Techie IT
बिहीबार, असोज ८,२०७७

सिटिजन्स बैंकद्वारा कोरोना रोकथाम कोषमा रकम सहयोग


काठमाडौं, भदौ ४
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोरोना कोरोना रोकथाम कोषमा रकम सहयोग गरेको छ । बैंकले कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा २० लाख १५ हजार पाँच सय चार रुपैयाँ सहयोग गरेको हो । कोरोना भाइरस (कोभिड–१९)ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत उक्त रकम सहयोग गरेको बैंकले जानकारी दिएको छ ।

यसअघि पनि कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारअन्तर्गतको कोषमा सात लाख रुपैयाँका दरले ४९ लाख, विभिन्न स्थानीय निकायमा खडा गरिएको कोषमा करिब छ लाख तथा विभिन्न संघ संस्थालाई छ लाख रुपैयाँ गरी हालसम्म कुल ६१ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिएको छ ।

नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण रउपचार कोष’मा २० लाख १५ हजार पाँच सय चार रुपैयाँ सहयोग गरेपश्चात् कोरोना नियन्त्रणका लागि बैंकको सहयोग ८१ लाख रुपैयाँ पुुगेको छ । यस विपत्को घडीमा बैंकले गरेको सहयोगबाट कोरोना भाइरसको रोकथामका साथसाथै सीमान्तकृत तथा निम्न आय भएका नेपालीहरूको दैनिक अत्यावश्यक सामग्रीहरू प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकले जनाएको छ । यस किसिमको सहयोगले कोरोना भाइरसबाट प्रभावितहरूको दुःखको घाउमा मलम लगाउन टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

कोरोना भाइरस महामारीको जोखिम न्यूनीकरणका लागि सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु-याउने उद्देश्यले बैंकले यस बैंकको एटीएम कुनै पनि बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । विश्वभरि फैलिएको कोरोना भाइरसले सृजना गरेको विषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले ग्राहकसामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा नौ दशमलव ५० प्रतिशत वार्षिक ब्याजदरमा एसएमई कर्जा अर्थात् साना तथा मझौला कर्जा नौ दशमलव ५० प्रतिशत वार्षिक ब्याजदरमा र मोटर्गेज लोन अर्थात् व्यक्तिगत कर्जा १० दशमलव ९९ प्रतिशत वार्षिक ब्याजदरमा प्रवाह गर्ने योजना देशैभरी छरिएका बैंकका एक सय १० शाखाहरूबाट सञ्चालनमा ल्याएको छ ।

बैंकले देशैभरि फैलिएका आफ्ना एक सय १० वटा शाखा, ९८ वटा एटीएम र एक सय चारवटा शाखारहित बैंकिङ एकाईहरूबाट करिब साढे छ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । ग्राहकहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगीकार गर्दै बैंकले ग्राहकलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरू समेत सञ्चालनमा ल्याएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्