Techie IT
८ असार २०७८, मंगलबार

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई स्वास्थ्य सेवामा छुट


काठमाडौं, भदौ २४
मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै काठमाडौँंमा रहेका स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्थाहरूसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

बैंकका अनुसार यसअन्तर्गत बसुन्धारामा रहेको काठमाडौँ नेचुरोपेथी अस्पताल, लाजिम्पाटमा रहेको भिजन कन्सर्न, अनामनगरमा रहेको डाक्टर अन कल, लाजिम्पाटमा रहेको सुरिया हेल्थ कियर र कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरी रहेका छन् । सम्झौतापश्चात् मुक्तिनाथका ग्राहकहरूलाई काठमाडौँं नेचुरोपेथी अस्पतालकोे सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शैय्यामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा १५ प्रतिशत र स्पासम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

त्यसैगरी, लाजिम्पाट, चाबहिल र बौद्धमा रहेको भिजन कन्सर्नका विभिन्न सेवा जस्तैः लोकल अप्टिकल सामानमा २५ प्रतिशत, कन्ट्याक्ट लेन्समा १० प्रतिशत र ब्रान्डेड अप्टिकल सामानमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यसैगरी, काठमाडौं अनामनगरमा रहेको डाक्टर अन कलको विभिन्न सेवा लिँदा २० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ । यस सेवाअन्तर्गत स्वास्थ्यसम्बन्धी सेवाजस्तै डाक्टर परामर्श, फिजियोथेरापी, नर्सिङ कियर, औषधि डेलिभरी र अन्य ल्याबोरेटोरी सेवा घरबाटै लिन सकिने बैंकले जानकारी दिएको छ ।

त्यसैगरी, काठमाडौँं लाजिम्पाटमा रहेको सुरिया हेल्थ कियरमा पनि विभिन्न डायग्नोस्टिकसम्बन्धी सेवामा १० प्रतिशत छुट रअहिले विषम परिस्थितिलाई लक्षित गरी पीसीआर परीक्षणमा चार सयको विशेष छुटको व्यवस्था गरिएको छ । त्यसैगरी, कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरीमा पनि पीसीआर परीक्षणमा १० प्रतिशत र अन्य सेवामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यसरी विभिन्न संस्थासँग हातेमालो गर्दै कोभिड १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार बढाउने कार्यमा उल्लिखित सम्झौताहरूले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ । साथै बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुन सुकै बैंककोे एटीएमबाट बिनाशुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ६५ करोड ३८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ८५ करोड ६१ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी चार अर्ब ३२ करोड ४९ लाख ८९ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा ५७ अर्ब २९ करोड ५२ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ६९ करोड सात लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब २२ करोड ११ लाख पाँच हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ९९ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४७ करोड ३३ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले ४१ अर्ब ४७ करोड सात लाख रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब १४ करोड ४३ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ८९ करोड ४७ लाख ७५ हजार पाँच सय ३३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने पाँच दशमलव ६२ प्रतिशत स्प्रेड दर रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्