Techie IT
१० कात्तिक २०७८, बुधबार

कृषि विकास बैंक र कीर्तिपुर नगरपालिकाबीच सम्झौता


काठमाडौं ।
कृषि विकास बैंक र कीर्तिपुर नगरपालिकाबीच सम्झौता भएको छ । सोमबार कीर्तिपुर नगरपालिकाले आफ्ना सम्पूर्ण बैंकिङ कारोबारहरू कृषि विकास बैंकमार्फत गर्ने गरी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र कीर्तिपुर नगरपालिकाको तर्फबाट नगरप्रमुख रमेश महर्जनले सम्झौतामा हस्ताक्षर गरेका हुुन् । देशको पुरानो बैंक र राजनीतिक तथा प्रशासनिक महत्व राख्ने पुरानो नगरपालिकाबीच बैंकिङ कारोबार गर्ने सम्झौताले नगरपालिकाको बैंकिङ कारोबारमा सहजता हुनुका साथै स्थानीय आम जनसमुदायलाई बैंकिङ कारोबार गर्न थप सुविधा पुग्नेछ ।

उक्त सम्झौता कार्यक्रमाका सिलसिलामा पाँचवर्षे सम्झौता पत्र आदन प्रदान गर्दै नगरप्रमुख रमेश महर्जनले भने, ‘सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको छ, यसको लाभ स्वभाविकरूपमा दुवैलाई मिल्छ । बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले पुरानो तथा किसानको बाहुल्यता रहेको नगरपालिकासँग प्रत्यक्षरूपमा जोडिन पाउँदा संस्था गौरवान्वित भएको बताए ।

पाँच वर्षको लागि भएको सम्झौतामा बैंकले नगरपालिकाको सम्पूर्ण सरकारी कारोबार गर्नेछ भने नगरपालिकाका स्थायी कर्मचारीलाई विनाधितो १५ लाखसम्म तलबी खाता कर्जा तथा सापट उपलब्ध गराउनेछ । देशका ७७ जिल्लामा नेटवर्क रहेको बैंक र किसान तथा विद्यार्थीहरूको सहरबीचको सम्बन्धले बैंकिङ सेवालाई सहज बनाई वित्तीय सेवा व्यवस्थापनमा सहयोग पुग्नजाने देखिन्छ ।

बैंकले नगरपालिका क्षेत्रमा बसोबास गर्ने किसान, विद्यार्थी तथा उद्यमीका लागि लागि सहुलियत दरमा कृषि, शैक्षिक तथा व्यावसायिक कर्जा प्रदान गर्नेछ । यस सम्झौताले नगरपालिकाको एकीकृत बैंकिङ कारोबारमा सहजता हुनेछ । सम्झौताअनुसार बैंकले नगरपालिका र नगरपालिकामा आबद्ध कर्मचारीलाई निःशुल्क विद्युतीय भुक्तानीका सेवा उपलब्ध गराउनेछ भने संस्थागत सामाजिक उत्तरदायित्वको निश्चित रकम नगरपालिकामार्फत खर्च गर्नेछ ।

उक्त कार्यक्रममा नगरपालिकाको तर्फबाट नगर उपप्रमुख एवं प्रवक्ता सरस्वती खड्का, प्रमुख प्रशासकीय अधिकृत सिता परियारलगायत अन्य पदाधिकारीको उपस्थिति थियो भने बैंकका तर्फबाट उपमहाप्रबन्धकहरू प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, ध्रुवचन्द्र गौतम, दीर्घबहादुर अर्याल, वाग्मती प्रदेश प्रमुख सुन्दरप्रसाद खतिवडा, समृद्धि कार्की, विनोद कोइरालालगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । नगरपालिकाका लेखाप्रमुख मित्रप्रसाद घिमिरेले सञ्चालन गर्नुभएको कार्याक्रमको मूल उद्देश्य बैंक र नगरपालिकाबीच एकीकृत बैंकिङ कारोबार गर्नु रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्