Techie IT
२ जेठ २०७८, आईतबार

फाइभजीले ल्याउन सक्छ औद्योगिक क्रान्ति

सूचना प्रविधिमा आश लाग्दा प्रयास


काठमाडौं ।
पछिल्ला केही हप्तादेखि काठमाडौंका तरकारी पसलहरूमा धमाधम क्युआर कोडको उद्घाटन भइरहेका छन् । बैंकहरूबीच आ–आफ्नो कार्ड राख्ने प्रतिस्पर्धा नै चलेको छ । दैनिक कारोबार गर्नेहरू पनि नगदभन्दा डिजिटल भुक्तानीतिर आकर्षित भइरहेका छन् । तरकारीदेखि चिया पसलसम्म सुरु भएको क्युआर कोडको प्रयोगले मुलुकमा डिजिटल पूर्वाधार फड्को मारेको बुझ्न सकिन्छ ।

कुनै ठाउँ क्युआर कोड प्रयोग हुनु भनेको इन्टरनेट, स्मार्टफोन, बैंकमा खाता, मोबाइल बैंकिङ, मोबाइल एप्सको विकास, डिजिटल पेमेन्टको प्रयोग र यसको साक्षरता विकास हुनु हो । अझ एक वर्षअघि विश्वव्यापी सुरु भएको कोरोना भाइरस संक्रमणले डिजिटल प्रविधिमा आधारित व्यवसाय र काम मुख्य प्राथमिकतामा पर्नथालेका छन् । कहिले पनि भुक्तानीको लागि मोबाइल वालेट प्रयोग नगर्नेले इ–सेवा वा खल्तीको अकाउन्ट खोलेका छन् भने कहिले अनलाइन सपिङ नगरेकाले घरमै सामान मगाउन थालेका छन् ।

लकडाउनकै अवधिमा धेरै अनलाइन सपिङ खुले । बैंकदेखि डिपार्टमेन्ट स्टोरसम्मले अनलाइन सेवालाई नै प्राथमिकतामा राखे । आम उपभोक्तामाझ यसरी प्रविधिको प्रयोग हुनु डिजिटल प्रविधिको विकासमा ठूलो सहयोग हो । अझ केही दिनअघि मात्र नेपाल राष्ट्र बैंकले डलर प्रिपेड कार्डको सुरुवात ग-यो । यसले अब स्वदेशभित्र मात्र होइन, विदेशमा समेत यहीँ बसेर भुक्तानी गर्न सकिने भएको छ । यसले नेपाली उपभोक्तालाई विश्व बजारको डिजिटल प्रविधिसँग जोडिदिएको छ ।

अझ नेपाल सरकारले त ‘डिजिटल नेपाल’ अभियान नै सुरु गरेको छ । अर्को महत्वपूर्ण कुरा, विश्वका विकसित देशले परीक्षण गरिरहेको फाइभजी नेपालमा पनि ल्याउने भन्दै छलफल सुरु भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण यसको प्रयोगलाई चाहिने नीति निर्माण गर्न जुटिसकेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ फाइभजी परीक्षणको निर्णय भइसकेको र यसको नीतिगत विषयमा काम भइरहेको बताउँछन् ।

‘दूरसञ्चार क्षेत्रको पूर्वाधार विकासमा पहिलेदेखि छलफल भइरहेको रहेछ’, मन्त्री गुरुङले भने, ‘अब हामी यसलाई ठोस रुपमा निर्णय गर्दै कार्यान्वयनमा लैजान चाहन्छौँ ।’ मुलुकमा विज्ञान प्रविधिको क्षेत्रमा उल्लेख्य उन्नति गर्न नसके पनि सूचना तथा सञ्चार प्रविधिमा भने उत्साहजनक प्रगति भइरहेको छ । विगतका पाँच÷सात वर्षमा दर्जनौँ स्टार्टअप सुरु भएका छन् । दश वर्षअघि सुरु भएको इ–सेवालाई पछ्याउँदै अहिले एक दर्जनभन्दा धेरै डिजिटल भुक्तानी सेवा प्रदायक आएका छन् ।

त्यस्तै, झण्डै दुई दशकअघि सुरु भएको नेपालमा इ–कमर्स अहिले आएर फस्टाएको छ । दराज, सस्तो डिल, ग्यापुदेखि दर्जनौँ अनलाइन मार्केट प्लेसले घर–घरमा सामान पु-याइरहेका छन् । मुलुकमा २०६२/०६३ पछि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा छिटो–छिटो प्रगति र परिवर्तन भएको छ । जसले गर्दा आमनेपालीको जीवनशैलीमै परिवर्तन ल्याइदिएको छ  ।

एक दशकको अवधिमा नेपालमा मोबाइल सेवा, इन्टरनेट र डाटा खपत उच्च वृद्धि भएको छ । दश वर्षअघिको तथ्यांक र अहिलेको तथ्यांकको फरक निकै ठूलो छ । जुन अन्य क्षेत्रमा देख्न सकिँदैन । दश वर्षअघि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको २०६७ माघको तथ्यांकअनुसार भ्वाइस सेवा प्रयोग गर्ने उपभोक्ता १ करोड १३ लाख ८३ हजार थिए । यसमध्ये मोबाइल (जीएसमए, सीडीएमए र थ्रिजी)का ग्राहक १ करोड ४१ लाख थिए । त्यो बेला मुलुकको टेलिडेन्सिटी ४०.३० प्रतिशत रहेकोमा मोबाइलको हिस्सा ३५.१३ प्रतिशत थियो भने फिक्स्ड लाइनको २.९५ प्रतिशत थियो ।

हालसम्म आइपुग्दा मुलुकको दूरसञ्चार क्षेत्रमा ठूलो परिवर्तन आएको छ । प्राधिकरणको २०७७ माघ महिनासम्म मुलुकको टेलिफोनको पहुँच पुगेको जनसंख्या ३ करोड ९५ लाख ८२ हजार पुगेको छ । जसअनुसार मुलुकको टेलिडेन्सिटी १३०.९४ प्रतिशत पुगेको छ । यसको अर्थ एक जनाले एकभन्दा बढी सिम बोकिरहेका छन् । मुलुकमा ६ वटा दूरसञ्चार कम्पनी सञ्चालनमा रहेको तथ्यांक रहे पनि मुख्य त नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको मात्र उपस्थिति छ ।

त्यसैगरी, दश वर्षको अवधिमा इन्टरनेट प्रयोग र विकास संख्यात्मक तथा गुणात्मक रुपमा उल्लेख्य वृद्धि भएको छ  । प्राधिकरणका निर्देशक मीन प्रसाद अर्यालले दश वर्षको अवधिमा इन्टरनेट पेनिट्रेसन छ गुणाले वृद्धि भएको बताए । प्राधिकरणको तथ्यांक हेर्दा २०६७ माघ महिनामा मुलुकमा २२ लाख ६७ हजारको इन्टरनेटमा पहुँच थियो । जुन कुल जनसंख्याको ७.९३ प्रतिशत हुन आउँछ । त्यो बेला अहिले मोबाइल प्रविधिमा जीपीआरएस अर्थात् टु जी, त्यस्तै, डायलअप, सीडीएम, एडीएसएल, केबल मोडलम जस्ता प्रविधिमार्फत इन्टरनेट चलाउन पाइन्थ्यो ।

एक दशकमा विभिन्न प्रविधिको इन्टरनेट चलाउने उपभोक्ताको संख्या दुई करोड ५४ लाखबाट माथि लागेको छ । प्राधिकरणको २०७७ माघको तथ्यांकअनुसार इन्टरनेट पेनिट्रेसन ८४ प्रतिशत पुगेको छ । संख्यात्मक रुपमा हेर्ने हो भने पनि दश वर्षको अवधिमा इन्टरनेट सेवाप्रदायक कम्पनीहरू थपिएका छन् । हालसम्म इन्टरनेट सेवा प्रदान गर्ने आईएसपीहरूको संख्या ४० पुगिसकेको छ । पछिल्लो केही वर्षमा इन्टरनेट र मोबाइल डाटाको मूल्यमा पनि उल्लेख्य कमी आएको छ । पाँच छ वर्ष अघिसम्म एक महिनामा प्रति एमबीपीएस इन्टरनेटको मूल्य ५० डलरको हाराहारीमा तिर्नुपथ्र्यो भने अहिले यो मूल्य घटेर १०–१२ डलरसम्म आइपुगेको छ । यसले इन्टरनेट पहुँच वृद्धिमा सहयोग गरेको छ ।

पछिल्लो समयमा जसरी इन्टरनेट प्रयोगकर्ता र सेवा प्रदायक वृद्धि भएका छन् । त्यसअनुसार गुणात्मक रुपमा प्रगति भने हुनसकेको छैन  । इन्टरनेटको मागलाई व्यवस्थापन गर्नमै सेवा प्रदायक व्यस्त छन् । तीव्र गतिमा इन्टरनेटको माग बढ्दै जाँदा गुणात्मक वृद्धिलाई ध्यान दिन नसकेको देखिन्छ  ।दश वर्षको अवधिमा मुलुकमा भित्रिएका स्मार्ट फोन, थ्रिजी र फोरजीको विकास र सेवा प्रदायकको सेवामा देखिएको प्रतिस्पर्धाले उपभोक्ताको जीवनशैली नै परिवर्तन गरिदिएको छ  ।

‘इनटरनेट प्रयोगले समग्र सामाजिक ट्रान्सफरमेसनमा ठूलो भूमिका खेलेको छ’, अर्यालले भने, ‘सँगसँगै यसमा डिजिटल डिभाइसको समस्या पनि छ ।’ २०५६ सालमा टुजीबाट सुरु भएको मोबाइल इन्टरनेट अहिले फोरजीमा चलिरहेको छ । विश्वमा फाइभजीको परीक्षण भइरहेको बेला नेपालमा पनि कसरी ल्याउन सकिन्छ भनेर छलफल सुरु भइसकेका छन् ।

मुलुकमा २०५६ सालमा दोस्रो पुस्ताको मोबाइल इन्टरनेट (टुजी) सुरुवात भयो । त्यसैगरी, २०७२/०७३ मा थ्रिजी र २०७३/०७४ मा फोरजीको सुरुवात भयो । नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले फोरजी सेवा सुरु गरिसकेका छन् । एकातिर नयाँ प्रविधि थपिँदै गएको छ भने अर्कोतिर यसको प्रयोग गर्ने स्मार्ट मोबाइल हेन्डसेटको आयात तीव्र हुँदै गएको छ  । कोभिडसँगै बढेको डिजिटल प्रविधिको प्रयोगले स्मार्टफोन आयात ह्वात्तै बढेको छ ।

यो आर्थिक वर्षमा हरेक महिना ६ लाख २५ हजारका दरले स्मार्टफोन हेन्डसेट भित्रिरहेका छन् । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको आठ महिनामा ४९ लाख ९३ हजार ४ सय ५१ वटा मोबाइल हेन्डसेन्ट आएका छन् । जसको मूल्य २६ अर्ब ३० करोड ५४ लाख ९५ हजार रुपैयाँ परेको छ । गाउँगाउँमा पुगेको थ्रिजी र फोरजीले आम उपभोक्ताको जीवनशैलीमा फरक ल्याइदिएको छ । फोरजीले ल्याएको गुणस्तरीय इन्टरनेटले उपभोक्ताकै जीवनशैलीमा परिवर्तन ल्याएको छ ।

प्रविधि शुल्क सस्तो हँुदै जाँदा सर्वसाधारणको पहुँचमा मोबाइल आइसकेको छ । एक दशक अघिसम्म हत्तपत्त कसैले पनि मोबाइल किन्ने आँट नगर्ने अवस्था फेरिएको छ । सस्तो मूल्यमा नयाँ प्रविधि चल्ने स्मार्ट मोबाइल पाइने भएको छ । दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकको संख्या र प्रतिस्पर्धा वृद्धि भएको छ । कसले धेरै ग्राहक बनाउने र भएका ग्राहकलाई कसरी होल्ड गरेर राख्ने भन्ने प्रतिस्पर्धाले सेवाशुल्क सस्तो हुँदै गएको छ । ती कम्पनीहरूले विभिन्न स्किम, प्याकेज, इन्टरनेटजस्ता अतिरिक्त सुविधा उपलब्ध गराउँदा मोबाइल सर्वसाधारणको आकर्षण बढेको छ  ।

प्रविधिको विकाससँगै मोबाइल सेट फोन गर्ने र उठाउनेमा मात्र सीमित रहेन । यसमा रहेक वर्ष थपिँदै गएको नयाँ प्रविधिले उपभोक्ताको काम सघाइरहेका छन् । मोबाइल प्रविधिको प्रयोगबाट लोकल कन्टेन्ट उत्पादन भइरहेका छन् । मनोरञ्जन, सूचना, शिक्षा लगायतको कन्टेन्ट मोबाइलबाट प्रयोग गर्न सकिने भएको छ । मुलुकको ब्रोडब्यान्ड इन्टरनेट प्रविधिमा ठूलो फड्को मार्ने आधार तयार भइहेका छन् । देशभर ब्रोडब्यान्ड इन्टरनेट पु-याउन पूर्वाधार निर्माणकार्य भइरहेका छन् । ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी अप्टिकल फाइबर प्रयोग गरेर मुलुकभर पूर्वाधार पु-याउन प्राधिकरणले दुई प्रकारका परियोजना अगाडि बढाएको छ ।

एउटा परियोजना हो– अप्टिकल ब्याकबोन नेटवर्क परियोजना र ब्रोडब्यान्ड एक्सेस नेटवर्क । यस परियोजनाअन्तर्गत मध्यपहाडी लोकमार्ग र पूर्व–पश्चिम राजमार्गलाई जोड्ने गरी उत्तर–दक्षिणका मार्गबाट अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको छ । यसले ७७ जिल्ला सदरमुकामलाई सूचना महामार्गले जोडिने अर्यालले बताए । अर्को परिचयोजना हो– ब्रोडब्यान्ड नेटवर्कको । ब्रोडब्यान्ड एक्सेस नेटवर्क परियोजनाअन्तर्गत उपत्यकाका तीन जिल्लाबाहेक ७४ जिल्लालाई १८ वटा प्याकेजमा बाँडेर ब्रोडब्यान्ड इन्टरनेट विस्तारको काम भइरहेको अर्यालले जानकारी गराए ।

यसमा ७५ प्रतिशत काम सम्पन्न भइसकेको उनको भनाइ छ । यसले सार्वजनिक ठाउँहरू जस्तो कि विद्यालय, स्वास्थ्य चौकी, स्थानीय निकायलगायतका सार्वजनिक स्थलमा इन्टरनेट पु-याउने र पु-याएको २ वर्षसम्म निःशुल्क सेवा दिने भनिएको छ । यस परियोजनाअन्तर्गत धेरै ठाउँमा इन्टरनेट पुगेको छ भने केही ठाउँमा काम भइरहेको छ ।

पूर्वाधार तयार भइसकेपछि त्यसको सही सदुपयोग कसरी होला भन्नेमा भने आशंका छ । पूर्वाधार प्रयोगको लागि स्पष्ट नीति आवश्यक छ । सेवा प्रयोग कसरी, त्यसको संरक्षण, एप्लिकेसन र कन्टेन्ट विकास कसले र कसरी गर्ने भन्ने अबको प्रश्न हो । यी पूर्वाधारलाई राम्रोसँग प्रयोग गर्नसक्ने हो भने यसले मुलुकको सूचना प्रविधिको विकासमा थप टेवा पु-याउनेछ ।

सूचना, सञ्चार र प्रविधिको विकास अन्य धेरै क्षेत्रसँग जोडिएको हुन्छ । यसले योसँग जोडिएका क्षेत्रलाई अगाडि बढाउन सहयोग गर्छ  । जस्तै, इ–शिक्षा, इ–कमर्स, टेलिमेडिसिन, इ–गभर्नेन्सका लागि यी पूर्वाधार सहयोगी बन्न सक्नेछन् । अहिले पनि विभिन्न भुक्तानी सेवा प्रदायकहरू डिजिटल पेमेन्टदेखि क्युआर कोडको प्रयोगसम्म आइसकेको छ । अनलाइन सपिङ मौलाउँदै गएको छ ।

सरकारी कामहरू अनलाइनबाट सुरु भएका छन् भने पुँजीबजार पूर्णरुपमा डिजिटाइज्ड भइसकेको छ । हाल विश्वभर चौथो औद्योगिक क्रान्ति (फोर्थ इन्डष्ट्रियल रिभोलुसन) चलिरहेको छ  । यसको अर्थ हो ‘बिग डाटा’ र उच्चगतिको इन्टरनेट प्रयोग गरेर विश्वभर औद्योगिक क्रान्ति भइरहेको छ । यसले विश्वको आर्थिक वृद्धिदरलाई उच्च बनाएको छ भने आम मानिसको दैनिक गतिविधिलाई अझ सहज बनाएको छ । नेपालमा भने अहिलेसम्म चौथो औद्योगिक क्रान्तिको प्रविधिको प्रयोग हुनसकेको छैन । तर, नेपालमा बन्दै गरेको पूर्वाधार र फाइभ जी समयमै आउने हो भने मुलुकमा चौथो आद्योगिक क्रान्तिको केही भए पनि अनुभव हुनेछ ।

नेपाल अतिगरिब र पिछडिएको मुलुक भएकै कारण विश्वमा चलेको पहिलो, दोस्रो र तेस्रो औद्योगिक क्रान्तिको कुनै पनि चिज नेपालमा आउन सकेनन् । विश्वमा विकास भएका औद्योगिक क्रान्तिलाई हेर्ने हो भने स्टिम इन्जिनको विकासलाई पहिलो मानिन्छ । त्यस्तै, विद्युत्को विकास र उच्च उत्पादनमा यसको प्रयोगलाई दोस्रो औद्योगिक क्रान्ति मानिन्छ । उत्पादन बढाउन स्वचालित इलोक्ट्रोनिक्स र सञ्चार प्रविधिको प्रयोग तेस्रो क्रान्ति मानिन्छ । नेपालमा भर्खर विद्युत्को पहुँच बढ्दै छ भने अझै पनि औद्योगिक क्षेत्रले पर्याप्त विद्युत् खपत गर्न पाएका छैनन् ।

यसअघि विश्वमा चलेका औद्योगिक क्रान्तिहरूमा हाम्रो मुलुक सहभागी हुन नसके पनि चौथो औद्योगिक क्रान्तिमा भने सहभागी हुन जरुरी छ । यसको लागि नेपाल सरकार र अन्य सरोकार निकायको गम्भीर रुपमा काम गर्नुपर्नेछ । अलिहे चलिरहेको चौथो औद्योगिक क्रान्तिमा प्रयोग भइरहेका प्रविधिले विश्वभर औद्योगिक उत्पादन तीव्र रुपमा बढाउन सहयोग मात्र गरेको छैन । यसले विश्वको आर्थिक, विज्ञान, खोज अनुसन्धान, समाजिक विकासमा सहयोग गरिरहेको छ । चौथो क्रान्तिले ठूलो मात्रामा उत्पादन बढाउन, औद्योगिक विकास, कृषिमा आधुनिकीकरण गर्न, सेवा क्षेत्र, इ–कमर्स, शिक्षा, स्वास्थ्य, वातावरण, विपत् व्यवस्थापन, नयाँ आविष्कारलगायतमा सहयोग गरिहेको छ । नयाँ प्रविधिले उत्पादन क्षेत्रमा सबैलाई प्रतिस्पर्धात्मक बनाएको छ ।

विश्वमा भएको पहिलो औद्योगिक क्रान्ति स्टिम इन्जिनको विकासलाई मानिएको छ । यही क्रान्तिले गर्दा अहिले विश्वभर यातायातको सहजता पाएको छ । त्यसैगरी, दोस्रो औद्योगिक क्रान्तिका रुपमा रहेको विद्युत्को विकास र यसको उपयोगिता हो । नेपालले यस क्षेत्रमा भर्खर पाइला चाल्दै छ । उत्पादन बढाउन स्वचालित इलोक्ट्रोनिक्स र सञ्चार प्रविधिको प्रयोग गर्दै विश्वभर तेस्रो औद्योगिक क्रान्ति सफल भयो । नेपालले भर्खर सञ्चार प्रविधिमा फड्को मार्दै छ भने स्वचालित इलेक्ट्रोनिक्सको प्रयोग अझै हुनसकेको छैन । तर, सूचना प्रविधि क्षेत्रमा भएका विकास, औद्योगिक क्षेत्रमा आएका नयाँ प्रविधि, इन्टरनेटमा आधारित व्यवसायको बढ्दो प्रयोगले नेपालमा पनि केही हुँदै छ भन्ने आशाका किरण छरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्