Techie IT
९ माघ २०७८, आईतबार

एनआईसी एसिया बैंकको क्वीज योजना


काठमाडौं, भदौ २६
एनआईसी एसिया बैंकले आकर्षक पुरस्कारले भरिपूर्ण क्वीज योजना सार्वजनिक गरेको छ । डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी स्थानमा रही गतिशील बैंकिङको अभ्यास गर्दै आएको बैंकले समयअनुकूल ग्राहकमैत्री विशेष योजनाहरू ल्याउने क्रममा आकर्षक पुरस्कारले भरिपूर्ण एनआइसी एसिया क्वीज योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार ग्राहक तथा अन्य व्यक्तिहरूले एनआईसीको भाइबर कम्युनिटीमार्फत सोधिने प्रश्नको सही जवाफ दिई योजनामा सहभागी हुन सक्नेछन् ।

यसमार्फत २०७७ भदौ २५ देखि असोज १५ गतेसम्म हरेक दुई दिनको अन्तरालमा सोधिने प्रश्नको सही उत्तर सहभागीहरूले दिनुपर्नेछ । यसरी सोधिने प्रश्नमा दिइएका चारवटा विकल्पहरूमध्येबाट सहभागीहरूले आफ्नो सामान्य जानकारीसहित आफूलाई लागेको सही जवाफ दिनुपर्ने हुन्छ । यसरी सोधिएका प्रश्नहरूमध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सक्नेछन् र जति धेरै सही जवाफ दिन सकिन्छ त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने समेत व्यवस्था भएको बैंकले जनाएको छ ।

बैंकले उक्त योजनाको समयावधि समाप्त भएको एक हप्तामा विजेता घोषणा गर्नेछ भने बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरेको छ । बैंकका अनुसार सहभागी भई सही जवाफ दिने एक जनालाई रिचार्जरको तर्फबाट बम्पर पुरस्कारस्वरूप आकर्षक स्मार्टफोन प्रदान गरिनेछ ।

त्यसैगरी पालसोनिकको तर्फबाट ३२ इन्चको पालसोनिक टेलिभिजन, ब्रदरहुड इन्टरप्राइजेजको तर्फबाट भ्याकुम क्लिनर, इलेक्ट्रोनको तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर तथा ग्रील र यासुदाको तर्फबाट इलेक्ट्रोनिक राइस कुकर १–१ जनालाई प्रदान गरिनेछ । साथै सम्पूर्ण प्रश्नहरूको सही जवाफ दिने पाँच जना भाग्यशालीलाई एलजीको तर्फबाट आकर्षक उपहार र सान्त्वना पुरस्कारस्वरूप प्रत्येक प्रश्नमा चार जनालाई पाँच सयबराबरको मोबाइल रिचार्ज सुविधा प्रदान गरिनेछ ।

भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले भाइबर एप खोली सर्च बक्समा गई यस बैंकको नाम खोज्नुपर्ने हुन्छ । जसमार्फत यस बैंकको एनआईसी एसिया क्वीज योजनामा सहभागिता जनाउन सक्नुका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधा जस्ता गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिने व्यवस्था रहेको बैंकले जानकारी दिएको छ । बैंकले गत आर्थिक बर्षको चौथौ त्रैमासिक अवधिमा तीन अर्ब १२ करोड १४ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा तीन अर्ब दुई करोड ३२ लाख रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी नौ अर्ब ७१ करोड ७६ लाख ६१ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा दुुई खर्ब एक अर्ब ६३ करोड तीन लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६० अर्ब १८ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात अर्ब ६० करोड ४८ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको बितरण योग्य नाफा एक अर्ब ४४ करोड सात लाख ३४ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा निष्क्रियक कर्जाको अनुपात शून्य दशमलव ७५ प्रतिशत रहेको बैंकको स्प्रेड दर भने चार दशमलव ३९ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक खर्ब ७१ अर्ब ४२ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४२ अर्ब ५७ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ अर्ब ९६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्