Techie IT
७ जेठ २०७९, शनिबार

टेलिकमको नाफा घट्यो


काठमाडौं । नेपाल टेलिकमको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को तृतीय त्रैमासिकको वित्तीय विवरणअनुसार टेलिकमको नाफामा ४४ करोड ९१ लाख २५ हजार रुपैयाँले कमी आएको हो ।

कम्पनीले गत आवको तृतीय त्रैमासिक अवधि (२०७७ चैत मसान्त) सम्म पाँच अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । तर चालू आवको सोही अवधिमा टेलिकमले पाँच अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । कोभिड–१९ को महामारी तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङलगायत अन्तराबद्धता सेवाको प्रयोगमा कमी, अन्तराबद्धता शुल्कसम्बन्धी निर्देशिकाअनुसार डोमेस्टिक अन्तराबद्धता शुल्कमा कमी भएको, सेवा व्यापक रुपमा विस्तार गरिएकोले मर्मतसम्भार खर्चमा भएको वृद्धि, स्थिर सम्पत्तिको ह्रासकट्टी रकममा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीले कोभिड–१९ को महामारीलाई लक्षित गरी कम्पनीबाट धेरै कम दरका डाटा प्याकेजहरु सुरु गरिएको हुँदा जीएसएम सेवातर्फ डाटाको खपत बढे पनि राजस्वमा सोही अनुपातमा वृद्धि हुन नसकेको र कोभिड महामारीपश्चात् चिपसेटको अभाव तथा अन्तर्राष्ट्रिय ढुवानीमा कठिनाइ र बढ्दो शुल्कका कारण उपकरण तथा सामान आयातमा ढिलाइ भई अपेक्षित समयमा सेवा विस्तार गर्न नसकिएकोले पनि अपेक्षित नाफा कमाउन नसकेको कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीको कुल सञ्चालन आय भने वृद्धि भएको छ । गत आवको तृतीय त्रैमासिक अवधिसम्ममा कम्पनीको कुल सञ्चालन आय २७ अर्ब ४५ करोड १३ लाख ५३ हजार रहेकोमा चालू आवको सोही अवधिसम्ममा ७६ करोड ८२ लाख ५९ हजार (अर्थात् २.८ प्रतिशत) ले वृद्धि भई २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रुपैयाँ पुगेको छ । यसैगरी कम्पनीको कुल आयमा पनि सामान्य वृद्धि देखिएको छ । कम्पनीको गत आवको तृतीय त्रैमासिक अवधिसम्मको कुल आय ३१ अर्ब ६७ करोड ३७ लाख ७४ हजार रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिसम्ममा कुल आय ८६ करोड २९ लाख ५६ हजार रुपैयाँ (अर्थात् २.७२ प्रतिशत) ले वृद्धि भई ३२ अर्व ५३ करोड ६७ लाख २९ हजार रुपैयाँ रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्