र रोशन थापासहित संयोजकहरू अब्दुल बसिद र रविन्द्र खड्काले विभिन्न देशमा रहेका एनसीसीहरूसँग समन्वय गरिरहेको कार्यबाहक सदस्य सचिव गिरीले बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्