Techie IT
१५ साउन २०७८, शुक्रबार

आनले नेपाली विज्ञापन सप्ताह मनाउने


काठमाडौं ।
नेपाली विज्ञापन व्यवसायीहरुको पहलमा स्थापित विज्ञापन व्यवसायीहरुको छाता संगठन नेपाल विज्ञापन संघ (आन)ले आफ्नो स्थापना दिवसलाई ‘एड–डे’को रुपमा विविध कार्यक्रम गरी साताभरि नेपाली विज्ञापन सप्ताह मनाउने भएको छ ।

आनका अनुसार आइतबारदेखि असार ७ गतेसम्म ‘एड–डे’ नेपाली विज्ञापन सप्ताह कार्यक्रम गरिने भएको हो । जसअनुसार एड–डेको लोगो सार्वजनिक गर्ने, नेपाली मिडियाहरुमा प्रेस रिलिज पठाउने, सोसल साइट र अन्य मिडियाहरुमा लोगो सार्वजनिक गर्ने, विज्ञापनदाता, कलाकार, चर्चित व्यक्तित्व तथा विशिष्ट व्यक्तित्व, सञ्चार उद्यमी, विज्ञापन उद्यमीहरुको नेपाली विज्ञापन उद्योगसम्बन्धी र विज्ञापनले गरेको प्रभावसम्बन्धी भिडियो क्लिप बाइट तथा शुभकामना नेपाली स्याटेलाइट टेलिभिजनहरुमा बजाइनेछ ।

यस्तै विज्ञापन क्षेत्रका हस्ती, विज्ञापनदाता, उद्योगी, व्यवसायी, सञ्चार–उद्यमीलाई वेबिनारमार्फत श्रोतासमक्ष साक्षात्कार गराई नेपालको विज्ञापन उद्योगको योगदान, उपलब्धि र अवसर आदि विषयमा अन्तर्क्रिया गर्ने एड–डे विज्ञापन सप्ताह आयोजक उपसमितिका संयोजक तथा आनका प्रथम उपाध्यक्ष सुदिप थापाले बताए ।

साथै आनले सामाजिक दूरी कायम गर्दै, उच्च सावधानीका साथ भीडभाड नगरी सचिवालय शान्तिनगरमा आइतबार बिहान ११ बजे रक्तदानको आयोजना गर्ने भएको छ । ‘एड डे’को मुख्य प्रायोजन बिजमान्डु र सहप्रायोजन अम्बे स्टिलले गरेको छ । मूलधारका नेपाली राष्ट्रिय दैनिकहरु र नेपाली स्याटेलाइट टेलिभिजनहरु, अनलाइन पोर्टलहरु र रेडियोहरुको समेत साझेदारी रहेको आनले जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्