Techie IT
सोमबार, कात्तिक १०,२०७७

सिटिजन्स बैंकको अगुवाइमा डाउन पिलुवा खोला जलविद्युत्मा तीनवटा बैंकको लगानी


काठमाडौँ, भदौ १७
रिभर फल्स पावर प्रालिद्वारा प्रवर्द्धित संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिकास्थित डाउन पिलुवा खोला जलविद्युत् आयोजनाको निर्माणको लागि सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंक सहभागी सहवित्तीयकरणमार्फत लगानी जुटाइएको छ ।

परियोजनाको अनुमानित लागत करिब एक अर्ब ८९ करोड ४० लाखमा बैंकहरूले ७०ः३० को ऋणःस्वपुँजी अनुपातमा एक अर्ब ३२ करोडबराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये, सिटिजन्स बैंकबाट ६५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकबाट ४२ करोड र प्रभु बैंकबाट २५ करोड रुपैयाँ लगानी हुनेछ भने ३० प्रतिशत स्वपुँजी प्रवर्द्धकहरूबाट जुटाइने छ ।

कम्पनीले यो आयोजना साढे दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । निर्माण सम्पन्न भएपछि उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको चैनपुरको बानेश्वरस्थित सवस्टेसनमा जोडिनेछ । आयोजनाबाट वार्षिक ५७ दशमलव ६८५ गिगावाट घन्टा विद्युत् उत्पादन हुन्छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ५० गिगावाट घन्टा र बर्खामा ७ दशमलव ६८५ गिगावाट घन्टा विद्युत् उत्पादन हुन्छ ।

सम्झौता हस्ताक्षरका अवसरमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कोरोना भाइरसका कारण सिर्जित कठिन समयमा परियोजनाको वित्तीय व्यवस्थापन समापन गर्नु ठूलो उपलब्धि रहेको बताए । सहभागी सबै बैंकहरूलाई आभार व्यक्त गर्दै प्रवद्र्धकहरूलाई थप उत्साहका साथ कार्य अगाडि बढाउन अनुरोध गरे ।

कम्पनीको तर्फबाट कार्यकारी निर्देशक सुभाष अमात्यले सबै बैंकहरूलाई विशेष धन्यवाद दिँदै आयोजनाको निर्माण कार्यमा राम्रो प्रगति हासिल गरिसकेको जानकारी दिए । उनले परियोजना समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने विश्वास व्यक्त गरे । सिटिजन्सले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा एक अर्ब ११ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले एक अर्ब ४६ करोड ३२ लाख १८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

हाल चुक्ता पुँजी नौ अर्ब आठ करोड ९८ लाख रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा ८५ अर्ब ५१ करोड ६२ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब १६ करोड ९८ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ८८ करोड १६ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा चार दशमलव तीन प्रतिशतको स्प्रेड दर कायम गरेको बैंकमा वितरणयोग्य नाफा भने ८२ करोड ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले ७० अर्ब ५० करोड ९० लाख ८४ हजार रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ९१ करोड १९ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब ६८ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव २३ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्