Techie IT
१९ मंसीर २०७८, आईतबार

कञ्चनपुरमा ग्लोबल आईएमई बैंकको शाखारहित सेवा


काठमाडौं ।
ग्लोबल आईएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार यो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या दुई सय ४४ पुगेको छ ।

बैंकले कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा नं. ७, कलुवापुर बजारमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन कलुवापुर बजार व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर गैराल तथा बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्दप्रसाद भट्टले, संयुक्तरूपमा गरेका हुन् । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधि गंगाराम रानालाई नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, एनटीसी, डिस होम, सीडीएमए, यूटीएल, एनसेल र नेपाल विद्युुत् प्राधिकरणको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि बैंकले ती स्थानहरूमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको दुुई सय ६४ शाखा सञ्जालसहित दुई सय ४० एटीएम, ४७ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, दुई सय ४४ शाखारहित बैंकिङ सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्