Techie IT
१० असार २०७८, बिहीबार

रेमिट्यान्स साढे १६ प्रतिशतले बढ्यो


काठमाडौं ।
चालू आर्थिक वर्षको ९ महिना अर्थात् चैत मसान्तसम्म विदेशबाट सात खर्ब २९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो १६ दशमलव पाँच प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह दुई प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई छ अर्ब १९ करोड पुगेको नेपाल राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह चार दशमलव नौ प्रतिशतले घटेको थियो ।

रेमिट्यान्स बढे पनि वैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको घट्यै छ । राष्ट्र बैंकका अनुसार नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६६ दशमलव सात प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० दशमलव दुई प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५५ दशमलव सात प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १५.० प्रतिशतले घटेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्