Techie IT
५ असार २०७८, शनिबार

बैंकहरूमा जोखिममा आधारित आन्तरिक लेखापरीक्षणसम्बन्धी अन्तरक्रिया हुने


काठमाडौँ, भदौ २२
नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान)ले बैंकहरूमा जोखिममा आधारित आन्तरिक लेखापरीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने भएको छ । संघका अनुसार कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विश्रुत थापा प्रमुख वक्ताका रूपमा जोखिमको आधारमा आन्तरिक लेखापरीक्षणको आवश्यकताको बारेमा जानकारी दिनेछन् ।

जोखिमको आधारमा हुने आन्तरिक लेखापरीक्षणले संस्थाको जोखिमसम्बन्धी प्रारुपको आधारमा आन्तरिक लेखापरीक्षण कार्य सञ्चालन गर्ने र सञ्चालक समितिलाई संस्थाको जोखिम वहन क्षमता, संस्थाले जोखिम न्यूनीकरणको लागि अवलम्बन गरेका कार्यहरू र हाल अवलम्बन गरेका कार्यहरू यथेष्ट छ छैन भन्ने विस्तृत जानकारी गराउनु रहेको संघका उपाध्यक्ष सीए रमेश धितालले जानकारी जानकारी दिए ।

कार्यक्रममा मर्जर इन्डिया एलएलपीका पार्टनर चन्द्र सेखरले योजनागत आधारमा गरिने आन्तरिक लेखापरीक्षणको कमीकमजोरी, जोखिममा आधारित आन्तरिक लेखापरीक्षणको लागि आवश्यक तयारी, जोखिममा आधारित आन्तरिक लेखापरीक्षणको आशातीत नतिजा, नेपालमा जोखिममा आधारित आन्तरिक लेखापरीक्षणको चुनौतीहरू विषयवस्तुमाथि प्रस्तुति राख्नेछन् ।

संघका अनुसार अन्तरक्रिया कार्यक्रम यही भदौ २३ गते मंगलबार दिउँसो ४ बजेदेखि ६ः३० सम्म हुुनेछ । अन्तरक्रियामा नेपाल बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंकका प्रमुख आन्तरिक लेखापरीक्षकहरूले हालको प्रचलित अभ्यासको बारेमा प्रकाश पार्नेछन् भने, स्टान्डर्ड चार्टर्ड बैंकका प्रमुख आन्तरिक लेखापरीक्षक श्रीप्रसाद भण्डारीले कार्यक्रम सञ्चालन गर्नेछन् ।

अहिलेको महामारीमा अधिकतम प्रविधिको प्रयोग गरेर काम गर्नुपर्ने अवस्था रहेको, संघसंस्थाको कार्यालय भ्रमण तथा भौतिक परीक्षण चूनौतीपूर्ण भएको अवस्थामा जोखिम मूल्यांकन महत्वपूर्ण रहेको र यसमा आधारित भएर लेखापरीक्षण गर्नुको विकल्प नभएको सन्दर्भमा यो कार्यक्रम सम्पूर्ण सुचीकृत संस्थाहरूलाई महत्व रहने संघका उपाध्यक्ष धितालले जानकारी दिएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्