Techie IT
शुक्रबार, असोज ९,२०७७

धनुषामा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि


काठमाडौं,साउन २७

धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा करिब १८ दिनदेखि आइसीयूमा उपचाररत मण्डलको गए राति कोभिड निमोनियाका कारण मृत्यु भएको कोभिड–१९ अस्पतालका संयोजक डा जामुनप्रसाद सिंहले राससलाई बताएका छन् । डा सिंहका अनुसार मृतक मण्डल क्षयरोगले पनि सिकिस्त थिए ।

प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार मृतकको ‘ट्राभल हिस्ट्री’ छैन । प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, “मृतक मण्डलको ट्राभल हिस्ट्री छैन, धनुषामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिसकेको हुनसक्छ ।”

मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको प्रजिअ भट्टराईले बताए । मृतकको शव अहिले प्रादेशिक अस्पतालमै राखिएको छ । यसअघि आइतबार मृत्यु भएका एक पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो । योसँगै धनुषामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्