Techie IT
२ जेठ २०७८, आईतबार

संकटमा रेमिट्यान्सले जोगाएको अर्थतन्त्र

पैसाको व्यवस्थापनमा कहाँ चुक्यौं हामी ?


काठमाडौं ।
यतिखेर सिंगो विश्व नै कोरोना भाइरस (कोभिड १९) को महामारीबाट गुज्रिरहेको छ । ठूला–ठूला राष्ट्रहरुलाई समेत यो महामारीले निकै गहिरोसँग असर पारेको छ । यो असर हाम्रोजस्तो थोरै जनसंख्या र सानो आकारको अर्थतन्त्र भएको मुलुकमा नपर्ने त कुरै भएन ।

विशेष गरी होटल तथा पर्यटन क्षेत्र, ठूलो–ठूलो मनोरञ्जन उद्योग, हवाइ उड्डयन, यातायात सबै क्षेत्रमा कोभिड १९ को असर परेको छ । तर योभन्दा ठूलो असर वैदेशिक रोजगारीबाट प्राप्त आय अर्थात् रेमिट्यान्सबाट चलेको हाम्रोजस्तो मुलुकको अर्थतन्त्रमा परेको छ । देशमा पर्याप्त मात्रामा रोजगारीको अवसर नहुनु र विदेशमा पनि कोभिड १९ कै कारण ठूलो संख्यामा रोजगारी कटौती हुनुले पनि मुलुकको श्रमबजारमा निकै ठूलो निराशा छाएको छ । लाखौंको संख्यामा दक्ष, अर्धदक्ष तथा श्रमशक्ति बेरोजगार हुनपुगेका छन् । यसको बाबजुद पनि आजको अवस्थालाई हेर्दा अर्थतन्त्रमा त्यति ठूलो असर परेको नदेखिनुलाई अचम्म नै मान्नुपर्छ ।

रेमिट्यान्सले अर्थतन्त्र चलेको मुलुक, त्यसमाथि पनि ठूलो संख्यामा वैदेशिक रोजगारीमा कटौती हुँदा पनि रेमिट्यान्समा त्यति धेरै परिवर्तन नआउनु अर्थात् कोभिड १९ को बाबजुद पनि रेमिट्यान्स रकम बढ्नु सबैको लागि सुखद हो र हुनसक्छ । तर अब हामीले यसमा चित्त बुझाएर बस्नसक्ने अवस्था छैन । हामीले विगतको गल्ती, कमी कमजोरीहरुबाट पाठ सिकेर रेमिट्यान्सलाई दीर्घकालीन रुपमा उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्छ ।

अहिले ठूलो मात्रामा नेपाली युवाशक्ति विदेशमा छ । दुबई, कताई, मलेसिया, साउदी अरब, कोरिया, हङकङ, भारतलगायतका मुलुकहरुमा लाखौँको संख्यामा नेपाली युवायुवतीहरुले कठोर मिहिनेत गरेर काम गरिरहेका छन् । केही पैसा कमाइरहेका छन् । त्यो पैसा नेपालमा रहेका आफन्त र परिवारको नाउँमा पठाएका छन् । तर दुःखका साथ भन्नुपर्छ, त्यसरी विदेशमा दुःख गरेर कमाएको पैसा फेरि विदेशमा नै गएको छ । महंगो मोबाइल, घडी, क्यामेरा, सुनचाँदी, टिभी, कपडा किन्ने बहानामा त्यो पैसा विदेशमा नै गएका छन् ।

यसले हामी नेपाली गरिब भए पनि हाम्रो सोख निकै उच्च रहेको देखिन्छ । यो सोख सिंगो मुलुकको आर्थिक विकास र समृद्धिको लागि घातक हो । अहिलेसम्म हामीले विदेशबाट कमाएको पैसा अथवा भनौँ वैदेशिक रोजगारीबाट प्राप्त आय रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सकेनौँ । विदेशमा केही वर्ष बस्यौँ, केही पैसा कमायौँ, त्यसबाट मोबाइल, घडी, मोटरसाइकल, गाडी किन्यौँ । अनि त्यो पैसा जहाँ कमायौँ, त्यहीँ पठायौँ । यो सबै हाम्रो महंगो सोखले गर्दा भएको हो । हामीले पैसालाई सहीरुपमा व्यवस्थापन गर्न सकेनौँ । विदेशबाट जति पैसा कमाएर ल्याउँछौँ, त्यो पैसालाई उत्पादनमूलक क्षेत्रमा लगाएर, दीर्घकालीन आम्दानीको स्रोतको रुपमा लगाएर, नियमित आम्दानीको बाटो बनाएर मात्र मोबाइल, घडी, मोटरसाइकल किन्नुपर्थ्यो । तर हामीले एकै पटकमा बोटै मासिने गरी वैदेशिक रोजगारीबाट कमाएको पैसालाई अनुत्पादक क्षेत्रमा लगायौँ । जसले गर्दा मुलुकको अर्थतन्त्र अहिले कमजोर बन्दै गएको छ ।

यो कमजोरी अर्थात् भनौँ अर्थतन्त्रलाई कमजोर बनाउने काम हामीबाट हुनुहुँदैन । मुलुकको आर्थिक विकास र समृद्धिमा हाम्रो आफ्नो महंगो सोख कहिले पनि बाधक बन्नुहुँदैन । यति ठूलो महामारीको बीचमा पनि नेपालले चालू आर्थिक वर्षको पहिलो महिनामा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ । दोस्रो महिनामा यस्तो रकम बढेर एक खर्ब ६५ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ भने तेस्रो महिनामा यस्तो रकम अझ बढेर दुई खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको चौथो महिनामा यस्तो रकम अझै बढेर तीन खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ भने पाँचौँ महिनामा रेमिट्यान्स रकम अझै बढेर चार खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

चालू आवको पछिल्लो छ महिनामा रेमिट्यान्स रकम बढेर चार खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ भने सातौँ महिनामा यस्तो रकम अझै बढेर पाँच खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । चालु आवको आठ महिनामा भने नेपालले कुल छ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ रेमिटेन्स भित्र्याएको छ । चालू आर्थिक वर्ष सकिन अझै चार महिना बाँकी छ । गत आर्थिक वर्षमा भने नेपाल कुल आठ खर्ब ७५ अर्ब तीन करोड रुपैयाँ रेमिट्यान्स भित्र्याउन सफल भएको थियो ।

यदि रेमिट्यान्सको वृद्धिदर अहिलेकै अवस्थामा कायम रहेको खण्डमा चालू आर्थिक वर्षमा रेमिट्यान्स रकम गत आवको तुलनामा केही बढ्ने अनुमान गर्न सकिन्छ । तर रेमिट्यान्स रकम बढ्यो भनेर चुप लागेर हात बाँधेर बस्ने अवस्था अब छैन । रेमिट्यान्सकै कारण अर्थतन्त्र चलायमान भएको छ, कोभिड १९ को महामारीको बीचमा पनि अर्थतन्त्र सहज अवस्थामा छ भनेर बसिरह्यौँ भने हाम्रो अर्थतन्त्र निकै जर्जर अवस्थामा पुग्नेछ । धमिराले खाएको रुखजस्तो अहिलेको अर्थतन्त्र कुनै पनि समयमा ढल्नसक्छ ।

त्यसकारण यो अवस्था आउन नदिन पनि वैदेशिक रोजगारीबाट प्राप्त आय रेमिट्यान्स रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउनैपर्छ । जुन कुरामा हामी आत्मनिर्भर हुनसक्छौँ । त्यो क्षेत्रमा यस्तो रकमको प्रयोग गर्नुपर्छ, कृषि, ऊर्जा, पर्यटन, मासुजन्य वस्तु, पशुपक्षी, फलफूल तथा तरकारी, कपडा आदिमा हामी आत्मनिर्भर हुनुपर्छ । यसको लागि हामीले वैदेशिक रोजगारीबाट प्राप्त आय रेमिट्यान्सलाई यस क्षेत्रमा लगानी गर्नुपर्छ ।

सिंगो मुलुकलाई आर्थिक विकास र समृद्धिको बाटोमा लानको लागि पनि हामीले लगानी गर्न क्षेत्र भनेको यिनै हुन् । यिनै क्षेत्रहरुमा परनिर्भरतातर्फ धकेलिएर कहिले पनि मुलुक समृद्ध हुँदैन । यो समृद्धको लागि जुन कुरामा हाम्रो, स्रोत, साधन, क्षमता, दक्षता र सम्भाव्यता छ, त्यो क्षेत्रमा लगानी गर्नुपर्छ । त्यो क्षेत्र भनेको कृषि, पर्यटन र पूर्वाधार नै हो । रेमिट्यान्सको प्रयोग यो क्षेत्रमा हुनैपर्छ । राज्यले पनि यसैलाई केन्द्रविन्दुमा राखेर नीति तथा कार्यक्रम बनाई कार्यान्वयन गर्नुपर्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्