Techie IT
आईतबार, असोज ११,२०७७

स्वावलम्बन लघुवित्तद्वारा कोरोना रोकथाम कोषमा थप एक करोड ३२ लाख सहयोग


काठमाडौं, भदौ ३
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा थप एक करोड ३२ लाख २८ हजार एक सय २१ रुपैयाँ सहयोग उपलब्ध गराएको छ । संस्थाले कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा उक्त रकम जम्मा गरेको हो ।

संस्थाले यसअघि २५ लाख रुपैयाँ सहयोग प्रदान गरिसकेको छ । यसैगरी, सातवटै प्रदेशमा रहेका शाखा/उपशाखा कार्यालयमार्फत एक सय ५० वटा स्थानीय निकायलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । वित्तीय संस्थाले कोभिड–१९ कारण समस्यामा परेका विपन्न ग्राहक सदस्यलाई विभिन्न शाखा कार्यालयमार्फत राहत सामग्री खाद्यान्न समेत वितरण गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ असार मसान्तसम्म बाँकी रहेको रकम थप सहयोग स्वरूप कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार कोषमा जम्मा गरेको र उक्त सहयोगले न्यून आय भएको साथै अप्ठ्यारोमा परेको वर्ग, समुदायलाई दैनिक उपभोग्य सामग्री वितरणमा सहयोग पुग्ने विश्वास संस्थाले लिएको छ ।

वित्तीय संस्थाले ग्राहक संरक्षण र संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत समय–समयमा ग्राहक तथा समुदायको हितका लागि विभिन्न कार्यक्रम तथा प्राकृतिक विपद् व्यवस्थापका लागि विभिन्न राहत प्याकेजहरू उपलब्ध गराउँदै आएको छ । राष्ट्रियस्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले हाल ६१ जिल्लामा रहेका एक सय ४० वटा शाखा कार्यालयमार्फत दुुई लाख ५० हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा तथा विभिन्न गैरवित्तीय, दक्षता अभिवृद्धिलगायतका सेवा प्रदान गर्दै आएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्