Techie IT
शुक्रबार, मंसीर १२,२०७७

इ–सेवाले पायो आईएसओ २७००१ः२०१३ मान्यताप्राप्त प्रमाणपत्र


काठमाडौं ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इ–सेवाले आइएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ । आईएसओ प्रमाणपत्र प्राप्त भएसँगै इ–सेवाका सेवा र यसले प्रयोग गर्ने प्राविधिक संरचना गुणस्तरीय, सुरक्षित र विश्वस्तरीय छन् भन्ने पुष्टि गरेको कम्पनीले दाबी गरेको छ ।

आईएसओबाट प्रमाणित भएसँगै इ–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले स्थापनाकालदेखि नै सूचना प्रणाली, गोपनीयता र सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै आएको दाबी गरे । टेक्नोलोजीमा आधारित व्यवसाय सञ्चालन गरिरहेकोले अझ बढी संवेदनशील भएर विश्वस्तरीय सुरक्षा मापदण्डहरु अपनाउँदै आएको उनको भनाइ छ ।

यसै सिलसिलामा सूचना प्रणालीसम्बन्धी ग्लोबल बेन्चमार्क आईएसओ २७००१ तोकेका मापदण्डहरु पालना गर्दै यो प्रमाणपत्र प्राप्त गर्नु कम्पनी, ग्राहक, एजेन्ट नेटवर्क, बैंक तथा वित्तीय संस्थाहरू, सेवा प्रदायक संस्थालगायत सम्पूर्ण सरोकारवालाको लागि खुसीको कुरा भएको उनले बताए । यो आईएसओबाट सर्टिफाइड भएसँगै कम्पनीको सेवा सुरक्षित र गुणस्तरीय छ भन्ने कुराको थप पुष्टि भएको उनले बताए ।

आईएसओ २७००१ः२०१३ (हालको संस्करण) संसारमा सबैभन्दा विश्वसनीय सूचना सुरक्षा व्यवस्थापन मापदण्ड जाच्ने एउटा महत्वपूर्ण आधारको रूपमा मानिन्छ । कुनै पनि कम्पनीको सूचना सुरक्षा व्यवस्थापनको मजबुतीलाई जाच्ने मुख्य आधार नै आईएसओलाई चिनिन्छ । यसले सुरक्षा व्यवस्थापन प्रणालीका लागि विभिन्न मानकहरुबारे विश्लेषण गर्दै कम्पनीहरुको सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनमा सूचना सुरक्षा जोखिमबाट माथि उठाउँछ ।

नेपालमा डिजिटल भुक्तानीको व्यवस्थाको थालनी गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इ–सेवामा हाल खाता खोल्नेको संख्या ३५ लाखभन्दा बढी छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इ–सेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्र निर्माण गर्ने सरकारको अभियानमा ठूलो योगदान दिन सफल भएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्