Techie IT
७ जेठ २०७९, शनिबार

‘हुवावे डिजिटल नेपाल कन्क्लेभ’ असार पहिलो साता


काठमाडौं । आईसीटी फाउन्डेसन नेपालको आयोजनामा असार पहिलो साता दुईदिने ‘हुवावे डिजिटल नेपाल कन्क्लेभ २०२२ इन एसोसिएसन विथ इन्फोडेभलपर्स’ आयोजना हुने भएको छ । असार ४ र ५ गते द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा ‘हुवावे’ कार्यक्रमको शीर्ष प्रायोजक र नेपालको सफ्टवेयर क्षेत्रको कम्पनी ‘इन्फोडेभलपर्स’ इन एसोसिएसनका रुपमा रहेका छन् । कन्क्लेभमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट ६० बढी वक्ता र सात सय बढी विशिष्ट व्यक्ति तथा विज्ञहरुको सहभागिता रहनेछ ।

डिजिटल रुपान्तरणको लागि डिजिटल नेपाल कन्क्लेभको नारासहित आयोजना हुने यस कार्यक्रममा विभिन्न १५ भन्दा बढी महत्वपूर्ण सेसनहरु रहेका छन् । कार्यक्रममा डिजिटल नेपालको एजेन्डा र अवधारणाहरुमा बृहत् छलफल हुनेछ । नेपाल सरकारले रुपान्तरणकारी परियोजनाको रुपमा अघि बढाएको डिजिटल नेपाल फ्रेमवर्कलाई कसरी प्रभावकारी ढंगले कार्यान्वयनमा लान सकिन्छ भन्ने सन्दर्भमा कन्क्लेभ केन्द्रित रहने आयोजक आईसीटी फाउन्डेसनले जनाएको छ ।

यस कार्यक्रममा डिजिटल नेपालको अभियान, डिजिटल रुपान्तरणको प्रयास, नवीनतम प्रविधिहरु र यसका अभ्यासहरुसँग जोडेर सान्दर्भिक बहसहरु सञ्चालन गरिने आयोजक आईसीटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले बताए । कन्क्लेभमा युवाहरुको इन्नोभेटिभ आइडियाहरुलाई पनि स्थान दिइनेछ भने विद्यार्थीका डिजिटल नेपालसम्बन्धी क्रिएसनलाई पनि प्रस्तुतिको लागि समय प्रदान गरिने आयोजकले जनाएको छ । विभिन्न देशमा रहेर प्रविधिको क्षेत्रमा काम र अनुसन्धान गरिरहेका नेपालीहरुलाई पनि कार्यक्रममा समावेश गरिनेछ ।

सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण डिजिटल तथा निजी क्षेत्रमा महत्वपूर्ण डिजिटल नेपालको इकोसिस्टममा काम भइरहेको प्रोजेक्टहरुलाई पनि प्रदर्शनीमा राखिने आयोजकले जानकारी दिएको छ । डिजिटल नेपाल कन्क्लेभको प्रिमियरको रुपमा आयोजकले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम समेत आयोजना गरिरहेको छ । कोभिड १९ को कारण भएको पहिलो लकडाउनदेखि सुरु भएको ‘डिजिटल संवाद’ यस वर्ष तेस्रो संस्करणको रुपमा सातै प्रदेशमा ‘डिजिटल प्रदेश कार्यक्रम’को रुपमा आयोजना भएको हो । गण्डकी, लुम्बिनी, मधेश र प्रदेश १ मा आयोजना भइसकेको यस कार्यक्रम ज्येष्ठ पहिलो साता बाँकी तीन प्रदेशमा आयोजना हुनेछ ।

यस कार्यक्रमबाट प्राप्त रिपोर्ट तथा प्रदेशको डिजिटल अवस्था र योजनाबारे पनि कन्क्लेभमा छलफल हुनेछ । यस कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समर्थन र नेपाल दूरसञ्चार प्राधिकरणलगायतका महत्वपूर्ण संस्थाहरुको सहयोग तथा सहकार्य रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्