Techie IT
१९ असोज २०७९, बुधबार

राष्ट्रिय वाणिज्य बैंकको दुुई सय ४१औं शाखा सुर्खेतको वीरेन्द्रनगरमा


काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं.–६ स्थित शाखा कार्यालय वीरेन्द्रनगर सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको दुई सय ४१औं शाखा कार्यालयको आइतबार समुदघाट्न गरेका हुन् ।

उक्त अवसरमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रकाश ज्वालाले रा.वा.बैंक पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखीभन्दा पनि थप सेवामुखी हुनुपर्ने बताएका छन् । उनले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीवासीलाई थप बैंकिङ सेवा उपलब्ध गराएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरेका छन् ।

बैंकको कर्णाली प्रादेशिक प्रबन्धक रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालयका प्रमुख डा. शालीकराम पोख्रेलले शाखाको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा शाखा कार्यालय वीरेन्द्रनगरका प्रबन्धक जयप्रसाद बरालले स्वागत मन्तब्य व्यक्त गरेका छन् । बैंकको हाल सातै प्रदेशका ७७ जिल्लामा दुई सय ४१ वटा शाखा कार्यालय, दुुई सय पाँच वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्