Techie IT
सोमबार, फागुन २४,२०७७

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित


काठमाडौं ।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)को लाभांश पारित भएको छ । बिहीबार केन्द्रीय कार्यालय दरबारमार्गमा सम्पन्न भएको ३४औं वार्षिक साधारणसभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको १८ दशमलव पाँच प्रतिशत कुल लाभांश पारित गरेको हो । उक्त लाभांशमा १३ प्रतिशत लाभांश (बोनस सेयर) र चुक्ता पुँजीको पाँच दशमलव पाँच प्रतिशत नगद लाभांश रहेको छ । महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारणसभा भर्चुअलरूपमा सम्पन्न गर्ने निर्णय गरिएको थियो । साधारणसभामा आर्थिक वर्ष २०७६/७७ मा बैंकका प्रमुख उपलब्धिहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको थियो ।

सभामा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकले गत आर्थिक वर्षमा तीन अर्ब ५१ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको जानकारी दिए । आर्थिक वर्ष २०७६/७७ मा बैंकको खुद नाफा दुई अर्ब ४२ करोड रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल एक खर्ब ५२ अर्बबाट वृद्धि भइ एक खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको एक खर्ब २७ अर्बबाट वृद्धि भई एक खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकले ८३ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु-याउँदै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल)ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्