एनसेलको ‘पे एज यु गो’ डेटा अब ४० पैसा प्रतिएमबीसम्ममा पाइने
काठमाडौं ।
एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहिक पे एज यु गो’ योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले करबाहेक ४० पैसा प्रतिएमबीसम्ममा डेटा सेवा प्रयोग गर्न सक्छन् । यस योजना अनुसार एनसेलका ग्राहकले बढी शुल्क लाग्ने कुनै डरविना ढुक्कसँग मेन ब्यालेन्सबाटै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्छन् ।
यो योजना बुधबारदेखि लागू भएको कम्पनीले जनाएको छ । पे एज यु गो अर्थात् मेन ब्यालेन्सबाटै विद्यमान प्रतिएमबी करबाहेक दुई रुपैयाँमा डेटा सेवा प्रयोग गर्ने र सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई ध्यानमा राखी सुलभ दरमा सेवा प्रदान गर्न यो योजाना ल्याइएको हो । यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसैअनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जान्छ ।
यदि ग्राहकले पे एज यु गोअन्तर्गत एक हप्तामा डेटाका लागि २० रुपैयाँसम्म खर्च गरेमा विद्यमान पे एज यु गो शुल्क २ रुपैयाँ प्रतिएमबी पर्दछ । एक हप्तामा ग्राहकले २० रुपैयाँदेखि ५० रुपैयाँसम्म डेटा सेवामा खर्च गर्नेबित्तिकै सेवा प्रयोगका लागि प्रतिएमबी शुल्क १ रुपैयाँमा झर्दछ । त्यसैगरी यदि ग्राहकले एक हप्तामा ५० रुपैयाँभन्दा बढी खर्च गर्नेबित्तिकै प्रतिएमबी मात्र ४० पैसामा मेन ब्यालेन्सबाटै डेटा सेवाको फाइदा लिन सक्छन् ।
साप्ताहिक चक्रमा हरेका हप्ता आइतबारदेखि शनिबारसम्ममा ग्राहकले पे एज यु गो डेटाअन्तर्गत गरेको खर्चको आधारमा यो योजना सञ्चालन हुन्छ । जस्तै कुनै ग्राहकले आइतबारदेखि बुधबारसम्ममा पे एज यु गो डेटा सेवामा २३ रुपैयाँ खर्च गरेमा ग्राहकको मेन ब्यालेन्सबाट २० रुपैयाँभन्दा बढी खर्च हुनेबित्तिकै पे एज यु गो शुल्क त्यही हप्ताको शनिबार मध्यरातसम्मका लागि १ रुपैयाँप्रति एमबीमा झर्नेछ । त्यस्तै सोही ग्राहकको खर्च उक्त हप्ता ५० रुपैयाँभन्दा बढी हुनेबित्तिकै ग्राहकले त्यस हप्ताको शनिबार मध्यरातसम्मका लागि मात्र ४० पैसा प्रतिएमबीमा डेटा सेवाको फाइदा लिनसक्छ ।
आफ्ना ग्राहकका लागि मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्ने यो आकर्षक सेवा ल्याउन पाएकोमा एनसेल निकै हर्षित रहेकोे कम्पनीले जनाएको छ । सुलभ दरमा डेटा प्रयोग गर्न डेटा प्याकहरु सबैभन्दा राम्रो विकल्प भए पनि यस योजनाले कुनै डेटा प्याक सुचारु नगरी पे एज यु गोमा डेटा चलाउने ग्राहकलाई ठूलो फाइदा पु-याउने विश्वास एनसेलले लिएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट/वित्त
तपाईको कमेन्ट लेख्नुहोस्