Techie IT
शुक्रबार, असोज ९,२०७७

नेपाल बैंकद्वारा नयाँ कर्जा योजनाहरू सार्वजनिक


बागलुड., साउन २०
नेपाल बैंकले नयाँ कर्जा योजनाहरू सार्वजनिक गरेको छ । सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच वर्ष अवधिका लागि सात दशमलव ९९ प्रतिशत ब्याजदरमा घर कर्जा प्रदान गर्ने गरी नयाँ योजना सार्वजनिक गरेको हो । घर निर्माण, घर खरिद तथा तला थप गर्न यसप्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको बैंकले जानकारी दिएको छ ।

यसको अतिरिक्त बैंकले नयाँ लघु उद्यम कर्जा, सम्बद्ध व्यवसाय कर्जा, घडेरी कर्जा योजनाहरू पनि शुभारम्भ गरेको छ । लघु उद्यम कर्जा तथा सम्बद्ध व्यवसाय कर्जाको वार्षिक ब्याजदर आठ दशमलव ९९ प्रतिशत रहेको र सो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरूमा बैंकिङ क्षेत्रकै न्यून ब्याजदर हो, बैंकले भनेको ।

यसप्रकारका कर्जाहरू प्राप्त गर्नका लागि सम्बन्धित निकायमा दर्ता भई नियमित रूपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार, व्यवसाय सञ्चालन तथा विस्तारको निमित्त २५ लाख देखी ९९ लाख रुपैयाँसम्मको लागि लघु उद्यम कर्जा र एक करोडदेखि तीन करोड रुपैयाँसम्मको चालू तथा स्थिर पुँजी व्यवस्थापनका लागि सम्बद्ध व्यवसाय कर्जा उपलब्ध गराउन सकिने बैंकले जानकारी दिएको छ ।

दुवै प्रकारका कर्जाहरूअन्तर्गत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा फिक्स्चर्स खरिद गर्न स्थिर पुँजीकर्जा र चालू सम्पत्ति व्यवस्थापनको लागि चालू पुँजी कर्जा प्रदान गर्न सकिनेछ । लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेकोे सात कार्य दिनभित्र निर्णय गरी प्रदान गर्न सकिने व्यवस्था रहेको छ ।

घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा पनि ल्याएको छ, जसको वार्षिक ब्याजदर नौ दशमलव ९९ प्रतिशत रहेको छ । घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तीय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसीय आवश्यकता पूरा गर्न यो कर्जाको सुरुवात गरिएको हो । यस कर्जाअन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तीमा साढे दुई आना वा साढे चार धुरदेखि बढीमा एक रोपनी वा डेढ कठ्ठासम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अवधि पाँच वर्षदेखि २० वर्षसम्म कायम गरिएको बैंकले जनाएको छ ।

बैंकले हाल सबै क्षेत्रमा गरी एक सय ८६ वटा शाखाहरू, एक सय २५ वटा एटीएम तथा २९ वटा एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ र चालू आर्थिक वर्षभित्र सबै जिल्लाहरूमा शाखा सञ्जाल पु-याई कुल शाखा संख्या दुई सय १४ पु-याउने लक्ष्य बैंकले लिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्