Techie IT
बिहीबार, मंसीर १८,२०७७

नबिल बैंकले सात दशमलव ७५ प्रतिशत ब्याजमा सेयर कर्जा दिने


काठमाडौं ।
नबिल बैंकले सात दशमलव ७५ प्रतिशत सेयर कर्जा दिने भएको छ । बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत सेयरहरू धितो राखेर सस्तो ब्याजदरमा सेयर धितो कर्जा दिन लागेको हो । बैंकले ५० लाख रुपैयाँ वा सोभन्दा बढीको नबिल सेयर कर्जा वार्षिक सात दशमलव ७५ प्रतिशत ब्याजमा दिनेछ । यो कर्जा बैंकका सम्पूर्ण शाखाहरूबाट प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।

बैंकले हाल सबै क्षेत्रमा गरी एक सय १९ वटा शाखा तथा एक सय ८५ वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा तीन अर्ब ५६ करोड ६६ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा चार अर्ब २३ करोड ८८ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १० अर्ब नौ करोड ७४ लाख ९७ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा एक खर्ब ९० अर्ब ८० करोड ६४ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब २३ करोड १३ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात अर्ब दुई करोड दुई लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा तीन दशमलव ७३ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने तीन अर्ब ७३ करोड ५३ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले एक खर्ब ६२ अर्ब ९५ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २७ अर्ब ५० करोड दुई लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात अर्ब १५ करोड ९२ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ४३ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्