Techie IT
१७ असार २०७९, शुक्रबार

कोभिड नेपाल: पाँचदेखि ११ वर्षका बालबालिकालाई कोभिड खोप किन आवश्यक?


काठमाडौँ । नेपालमा कोरोनाभाइरस सङ्क्रमित बालबालिकाको सङ्ख्या ठूलो नभए पनि कोभिड खोप नलगाउँदा सम्भावित नयाँ लहरको जोखिममा उक्त उमेर समूह रहेको विज्ञहरूले बताएका छन्।

विश्वभर फैलिरहेका विभिन्न प्रजाति र उपप्रजातिका कोरोनाभाइरसले निम्त्याउन सक्ने लहरबाट बालबालिकालाई जोगाउन खोप नै प्रभावकारी उपाय बन्न सक्ने जानकारहरू बताउँछन्।

बाल रोग तथा खोप विशेषज्ञहरूको सुझाव अनुरूप नेपाल सरकारले पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि असार ९ गतेदेखि खोप अभियान सञ्चालन गर्ने भएको छ।

आइतवार कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट युएसएडको सहयोगमा नेपाल आइपुगेको २२ लाख तीन हजार दुई सय मात्रा फाइजर खोप बालबालिकालाई दिन लागिएको हो।

किन बालबालिकालाई खोप आवश्यक?

नेपालमा अहिलेसम्म एघार लाखभन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म पीसीआर परीक्षणबाट सङ्क्रमण पुष्टि भएका मानिसहरूमध्ये २.२८ प्रतिशत १० वर्षभन्दा कम उमेरका बालबालिका हुन्।

तथ्याङ्कमा उक्त उमेर समूहका २३ हजार बालबालिका मात्र सङ्क्रमित भएको देखिए पनि सङ्क्रमण भएका नवजात शिशुमा मृत्युदर उच्च रहेको बाल रोग विशेषज्ञ डा. गणेश राई बताउँछन्।

डा. राईका अनुसार केही बालबालिकामा कोभिडविरुद्ध शरीरले देखाउने रोगप्रतिरोध प्रतिक्रिया असन्तुलित हुँदा एमआईएस भनिने मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रमजस्तो गम्भीर समस्या देखिएको छ।

उनी भन्छन्, “नेपालमा १२ वर्षमाथिका ६० प्रतिशतभन्दा बढी मानिसले खोप लगाइसकेका छन्। जो बालबालिका सङ्क्रमणबाट हालसम्म जोगिए र खोप पनि लगाएका छैनन्, उनीहरू जोखिममा छन्।”

“उनीहरूलाई कोरोनाको नयाँ भेरिअन्टहरूबाट जोगाउने प्राथमिक उपाय खोप नै हो।”

कुन खोप दिन लागिएको हो?

फाइजर खोप

तस्बिर स्रोत,USAID NEPAL

अमेरिकी सरकारको एउटा समितिले फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिकालाई दिनुपर्ने भन्दै सिफारिस गरेको थियो।

त्यसलाई खाद्य तथा औषधिसम्बन्धी प्रशासन एफडीएका विज्ञहरूले समर्थन गरे।

खोप निर्माता कम्पनीले परीक्षणबाट उक्त उमेर समूहका बालबालिकाका लागि खोप सुरक्षित रहेको देखाएको जनाएको थियो।

डा. राईका अनुसार यस उमेर समूहका लागि बनाइएको खोपमा ०.२ मिलिलिटर कोभिडविरुद्ध एन्टिजन राखिएको हुन्छ। वयस्कलाई दिइएको खोपमा एन्टिजन ०.३ मिलिलिटर हुन्छ।

“साना नानीहरूका लागि सुरक्षित पुष्टि भएको खोप अन्य उमेर समूहका लागि प्रभावकारी हुँदैन। त्यसैले यो खोपको दुरुपयोग हुने सम्भावना कम छ,” उनले भने।

कहिले र कहाँ दिइन्छ खोप?

बालबालिकाका लागि खोप अभियान असार ९ गतेदेखि सुरु हुँदैछ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहालका अनुसार एक सातासम्म चल्ने अभियानमा बालबालिकाहरू अध्ययनरत विद्यालयहरूमा खोप उपलब्ध गराइन्छ।

यस कार्यक्रमबाट ५-११ वर्ष उमेर समूहका ३७ लाख बालबालिका लाभान्वित हुने उनले बताए। पहिलो चरणमा २७ जिल्लामा अवस्थित ठूला सहरका बालबालिकालाई खोपको पहिलो मात्रा दिइने उनले बताए।

“धेरै मानिस भएका ठाउँहरूमा सङ्क्रमणको जोखिम उच्च हुने भएकाले हामीले जनघनत्व धेरै भएका जिल्लाहरूलाई लक्षित गरेका छौँ,” उनले भने।

पहिलो मात्रा खोप लगाएको २१ दिनपछि दोस्रो मात्रा दिइनेछ। त्यसका लागि भदौ पहिलो साताअघि नै थप खोप नेपाल भित्रने उनको भनाइ छ।

बालबालिकालाई कोभिड खोप

तस्बिर स्रोत,REUTERS

“हामीले आवश्यक मात्रा र खोप अभियानको मितिबारे जानकारी दिएका छौँ। कोभ्याक्समार्फत थप खोप समयमै आइपुग्ने आश्वासन पाएका छौँ,” दाहालले बताए।

दोस्रो चरणमा बाँकी जिल्लाहरू केन्द्रित रही अभियान अघि बढाउने उनले बताए।

बालबालिकालाई खोपको कस्तो प्रभाव?

केही बालबालिकाको खोप लगाएको ठाउँमा सुन्निने वा हात दुख्नेजस्ता समस्या देखिन सक्ने चिकित्सकहरू बताउँछन्। त्यस्तै कसैलाई आलस्य महसुस हुने समेत हुनसक्छ।

तर खोप लगाएपछि देखिने यस्ता लक्षणहरूसँग सावधान रही नआत्तिन डा. राई सुझाव दिन्छन्।

डा. राई भन्छन्: “यी सामान्य असर हुन्, डराउनु पर्दैन। खोप लगाएपछि वयस्क मानिसहरूमा पनि अल्पकालीन असर देखिन्छ। त्यस्ता असर खोप लगाएको केही दिनमै कम हुँदै जान्छ।”

केही बालबालिकालाई भने खोप लगाएपछि ज्वरो आउने वा एलर्जी देखिने उनको भनाइ छ।

फाइजर खोप

तस्बिर स्रोत,USAID NEPAL

“शरीरले देखाउने प्रतिक्रिया गम्भीर भएको खण्डमा बच्चालाई स्वास्थ्यकर्मीको निगरानीमा राख्नु पर्छ,” उनले भने।

कस्ता खालका सावधानी अपनाउने?

खोप लगाउनुअघि बालबालिकाको खोप लगाउने स्थान सफा गर्नु पर्ने चिकित्सकहरू बताउँछन्।

फोहोर भएको अवस्थामा त्यहाँ घाउ बन्ने र पीप जम्ने सम्भावना रहने उनीहरूको भनाइ छ। त्यस्तै खोप लगाएको केही समयसम्म खोप लगाएको भागमा पानी पार्न नहुने डा. राईले बताए।

कोरोनाभाइरसको सङ्क्रमण भएको तीन महिना कटेको छैन र उच्च तापक्रमसहित ज्वरो आएको छ भने ती बालबालिकालाई खोप दिन नहुने डा. राईको सुझाव छ।

“रोगप्रतिरोधी क्षमता कमजोर भएको अवस्थामा खोप दिँदा असर गम्भीर बन्न सक्छ,” उनले भने।

बालबालिकाले खोप लगाइसकेपछि आधा घण्टासम्म देखिने असरहरू गम्भीर हुनसक्ने भएकोले उनीहरूलाई स्वास्थ्यकर्मीको वरपर वा शिक्षक/अभिभावकको निकट राखिनु पर्ने उनले बताए।

अमेरिकी स्वास्थ्य नियामक निकाय सेन्टर फर डिजिज कन्ट्रोलले मुटुको समस्या रहेका बालबालिकालाई पूर्ण रूपमा निको नभई खोप नदिन सुझाव दिएको छ।

पहिलो खोप लगाएपछि त्यस्तो समस्या देखिएको अवस्थामा निको भएपछि मात्रै दोस्रो मात्रा दिनुपर्ने उसको भनाइ छ।

फाइजर खोप

तस्बिर स्रोत,USAID NEPAL

बालबालिकालाई खोप अभियान सञ्चालन गर्दा खोप लगाउने स्थान बालबालिकामैत्री हुनुपर्ने जानकारहरू बताउँछन्।

कतिपय बालबालिका खोपसँग डराएर अस्वाभाविक रुने वा बेहोस हुने समस्या देखिने भएकाले उनीहरूलाई सहज हुने वातावरण बनाउनु पर्ने डा. राई बताउँछन्।

कहाँ कसरी राखिन्छ फाइजर खोप?

फाइजर खोपलाई माइनस ९० डिग्रीदेखि माइनस ६० डिग्री सेल्सियसमा भण्डार गर्नुपर्छ।

उक्त खोपको म्याद उत्पादन भएको मितिले १२ महिनासम्म रहने अमेरिकी निकाय सीडीसीले जनाएको छ।

अति चिसो तापक्रमबाट निकालिएका खोपहरू १० हप्तासम्म साधारण फिज्रमा राख्न सकिने सीडीसीको सुझाव रहेको खोप समितिका सदस्यसमेत रहेका डा. राईले बताए।

“पहिलो मात्रा लगाएको तेस्रो सातामै दोस्रो मात्रा पनि दिने भएकाले समस्या हुँदैन। हामीसँग भएका सामान्य फ्रिजमा २ देखि ८ डिग्री सेल्सियसमा राख्न सकिन्छ,” उनले भने।

खोप शाखाका प्रमुख दाहालले पनि उक्त खोप भण्डारण र वितरणमा समस्या नहुने बताए।

खोप दिनुअघि त्यसमा ०.९ प्रतिशत सोडियम क्लोराइड मिसाउन सुझाव दिइएको छ र त्यसरी मिसाइएका खोपका भायलहरू भने सामान्य फ्रिजमा १२ घण्टासम्म मात्र सुरक्षित रहने बताइएको छ।

कस्तो छ कोभिडको अवस्था?

ओमिक्रोन भेरिअन्टका दुई नयाँ उपप्रजातिहरूका कारण कोरोनाभाइरस सङ्क्रमण दर विश्वभर पुनः बढिरहेको छ।

नेपालमा पछिल्लो एक सातामा १५ देखि ३५ को हाराहारीमा नयाँ सङ्क्रमण पुष्टि भएको छ।

हाल देशभर ११० जना सक्रिय सङ्क्रमित छन्।

विज्ञहरूले सङ्क्रमणबाट जोगिन आवश्यक सुरक्षा मापदण्ड अपनाउन सुझाव दिएका छन्।

बालबालिकाले सही तरिकाले हात धुन वा मास्क लगाउन नसक्ने र अन्य मापदण्ड कायम गर्न नसक्ने भएकाले खोप नै उनीहरूको सुरक्षाको निम्ति उचित ठहरिएको डा. राईले भने।

(बीबीसी)


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्