Techie IT
१० असार २०७८, बिहीबार

सबैको लघुवित्तको प्रमुख कार्यकारीमा पौडेल


काठमाडौं ।
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा केशवकुमार पौडेल पुनः नियुक्त भएका छन् । वैशाख २४ गते बिहान बसेको संस्थाको सञ्चालक समितिको ८६औं बैठकले २०७८ जेठ १ गतेवाट लागू हुनेगरी थप चार वर्ष (दोस्रो कार्यकाल)का लागि संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा पौडेललाई नियुक्ति गरिएको संस्थाले जानकारी दिएको छ ।

२०४९ सालमा निर्धन लघुवित्त वित्तीय संस्थावाट सेवा प्रवेश गरेका पौडेलसँग विभिन्न लघुवित्त वित्तीय संस्थाहरूमा विभिन्न पद हुँदै प्रमुख कार्यकारी अधिकृत पदमा रहेर कार्य गरेको अनुभव छ । २०७४।०२।०१ गतेदेखि सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी बहन गरेका पौडेलको यही मिति ०७८ वैशाख मसान्तसम्म मात्र कार्यअवधि रहेको थियो । उनको वित्तीय अनुभव र कार्यकुशलताको सम्मान गर्दै बोर्डले आगामी ४ वर्षका लागि पुनः प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको बताएको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ तथा कम्पनी कानुन तथा अन्य प्रचलित कानुनको अधिनमा रही तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड मिति २०७४ वैशाख २५ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भई मिति २०७४ असार २५ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तर कार्यक्षेत्रमा वित्तीय कारोबार सञ्चालन गर्न ‘घ’ वर्गको इजाजतपत्र प्राप्त गरी मिति २०७४/०३/३० गतेबाट विधिवतरूपमा सञ्चालनमा आएको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।

संस्थाले ०७८ चैत्र मसान्तसम्म सातवटै प्रदेशका ३७ जिल्लाहरूमा ६९ शाखा कार्यालय, चार अनुगमन मुकाम र केन्द्रीय कार्यालय गरी ७४ वटा कार्यालयहरूको सञ्जाल विस्तार गरेको छ । सोही अवधिसम्ममा करिब ५० हजार घरधुरीमा सेवा विस्तार गरेको छ भने संस्थाको लगानीमा रहिरहेको कर्जा तीन अर्ब १४ करोड ६४ लाख रहेको छ भने बचतमा ८१ करोड ८९ लाख रुपैयाँ रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्