Techie IT
२१ असोज २०७९, शुक्रबार

महालक्ष्मी विकास बैंक र डाक्टर अन कलबीच सम्झौता


काठमाडौं, भदौ १८
महालक्ष्मी विकास बैंक र डा. अनकलबीच सम्झौता भएको छ । बैंकका अनुसार आफ्ना ग्राहकहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कलसँग सम्झौता गरिएको हो । सम्झौतामा बैंकका तर्फबाट कुमारीपाटी शाखाका प्रमुख अनिष सिंह सिजापती र डा. अन कलका तर्फबाट प्रबन्ध निर्देशक डा. सुमन न्यौपानेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारीलगायत बैंकका संस्थापक र सेयरधनीहरूले डाक्टर अन कलमार्फत घरमै उपचार गराउन सक्नेछन् र यसरी उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनेछन् ।

सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापकरसेयरधनीहरू साथै कर्मचारीले डाक्टर सेवामा अधिकतम ३० प्रतिशत, फिजियोथेरापीमा अधिकतम ३० प्रतिशत, नर्स केयर सेवामा अधिकतम २० प्रतिशत, ल्याव टेष्टमा अधिकतम २० प्रतिशत, डाइटिसियन सेवामा अधिकतम ३० प्रतिशत, डेसिङ तथा इन्जेक्सन सेवामा अधिकतम १५ प्रतिशत साथै डाक्टरसँग अनलाइन कनसल्ट, औषधि तथा मेडिकल उपकरणहरूको डेलिभरी सेवा निःशुल्क रूपमा प्राप्त गर्न सक्नेछन् ।

हाल सबै क्षेत्रमा गरी एक सय दुुईवटा शाखा मार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको बैंकले आगामी दिनहरूमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरू गर्दै जाने सहमति समेत गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा ४२ करोड ८५ लाख ६४ हजार छ सय ७३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ६५ करोड ७७ लाख ७२ हजार पाँच सय ५४ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी तीन अर्र्ब सात करोड २० लाख ६१ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा ३६ अर्ब ९७ करोड ७१ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ४९ करोड २१ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ५४ करोड ४१ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव आठ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ३५ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको बितरणयोग्य नाफा भने २० करोड ३२ लाख ३१ हजार तीन सय ९० रुपैयाँ रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्