Techie IT
मंगलबार, मंसीर १६,२०७७

बर्राचौरमा सुविधा सम्पन्न अस्पताल


काठमाडौं,भदौ ७

पर्वतको बिहादी गाउँपालिका वडा नं २ बर्राचौरमा १५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । अहिलेसम्म सदरमुकाम कुश्माबजारमा मात्र यस किसिमको अस्पताल रहेको थियो ।

बिहादी– २ का वडाध्यक्ष ओमप्रकाश कुँवरले रु.१९ करोड लगानीमा अस्पताल निर्माणको प्रक्रिया शुरुआत भएको जानकारी दिएका छन् । यसका लागि बोलपत्र आव्हान गर्ने प्रक्रियामा रहेको छ । सुविधासम्पन्न अस्पताल नहुँदा दक्षिण पर्वतबासी सामान्य उपचारका लागि पनि पाल्पा, पोखरा तथा बुटवल लगायतक ठाउँमा जान बाध्य थिए । उनले अस्पतालमा सबै सेवा रहने जानकारी दिए । उक्त क्षेत्र अहिले पनि स्वास्थ्य चौकीका भरमा रहेको छ ।

अस्पताल बनाउनका लागि स्थानीय आठ जनाले निःशुल्क जग्गा दान गरेका छन् । उनीहरुमा डोलेन्द्र गिरी, भूपेन्द्रनाथ पौड्याल, इन्द्रकला पौड्याल, सुशीला गिरी, होमनाथ गिरी, राम गिरी, कृष्ण गिरी र खगेश्वर भट्टराई रहेका छन् ।

सामाजिक सेवा गर्नु ठूलो कुरा भएको र आत्मसन्तुष्टिका लागि जग्गा दिइएको जग्गादाता डोलेन्द्रले बताएको राससले जनाएको छ । उनले ४० लाख रुपैयाँ मूल्य बराबरको पाँच रोपनी जग्गा दान दिएका थिए ।

बर्राचौर स्वास्थ्य चौकीका प्रमुख भूुपेन्द्रनाथ पौडेलले ग्रामीण ठाँउमा १५ शैयाको विशेषज्ञ सेवा सहितको अस्पताल बन्नु खुशीको कुरा भएको जनाउँदै बिरामी पाल्पा र पोखरा लगायतठाउँमा धाउनु पर्ने बाध्यता अन्त्य हुने बताए ।

अस्पताल निर्माणपछि बिहादी र पैँयू गाउँपालिका सहित फलेवास नगरपालिकाका स्थानीय लाभान्वित हुनेछन् । साथै छिमेकी जिल्ला बाग्लुङको जैमिनी नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका जनताले समेत लाभ लिने जनाइएको छ ।

बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुषालले विकट गाउँमा सुविधासम्पन्न अस्पताल निर्माण हुनु गौरवको कुरा भएको बताए । सामान्य शल्यक्रिया तथा सुत्केरी हुन पनि पाल्पा, बुटवल र पोखरा जानुपर्ने बाध्यताको अन्त्य हुने उनले विश्वास व्यक्त गरे । “मानिसहरु स्वास्थ्य सेवाको अभावकै कारण बसाइँसराइ गर्ने क्रम बढ्दो छ । अस्पताल बनेपछि यो क्रम केही रोकिनेछ ”, उनले भने । दुई वर्षभित्र अस्पतालको निर्माण पूरा गर्न गाउँपालिकाले सहजीकरण गर्ने छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्