Techie IT
बुधबार, मंसीर १७,२०७७

रेडक्रस र कोका—कोला नेपालको दोस्रो चरणको भेन्टिलेटर र सुरक्षा सामग्री वितरण सुरु


काठमाडौं ।
कोका—कोला र नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को साझेदारी अन्तरर्गत कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयंसेवकहरूको सुरक्षा अभिवृद्धिको लागि विभिन्न अस्पतालहरू र स्वयंसेवकहरूलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरणको दोस्रो अभियान सुरु भएको छ ।

नेपाल सरकारलाई विभिन्न अस्पतालहरूलाई प्रयोग गर्न हस्तान्तरण गरिने सामग्रीहरूको कुल मूल्य करिब १ दशमलव ४ करोड रुपैयाँ रहेको छ । यस साझेदारीअन्तर्गत देशका सातवटै प्रदेशका प्रमुख अस्पतालहरूमा एक—एक वटा भेन्टिलेटर तथा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको लागि व्यक्तिगत सुरक्षा सामग्रीहरू हस्तान्तरण गरिनेछ । यो दोस्रो चरणको सामग्री वितरण अभियान स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको समुपस्थितिमा बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा सुरुवात गरिएको हो ।

नेरेसोले कोका–कोलासँग समन्वय गरेर दोस्रोपटक सहयोग गरेकोमा रेडक्रसको प्रशंसा गर्दै मन्त्री ढकालले प्रत्येक प्रदेशमा रहेका ठूला अस्पतालमा भेन्टिलेटरको व्यवस्था गर्ने योजनाअनुसार कोका–कोलासँगको साझेदारीमा रेडक्रसले प्रदान गरेको भेन्टिलेटरहरू सातै प्रदेशमा पु(याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारले ल्याएको स्वास्थ्य अध्यादेशले कोभिड महामारीसँगको लडाइँमा सहज हुने उनले बताए ।

सोही अवसरमा नेरेसो र कोका—कोलाबाट उपलब्ध गराइएको सामग्रीहरू मन्त्री ढकालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर राजकर्णिकारलाई हस्तान्तरण गरेका छन् । नेपाल रेडक्रसका कार्यवाहक अध्यक्ष सर्मिला कार्की, महामन्त्री पिताम्बर अर्याल, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल तथा केन्द्रीय सदस्य दीपेन्द्र ढकाल, निर्देशक पवन गुप्ता र कोका—कोलाका तर्फबाट कन्ट्री पीएसीएस म्यानेजर इरिना कार्की तथा ह्युमन रिसोर्स डाइरेक्टर हरि शर्मा न्यौपानेको उपस्थिति रहेको थियो ।

बिहीबार हस्तान्तरण गरिएका सामग्रीमा एक सय थान सुरक्षा चस्मा, एक सय २० बाकस सर्जिकल मास्क, एक सय ५० थान सुरक्षा पोशाक, ५० बाकस पन्जा, केएन ९५ मास्क दुई सयवटा रहेका छन् । त्यसैगरी आगामी दुई हप्ताभित्र सात प्रदेशका तोकिएका अस्गतालहरूमा भेन्टिलेटर एक—एक थानसहित ४८ हजार थान सर्जिकल मास्क, केएन–९५ मास्क एक हजार छ सय थान, पाँच सय ५० थान सुरक्षा पोशाक, सुरक्षा चस्मा चार सयवटा र दश हजार जोडी पञ्जा हस्तान्तरण गरिनेछ ।

उक्त सामग्रीहरू कोशी अञ्चल अस्पताल मोरङ, नारायणी उपक्षेत्रीय अस्पताल पर्सा, भरतपुर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान अस्पताल कास्की, भेरी अञ्चल अस्पताल बाँके, मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत र सेती अञ्चल अस्पताल कैलालीमा हस्तान्तरण हुने व्यवस्था मिलाइएको छ । हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले कोभिड रोकथाम तथा न्यूनीकरणका लागि नेपाल सरकार तथा अन्य सरोकारवालासँगको समन्वयमा काम गरिरहेको बताउँदै कोका–कोलासँगको साझेदारीमा पनि अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी र कोभिड उपचारको सेवा लिन आउने मानिसहरूलाई सेवा पु-याउने खालका सामग्री सहयोग गरिएको बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्