Techie IT
१० असार २०७८, बिहीबार

मेगा बैंकद्वारा १८ लाख कित्ता सेयर बिक्री खुला


काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले १८ लाख कित्ता सेयरको बिक्री खुला गरेको छ । बैंकले बोलकवोलमार्फत सेयर बिक्री गर्न गोप्य सिलबन्दी आह्वान गरेको हो । बैंकका अनुसार संस्थापक समूहतर्फको ११ लाख ३३ हजार तीन सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहतर्फको सात लाख सात हजार तीन सय ९४ दशमलव ९३ कित्ता गरी १८ लाख ४० हजार सात सय ३९ दशमलव ६३ कित्ता सेयर गोप्य सिलबन्दी बोलपत्रबाट बिक्री गर्न लागिएको हो ।

सर्वसाधारणहरूले असोज १८ गतेभित्र आफूले खरिद गर्न चाहेको प्रतिकित्ता सेयर र दररेट खुलाई गोप्य सिलबन्दीमार्फत आवेदन दिन सक्नेछन् । त्यसका लागि न्यूनतम एक सय रुपैयाँ र त्यसभन्दा बढी कतिमा सेयर खरिद गर्न चाहेको हो स्पष्ट खुलाई बोलकबोल आवेदन दिनुपर्ने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार उपत्यकाभित्र मेगाको कमलादीस्थित मुख्य कार्यालय, नयाँ बानेश्वर चोक, ठमेल, न्यूरोड (पिपलबोट), ज्ञानेश्वर, चाबहिल, बौद्ध, कलंकी, गोंगबु, महाराजगञ्ज, मैतीदेवी, जावलाखेल, पुरानो ठिमी र सूर्यविनायक शाखाबाट सर्वसाधारणहरूले सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

यसैगरी, काठमाडौँं उपत्यकाबाहिर धनगढी, बिरेन्द्रनगर, नेपालगञ्ज, तुल्सीपुर, भैरहवा, बुटवल, अर्घाखाँची, तम्घास, तानसेन, नारायणगढ, पोखराको सभागृह चोक र चिप्लेढुंगा, हेटौंडा, वीरगञ्ज, सिन्धुली, जनकपुर, धरान, विराटनगर र विर्तामोड शाखाबाट सेयर खरिदका लागि आवेदन दिने व्यवस्था मिलाइएको छ । यसैगरी, अनलाइनबाट फारम लिई सेयर आवेदन गर्न इच्छुक आवेदनकर्ताहरूले मेगा बैंक वा मेगा क्यापिटल मार्केटस लिमिटेडबाट छाप प्रमाणित गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको जानकारी समेत बैैंकले दिएको छ ।

बैंकले २०७४ साल भदौ २७ गतेदेखि कात्तिक १४ गतेसम्म हदप्रद सेयरको बिक्री खुला गरी आवेदन माग गरेको थियो । तर, त्यतिबेला संस्थापक तथा सर्वसाधारण समूहतर्फका सेयरहरूका लागि आवश्यक आवेदन नपरेकाले ती सेयरहरू अहिले बोलकबोलमार्फत बिक्री गर्न लागिएको बैंकले जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्