Techie IT
शनिबार, असोज ३,२०७७

पूर्वमन्त्री थापालाई आदिकवि ‘रेख सारु मगर’ साहित्य पुरस्कार


काठमाडौं, भदौ २९

आदिकवि रेखबहादुर ‘सारु मगर स्मृति तथा साहित्य’ पुरस्कार पूर्वमन्त्री शिवलाल थापा मगरलाई प्रदान गरिने भएको छ ।

आदिकवि रेखबहादुर सारु मगर स्मृति तथा साहित्य प्रतिष्ठान र नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेश समितिले मगर भाषाका आदिकवि रेखबहादुर सारु मगरको ७७औँ जन्मजयन्तीको अवसरमा उक्त पुरस्कार घोषणा गरेको हो ।

तनहुँको दमौली निवासी पूर्वमन्त्री थापालाई प्रदान गरिने उक्त पुरस्कारको राशि रु सात हजार रहेको साहित्य प्रतिष्ठानका अध्यक्ष खड्ग पामी आले मगरले जानकारी दिए । पूर्वमन्त्री थापाले मगर भाषामा सात वटा पुस्तक प्रकाशित गरेका छन् ।

प्रतिष्ठानले यस वर्षदेखि आदिकवि रेखबहादुर सारु मगर स्मृति तथा नवप्रतिभा पुरस्कार समेत प्रदान गर्ने भएको राससले जनाएको छ । उक्त पुरस्कार रोल्पाका बेलबहादुर बुढा मगरलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ । मगरले खाम भाषामा दुई वटा पुस्तक प्रकाशित गरेका छन् ।

दुवै पुरस्कार भर्चुअल माध्यमबाट आयोजित कार्यक्रमका अवसरमा घोषणा गरिएको हो । कोभिड–१९ को सङ्क्रमण कम भएपछि एक कार्यक्रमकाबीच उक्त पुरस्कार हस्तान्तरण गरिने प्रतिष्ठानले जनाएको छ ।


क्याटेगोरी : साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्