Techie IT
शनिबार, असोज १०,२०७७

राष्ट्रिय सहकारी बैंकको वार्षिक योजना तथा बजेट निर्माणसम्बन्धी गोष्ठी सम्पन्न


काठमाडौं, भदौ १४
राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको स्तरीकरण कार्यक्रममा सहभागी सहकारी संस्थाहरूका लागि सञ्चालित वार्षिक योजना तथा बजेट तर्जुमासम्बन्धी दुुई दिने भर्चुअल तालिम सम्पन्न गरेको छ । बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमअन्तर्गत केयरमा सहभागी संस्थाका सञ्चालक तथा प्रवन्धकहरूका लागि सचालित तालिममा सहकारी संस्थाहरूको वार्षिक योजना तथा बजेट निर्माण सम्बन्धमा सहजीकरण गरिएको थियो । तालिमका सहभागीहरूले योजना निर्माण तालिमपछि संस्थाको योजना निर्माण र कार्यान्वयनमा सहज हुने बताएका छन् । संस्थाले बनाएका योजनालाई थप प्रभावकारी र व्यवस्थित गराउन तालिम अत्यन्तै सहयोगी भएको सहभागीहरूको भनाइ छ ।

तालिम समापनका क्रममा बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रलाई प्रभावकारीरूपमा अगाडि बढाउनका लागि संस्थाहरूले योजना बनाएर काम गर्नुपर्ने र त्यसका लागि बैंकले सञ्चालन गरेको तालिम सहयोगी हुने बताए । उनले संस्थाहरू कारोबारका आधारमा नभई योजना, कार्यक्रम र सुशासनका हिसाबले प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

तालिम समापनका क्रममा आदर्श सञ्चार सहकारी संस्था बागलुङका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालन हुमा कुमारी जिसी (अञ्जु)ले सहकारीहरूलाई व्यवस्थित गराउनका लागि कोरोनाको संकटका समयमा पनि सहकारी बैंकले प्रविधिको प्रयोग गरेर तालिम सञ्चालन गरेको बताए ।

तालिमको शुभारम्भ गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारी क्षेत्रलाई राज्यका सबै क्षेत्रमा प्रभावकारी भूमिका देखाउनका लागि वित्तीय क्षमतासँगै सुशासन र व्यवस्थापनमा जोड दिए । तालिममा बैंकका प्रशिक्षकहरू नवकुमार अधिकारी र सूर्य रिमालले सहजीकरण गरेका थिए ।

कार्यक्रमको सञ्चालन तालिम अधिकृत नारायण बेलवासेले गरेका थिए । सहकारी बैंकले आफ्ना सदस्य सहकारी संघसंस्थाहरूको क्षमता विकाससँगै संस्थागतरूपमा सुशासनयुक्त बनाउनका लागि स्तरीकरण कार्यक्रम सञ्चालन गरेको छ । स्तरीकरण कार्यक्रमअन्तर्गत दोस्रो चरणको केयर कार्यक्रममा संलग्न ५० वटा सहकारी संस्थाका सञ्चालक र व्यवस्थापक गरी ७० जनाको तालिममा सहभागिता रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्