Techie IT
शुक्रबार, माघ २,२०७७

लक्ष्मी बैंकको लाभांश पारित


काठमाडौँ ।
लक्ष्मी बैंकको लाभांश पारित भएको छ । बैंकले मंगलबार सम्पन्न भएको २०औं वार्षिक साधारणसभाले चुक्ता पुँजीको नौ प्रतिशत बोनस सेयर र दुई दशमलव पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड पुगेको छ ।

सभाले आर्थिक वर्ष २०७५–०७६ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट विश्वकरण जैन तथा स्वाती रुङ्गटालाई बैंकको सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

आव २०७६/७७ मा एक अर्ब ७६ करोड रुपैयाँ निक्षेप र ८९ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट बैकको वासलातको आकार एक खर्ब २८ अर्ब रुपैयाँ पुुगेको छ । उक्त आर्थिक वर्षमा बैंकले एक अर्ब ४१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरू नियामक व्यवस्थाअनुरूप नै राम्रो अवस्थामा रहेका छन्् ।

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज आफ्ना शाखाहरू तथा सूचना प्रविधिको माध्यमबाट बृहत् स्तरमा सेवा प्रदान गर्न सफल भएको छ । तुलनात्मक रूपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरीजस्ता सम्पूर्ण वित्तीय सेवाको क्षेत्रमा सेवा पु-याउने एक प्रमुख बैंकिङ सेवाप्रदायकको रूपमा बैंक अगाडि आएको छ । उच्चस्तरीय संस्थागत सुशासन संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षम प्रविधिलगायत उत्तम व्यवस्थापन भएको बैंकको रूपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ ।

लक्ष्मी बैंक एक हरित कम्पनी हो र यसले इन्टरनेट, कार्ड तथा मोबाइल फोनजस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोगमार्फत हरियाली मैत्री बैंकिङ सेवा प्रदान गर्न सक्षम भएको छ । बैंकको इन्भेष्टमेन्ट बैंकिङ सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि सञ्चालनमा रहेको छ ।

यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ बाट कारोबार सुरु गरी लघुवित्त सेवा प्रवाह गरिरहेको छ । बैंकले लक्ष्मी भ्यालु फण्ड १, लक्ष्मी इक्विटि फण्ड तथा लक्ष्मी उन्नति कोष नामक म्यूचुअल फण्ड समेत सफलतापूर्वक जारी गरिसकेको जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्