Techie IT
१४ असोज २०७९, शुक्रबार

नबिल बैंकको ‘ग्रिन पिन’ सेवा


काठमाडौं ।
नबिल बैंकले ‘नबिल ग्रिन पिन सेवा’ सुरु गरेको छ । बैंकले आफ्ना डेबिट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरूलाई सहज र सुरक्षितरूपमा बैंकको कुनै पनि एटीएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुविधा प्रधान गर्न उक्त सेवाको सुरु गरेको हो ।

यो सेवामार्फत आफ्ना नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पुराना ग्राहकलाई बिर्सिएको पिन स्वयमले रिसेट गर्ने सुविधा प्रधान गरेको छ । ‘अब हाम्रा ग्राहक महानुभावहरूले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नुपरेमा वा पिन बिर्सिए बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिइरहनु पर्दैन । अब ग्राहक महानुभावहरूले नजिकैको नबिल बैंकको एटीएमबाट सहजै आफैँले पिन रिसेट गर्न सक्नुहुनेछ ।’, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले भने ।

बैंंकका अनुसार ग्रिन पिनमार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहकले नजिकैको नबिल बैंकको एटीएममा गई कार्ड मसिनमा राखेर जेनरेट ओटीपी फर पिन मेनु छान्नु पर्नेछ । त्यसपछि ग्राहकले बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको ओटीपी प्राप्त हुनेछ । त्यसपछि ग्राहकले ‘इन्टर ओटीपी टु चेञ्ज योर पिन’ मेनु छनोट गरी प्राप्त भएको ओटीपी राखेर पिन सेट अथवा रिसेट गर्न सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले ग्रिन पिन सेवामार्फत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउँदै वातावरणमैत्री सेवाको सुभारम्भ गरेको बताएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहकलाई सुरक्षित र सहज सेवा प्राप्त हुने अपेक्षा लिएको जानकारी पनि बैंकले लिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्