Techie IT
६ असोज २०७८, बुधबार

सिटिजन्स बैंकद्वारा बर्दिया जिल्लाको जोगीगाउँमा शाखारहित बैंकिङ सेवा विस्तार


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु-याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका, जोगी गाउँबजारमा यही साउन १५ गतेबाट एक सय ११औं शाखारहित बैंकिङ सेवाप्रारम्भ गरेको छ । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी चित्रबहादुर थारुलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ८९ वटा शाखा, एक सय १७ वटा एटीएम र एक सय ११ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।

यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड वीथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ ।

यसप्रकारको सेवाबाट डिजिटल बैंकिङ सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । व्यावसायिक ज्ञानको कमी, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु तथा व्यावसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुँजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्यूनीकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरूका साथसाथै सुलभ र सहजतवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ । (आर्थिक देनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्