खै के खै के’ नामक व्यङ्ग्य टेलिफिल्म निर्माण

काठमाडौं,साउन ३२
कोरोनाका कारण निराश भएर घरभित्रै बन्दी बनेका बच्चादेखि बूढासम्मलाई हसाउने र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले ‘खै के खै के’ नामक व्यङ्ग्य टेलिफिल्म निर्माण भइरहेको छ ।
झापा भद्रपुर- ९ निवासी कृष्ण अनमोलले गाउँघरमै भइरहेका समसामयिक घटना र कोरोनालाई विषयवस्तु बनाएर टेलिफल्मको निर्माण गरेका हुन् ।
लामो समयदेखि सिनेमा, नाटक र भिडियो गीतको निर्देशनमा लागेका अनमोल भन्छन्, “राम्रो कथावस्तु, चर्चित कलाकारहरु र उत्कृष्ट निर्देशनका कारण ‘खै के खै के’ आम नेपाली दर्शकका सामु एउटा उत्कृष्ट उपहार बन्नेछ ।”
आजकल मानिसलाई मुख र नाक छोप्नेगरी मास्क लगाउन कोरोना महामारीले बाध्य बनाएको छ । तर गाईभैँसी र बाख्रालाई मुखारी लगाउने चलन भने हाम्रा पुर्खाले सयौँ वर्षअघिदेखि चलाएका बताउँदै उनी भन्छन्, “बाख्रालाई बाली नखाओस् भनेर मुखारी लगाउने यही रोचक पटकथालाई दृश्यमा देखाउँदैछौँ ।”
निर्देशक अनमोलका अनुसार ‘खै के खै के’मा प्रसिद्ध गायक श्रीकृष्ण लुइँटेल, प्रसिद्ध अभिनेता सुभाष मेचे, विपीन प्रसाईँ, विमला चिमरिया, भुपाल परियार, मधु न्यौपानेलगायतको अभिनय रहेको छ । मेचीनगर र भद्रपुर नगरपालिकाका विभिन्न स्पटमा सुटिङकार्य भइरहेको यस टेलिफिल्मको अरु सुटिङ झापा र इलामका नै हुने उनको भनाइ रहेको राससले जनाएको छ । झापाको हिमशिखर टेलिभिजनबाट यसको नियमित प्रसारण हुने उनले जानकारी दिए ।
यसमा सङ्गीत अशोक थापा, स्वर श्रीकृष्ण लुइँटेल, शृङ्गार कृष्ण सुवेदी र क्यामेरा ज्ञानेन्द्र कोइरालाको रहेको छ । उनले एक वर्षभरि प्रसारण गर्न सकिने गरी टेलिफिल्म निर्माणका लागि निर्माता जेके जगत् र सरु जेकेसँग सम्झौता गरको बताए । निर्देशक अनमोलले हाल अमेरिकामा रहेका निर्माताहरुले लगानीको सम्पूर्ण भार व्यहोर्ने बताए ।
क्याटेगोरी : मनोरञ्जन
तपाईको कमेन्ट लेख्नुहोस्