Techie IT
८ असार २०७८, मंगलबार

अनलाइनबाटै सानिमा बैंकको क्रेडिट कार्डको लागि आवेदन दिन सकिने


काठमाडौं ।
अनलाइनबाटै सानिमा बैंकको क्रेडिट कार्डको लागि आवेदन दिन सकिने भएको छ । बैंकले आफ्ना ग्राहकहरूको सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाइनमार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको हो । ग्राहकहरूले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेबसाइटमा गई ‘क्रेडिट कार्ड आवेदन’मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रूपमा आवेदन दिन सक्नेछन् ।

फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएको बारे र कार्ड उपलब्ध गराइने समयसम्बन्धी जानकारी इमेल तथा फोनमार्फत गराइने बैंकले जानकारी दिएको छ । क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिकरूपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुन्छ । यो सुविधा यही असोज ६ गतेदेखि सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्तामा सामान खरिद गर्न सकिनेछ ।

बैंकले डिजिटल बैंकिङ प्रणालीलाई प्राथमिकता दिँदै समयानुकूल विभिन्न ग्राहकमैत्री सेवा तथा सुविधाहरू परिस्कृतरूपमा उपलब्ध गराउँदै आएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी ८२ शाखा कार्यालय १५ विस्तारित काउन्टर तथा ८१ एटीएमबाट ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । (आर्थिक दैनिकबाट)

 


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्