Techie IT
१२ साउन २०७८, मंगलबार

ग्वार्काे तरकारी बजारमा कुमारी बैंकको क्यूआर भुक्तानी सेवा विस्तार


काठमाडौं ।
कुमारी बैंक लिमिटेडले ललितपुरस्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्यूआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी तथा आमन्त्रित अतिथिगणको उपस्थितिमा सो क्यूआर स्ट्याण्ड तरकारी व्यवसायीहरूलाई हस्तान्तरण गरेका हुुन् ।
बैकले नगद कारोबारकोे विकल्पमा आफ्नो मोबाइल एपमार्फत क्यूआर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दे आईरहेको छ ।

‘यस क्यूआर प्रणालीअन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने तथा चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाइदाहरू रहेका छन् । त्यसैगरी, व्यवसायीहरू हरेक दिन बिक्री गरिएको रकम जम्मा गर्न बैंक धाइराख्नु पर्नेे तथा खुद्रा पैसा बोक्नुपर्ने झन्झटबाट पनि मुक्त हुनेछन् । उक्त सेवाको प्रयोग गर्दा अतिरिक्त शुल्क पनि लाग्ने छैन’ कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी गराए ।

क्यूआर कोड भुक्तानी मर्चेन्टको संख्या र पहुँच दिनानुदिन बढ्दै गइरहेको हुनाले सो प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैंक विश्वस्त छ । डिजिटल भुक्तानीमा विश्वसनीयता बढाउन र नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्न बैंकले समय–समयमा डिजिटल कारोबारसम्बन्धी सचेतना कार्यक्रमहरू समेत गर्दै आइरहेको छ । हालसम्म यस बैंकले सात हजार तीन सयभन्दा बढी व्यापारीहरू फोन–पे क्यूआर डिजिटल भुक्तानी प्रक्रियामा आबद्ध गराइसकेको छ ।

बैंकले आफ्ना देशव्यापी एक सय ९२ शाखा सञ्जाल, एक सय ६२ एटीएम, २५ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरू सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्