Techie IT
बुधबार, कात्तिक ५,२०७७

स्वास्थ्य मन्त्रालयको डाटा पोर्टल सञ्चालनमा


काठमाडौं,भदौ ११
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ लक्षित डाटा पोर्टल सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को संक्रमणको आधिकारिक विवरण प्रदान गर्न सञ्चालनमा रहेको पोर्टल ‘कोभिड–१९ डट एमओएचपी डट जीओभी डट एनपी’मा तथ्यांकहरुलाई सर्वसाधारणको पहुँचमा सजिलै लैजान सकियोस् भन्ने उद्देश्यले यो पोर्टल मन्त्रालयले सञ्चालनमा ल्याएको हो ।

पहिलो चरणको बन्दाबन्दीसँगै सुरु भएको कोभिड–१९ पोर्टल अहिले थप विवरण तथा तथ्यांकसहित अद्यावधिक गरिएको छ । अहिले मन्त्रालयले कोभिड–१९ सूचना तथा गतिविधिको सम्प्रेषण गर्न भाइबर ग्रुप, फेसबुक, ट्विटर, कोभिड–१९ प्रेस ब्रिफिङ, मोबाइल एप्स ‘हाम्रो स्वास्थ्य’, कोभिड–१९ पोर्टललगायतका डिजिटल माध्यम सञ्चालन गर्दै आएको छ । मन्त्रालयले जारी गरेको मोबाइल एप्स हाम्रो स्वास्थ्य एन्ड्रोइड र आइओएस गरी दुई लाख पटकभन्दा धेरैपटक डाउनलोड भइसकेको छ । कोभिड सूचना प्रदान गर्ने भाइबर ग्रुप एमओएचपी नेपाल कोभिड १९ मा साढे चार लाखभन्दा बढी प्रयोगकर्ता सक्रिय छन्, आधिकारिक फेसबुक पेजमा साढे छ लाख फलोअर रहेका छन् । मन्त्रालयले आफ्नो डिजिटल उपस्थिति संक्रमणको जोखिम बढेसँगै थप सक्रिय गर्दै लगेको छ ।

मन्त्रालयका अनुसार नयाँ डाटा पोर्टलमा पुरानो पोर्टलमा रहेका कोभिड–१९ बारे जानकारी, स्वमूल्यांकन, आईईसी सामग्री, धेरै सोधिने प्रश्न, सूचना तथा समाचार र सिचुएसन रिपोर्ट यथावत् छन् । यसका अलावा यस डाटा पोर्टलले प्रयोगकर्ताअनुकूल संक्रमणको विभिन्न तथ्यांकहरुलाई नक्सामा हेर्न सक्नेछन् । संक्रमणको प्रादेशिक विवरण, जिल्लागत महिला पुरुषको विवरण, उमेर समूहअनुरुपको विस्तृत विवरण, लिङ्गका आधारमा संक्रमण हेर्न सकिनेछ । प्रयोगकर्ताले हालसम्मका संक्रमण विवरण नक्सामा छनोट गरी हेर्न सक्नेछन् । नयाँ पोर्टलमा प्रयोगकर्ताले पछिल्लो २४ घण्टामा भएका संक्रमणको अवस्था हेर्न सक्नेछन् । साथै एक प्रदेशको संक्रमण अर्को प्रदेशसँग तुलना गर्न पनि सक्नेछन् । प्रयोगकर्ताले आफूले चाहेबमोजिम पछिल्ला हप्ता, महिना वा आफ्नो रोजाइअनुरुप मिति छनोट गरी संक्रमणको अवस्था हेर्नसक्ने मन्त्रालयले जनाएको छ ।

नयाँ पोर्टलमा संक्रमणको अवस्था पूरा नेपाल, प्रदेश, जिल्लाको आधारमा नक्सामा र सँगै रहेको टेबुलमा हेर्न सकिनेछ । प्रदेशहरुको संक्रमणको अवस्था र एक अर्काको तुलना रेखाचित्रमा देखाइएको छ, यसमा नेपालको सम्पूर्ण संक्रमणको अवस्था पनि बार चार्टमा देखाइएको छ । लिङ्गको आधारमा संक्रमणको अवस्था पाई चार्टमा देख्न सकिन्छ । प्रादेशिक संक्रमणको अवस्था बार चार्टमा छ । देशका ७७ वटै जिल्लाको विवरण बार चार्टमा उपलब्ध छ । उमेर समूहअनुसारको संक्रमणको अवस्था तथा कुनै निश्चित दिनको संक्रमणको अवस्था यसमा उपलब्ध छ । पोर्टलको अन्त्यमा संक्रमित, डिस्चार्ज र मृत्युको तुलना भएको पाईचार्ट उपलब्ध छ । योसँगै पोर्टलमा मन्त्रालयको आधिकारिक फेसबुक र ट्विटर र अत्यावश्यक सेवा वा जानकारी लिनपरे हटलाइन नम्बर पनि राखिएको छ ।

‘हाम्रो स्वास्थ्य’ मोबाइल एप : केही समयअघि मन्त्रालयले आफ्नो आधिकारिक मोबाइल एप्स हाम्रो स्वास्थ्य एन्ड्रोइड र आइओएसका प्रयोगकर्ताहरुको लागि अपडेट सार्वजनिक गरेको थियो । मोबाइल एप्समा प्रयोगकर्ताले दैनिक आफ्नो स्वास्थ्यको स्वमूल्यांकन भर्न सक्नेछन् । भरिएका स्वमूल्यांकन विवरणका आधारमा मन्त्रालय मातहतका विज्ञ स्वास्थ्यकर्मीले सम्भावित संक्रमणको लक्षण भएका प्रयोगकर्तालाई फोनमार्फत थप सल्लाह सुझाव तथा आवश्यक परे नजिकैको स्वास्थ्य संस्थासम्म जान प्रबन्ध समेत गर्नेछन् ।

नयाँ अपडेटमा मन्त्रालयले कन्ट्राक्ट ट्रेसिङमा सहयोग होस् भन्ने हेतुले ब्लुटुथ ट्रेसिङ सार्वजनिक गरेको थियो । ब्लुटुथ ट्रेसिङ प्रयोगकर्ताको गोपनीयतामैत्री कोभिड–१९ विरुद्धको सुरक्षात्मक अवधारणा हो । स्वास्थ्य मोबाइल एपमा मन्त्रालयले प्रयोगकर्तामा संक्रमणको जोखिम कम गर्न ब्लुटुथ ट्रेसिङको सुरुवात गरेको छ । मोबाइल एप खोलेपछि प्रयोगकर्तालाई मोबाइलको ब्लुटुथ ट्रेसिङ खुल्ला गर्न एपले अनुरोध गर्दछ, प्रयोगकर्ताले अनुमति दिएमा मोबाइल एपले ब्लुटुथ ट्रेसिङ सुरु गर्दछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्