Techie IT
७ जेठ २०७९, शनिबार

सलिना महर्जनले जितिन मिस नेवाः नेपाल ११४२ को उपाधी


काठमाडौं । काठमाडौं चमतीकी सलिना महर्जन नेपाल टेलिकम मिस नेवाः नेपाल११४२ को ताज चुम्न सफल भएकी छिन् । नेप्लीज फेसन होमद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको उक्त प्रतियोगितामा आफ्ना १८ सहप्रतिस्पर्धीलाई पछाडि पार्दै सलिना यो वर्षको नेपाल टेलिकम मिस नेवाः नेपालको ताज चुम्न सफल भएकी हुन्।

उनी प्रतियोगितामा मुख्य निर्णायक एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठद्वारा सोधिएको काठमाडौं महानगरपालिकाको मेयर हुनलाई तपाईंमा के के गुण हुनु जरुरी छ ? भन्ने प्रश्नमा सटिक र तार्किक जवाफ दिएर निर्णायक मण्डल तथा दर्शक र अभिभावकको मन जित्न सफल भएकी थिइन्।

उनले काठमाडौं महानगरपालिकाको मेयर हुन पहिला आफैं सक्षम हुनुपर्ने तथा नेतृत्व विकासको क्षमता हुनु पर्ने, नेवारी कला, संस्कृति र भाषाको प्रवर्द्धन गर्नुपर्ने, काठमाडौंलाई स्मार्ट सिटी मात्र नभई हेरिटेज सिटीका रुपमा विकास गर्नुपर्ने, घोषणापत्रमा मात्र सिमित नभई वास्तविक रुपमा काम गर्ने क्षमता हुनुपर्छ भन्ने जवाफ दिएकी थिइन्।

उनलाई मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले मिस नेवाः नेपाल ११४२ को ताज पहिराईदिएकी थिइन्। सलिनाले मूख्य उपाधि चुमेवापत नगद एक लाख रुपियाँ प्राप्त गरेकी छन् भने नेपाल क्योकुसिन सेइसिन काइकान कराँतेको सद्भावना दुत पनि नियुक्त भएकी छन्।
उक्त प्रतियोगितामा ठमेलकी सविना बज्राचार्य फस्ट र भक्तपुरको ठिमीकी सेलिन प्रजापति सेकेन्ड रनर्सअप भएका छन्।


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्